बेसीशहर– लमजुङ अस्पतालमा मस्र्याङ्दी गाउँपालिका– ९, पामचोककी २६ वर्षीया युवती शोभा विकको सुत्केरी हुने क्रममा उपचार गर्दै गर्दा उनी आफै र उनको शिशुको मृत्यु प्रकरणका बारेमा तीन बुँदे सहमति गरिएको छ । प्रजिअ रामकृष्ण अधिकारीको कार्यकक्षमा भएको सर्वपक्षीय वार्तापछि तीन बुँदे सहमति गरी एकसाता भित्र कानुनी प्रक्रियामा प्रवेश गर्ने सहमति मंसिर १३ गते भएको हो ।
सो सहमति अनुसार पहिलो बुँदामा मृतक युवतीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गरिएको छ । दोस्रोमा, गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयको नेतृत्वमा उच्चस्तरीय अनुसन्धान(छानविन) समिति गठन गर्ने र त्यसमा पीडित पक्षको समेत प्रतिनिधि रहने, तेस्रो सो समितिले एक साताभित्र प्रतिवेदन तयार गर्ने र प्रतिवेदनबाट दोषि देखिएमा कानुन बमोजिम दोषि पक्षलाई कारवाही गरिने सहमति भएको उल्लेख छ ।
जिल्ला प्रशासन कार्यालयमा भएको उक्त वार्तामा मर्स्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ, सोही गाउँपालिका– ९ का अध्यक्ष हरिश्चन्द्र थापा लगायतका जनप्रतिनिधिहरूकोका साथ अस्पतालको व्यवