त्रिवेणी कप फुटबल प्रतियोगिता पुस १२ देखि, पहिलो पुरस्कार राशि नगद आठ लाख पुग्यो

त्रिवेणी कप फुटबल प्रतियोगिता पुस १२ देखि, पहिलो पुरस्कार राशि नगद आठ लाख पुग्यो

अन्तरङ्ग न्युज

@antaranganews

२०८० मङ्सिर १२ गते मङ्गलबार ०८:०१

जिल्ला सदरमुकाममा पुस १२ गतेदेखि खेलाईने उक्त प्रतियोगिताको यो वर्ष ३१ औं संस्करण हुँदैछ । जसको पहिलो पुरस्कार गत वर्षको तुलनामा तीन लाख थप गरी आठ लाख पुर्याइएको छ ।

जिल्लाको खेलकुदले बामे सर्ने आशा पलायो

बेसीशहर– लमजुङ जिल्लाको सर्वाधिक पुरस्कार राशिको त्रिवेणी कप फुटबल प्रतियोगिताको तयारी थालिएको छ । जिल्ला सदरमुकाम स्थित त्रिवेणी युवा क्लबद्वारा हरेक वर्ष पुसको दोस्रो साता प्रारम्भ गर्ने उक्त प्रतियोगिताको तयारी थालिएको सो क्लबद्वारा पत्रकार सम्मेलनको आयोजना गरी मंसिर १२ गते जानकारी दिइएको हो ।
उक्त अवसरमा सो क्लबका संस्थापक कोषाध्यक्ष रही अध्यक्ष हुँदै प्रदेशको सांसद हुनुभएका भेषबहादुर पौडेलले यो प्रतियोगिताले जिल्लामात्र नभई प्रदेश र मुलुकभर जिल्लाको पहिचान दिन सफल भएको बताउनुभयो । उहाँले यस क्लब र प्रतियोगिताको जगेर्ना गर्नु पर्नेमा जोड दिदै यो भत्कियो भने यत्तिको बनाउन फेरि समय लाग्छ त्यसैले यसलाई थप बलियो बनाउन आवश्यक छ भन्नुभयो । उहाँले आफू यही क्लबको संस्थापक कोषाध्यक्ष, अध्यक्ष हुँदै हाल प्रदेशको सांसद बन्न सकेको स्मरण गर्दै खेल मैदान निर्माण लगायतका कार्यमा सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले यो प्रतियोगिता जिल्लाको इज्जतसँग जोडिएको छ भन्ने उल्लेख गर्नुभयो ।
उक्त कार्यक्रममा संयोगवस सहभागी हुन आउनु भएका गण्डकी प्रदेश खेलकुद परिषदका महासचिव श्रीधर शर्माले अबका दिनमा जिल्लाको खेलकुदले गति लिने बताउनु भयो । प्रदेशका सबै जिल्लाका लागि वार्षिक पाँच लाख रुपैयाँ विनियोजन गरी पहिलो किस्ता पठाइसकेको जानकारी दिनुभयो । उहाँले अबका दिनमा खेलकुदका गतिविधि विस्तार गर्न सक्दो सहयोग गर्ने र प्रस्तावित कार्यक्रमका लागि समेत सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले अबका दिनमा कार्यालय नियमित खोल्नका लागि एक कम्प्युटर अप्रेटर सहितको कर्मचारीको प्रवन्ध गरिने भएको उल्लेख गर्नुभयो ।
सो अवसरमा आयोजक त्रिवेणी यूवा क्लवका अध्यक्ष राजकुमार घिमिरेले स्थापनाकालीन इतिहास सहित आजको दिनसम्म क्लबले निर्वाह गरेको भूमिकाको बारेमा जानकारी दिनुहुँदै पुरस्कार राशि थप गरेको बताउनुभयो ।

उहाँले विगतका वर्षहरूमा पहिलो पुरस्कार राशि पाँच लाख रहेकोमा यो वर्षबाट तीन लाख थप गरी आठ लाख रुपैयाँ नगद, त्रिवेणी कप, स्वर्ण पदक र प्रमाण–पत्र, दोस्रो पुरस्कार नगद चार लाख, रजत पदक र प्रमाण–पत्र तथा सेमीफाइनलका उपविजेता दुवै टिमलाई नगद १÷१ लाख रुपैयाँ प्रदान गरिने भएको छ भन्नुभयो ।
त्यस्तै, प्रतियोगितामा सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई नगद २० हजार, स्वर्ण पदक र प्रमाण–पत्र क्वाटर फाइनलदेखि प्रत्येक खेलमा म्यान अफ द म्याच प्रदान गरिने भएको अध्यक्ष घिमिरेको भनाइ छ । उहाँले आउँदो पुस १२ गते प्रतियोगिताको उदघाटन हुने जानकारी दिनुभयो ।
अध्यक्ष घिमिरेले क्लबका संस्थापक सदस्यहरूको खेल प्रतिको रुचि र दक्षताका कारण क्लबले श्रीजित गरेको फुटबल प्रतियोगिता आज त्रिवेणी कप एक राष्ट्रव्यापी फुटबल प्रतियोगितामा स्थापना भएको छ । अब यसको ‘३१ औं संस्करणमा, राष्ट्रव्यापी फुटबल प्रतियोगिता’ नेपालभरका फुटबल प्रेमीहरूका लागि एक प्रमुख कार्यक्रम बनेको छ विज्ञप्तिमार्फत उल्लेख गर्नुभयो ।
प्रतियोगिताको उद्देश्यमा प्रकाश पार्नु हुँदै घिमिरेले जिल्लामा फुटबल खेलको विकास र प्रवर्द्धन गरी व्यवसायीकरण गर्ने र उच्च स्तरीय फुटवल प्रतियोगिता सञ्चालन गर्ने, ओझेलमा परेका प्रतिभाशाली खेलाडीहरूको प्रतिभा उजागर गर्ने र राष्ट्रियस्तरमा उकास्न, जिल्लाका खेलाडीहरूलाई राष्ट्रिय खेलाडीहरूसंग खेल खेल्ने वातावरण सृजना गरि अनुभव बटुल्ने अवसर प्रदान गर्ने, जिल्लाको व्यपार व्यावसय प्रवर्द्धनमा सहयोग गर्ने, स्वच्छ मनोरञ्जन दिने र खेल पर्यटनको विकास एवं प्रवर्द्धन गर्ने, यूवाहरूमा अनुशासन र स्वच्छ प्रतिस्पर्धाको भावना विकास गर्ने आदि रहेको उल्लेख गर्नुभयो ।
यसैगरी, अपेक्षित उपलब्धीमा जिल्लामा राष्ट्रियस्तरको फुटवल प्रतियोगीता सञ्चालन हुने र व्यवसायिक फुटबलको विकासमा टेवा पुग्नेछ । ओझेलमा परेका प्रतिभाशाली खेलाडीहरूको प्रतिभा उजागर गर्न र राष्ट्रिय÷अन्तराष्ट्रियस्तरमा खेल्ने अवसर पाउन सहयोग पुग्ने भनिएको छ ।
जिल्लाका खेलाडीहरुलाई राष्ट्रिय खेलाडीहरूसंग खेल खेल्ने वातावरण सृजना गरी स्थानीय खेलाडीलाई आफ्नो खेल कौशल वृद्धि गर्न उर्जा प्रदान गर्नेछ ।
यसैगरी, विविध जात जातीको खाना, भेष भुषा र संस्कृतीको प्रदर्शन हुने भनिएको छ । पुस १५ गतेका दिन त्रिवेणी साँझको कार्यक्रम राखिएको, सो कार्यक्रम पुरानो बैंक चोकदेखि मनाङ्गेचौतारासम्म हुने आयोजकको भनाइ छ ।
उक्त ३१औं त्रिवेणी कपको अनुमानित खर्च ४७ लाख १० हजार लाग्ने छ भने त्रिवेणी साँझका लागि १० लाख ७५ हजार गरी कुल ५७ लाख ८५ हजार खर्च हुने जानकारी सो क्लबका सचिव प्रवीण वाग्लेले दिनु भएको छ । सो कार्यक्रमको उहाँले नै सञ्चालन गर्नु भएको थियो ।

प्रकाशित मिति २०८० मंसिर १२, मंगलवार २०:०१ गते
हजुरको प्रतिक्रिया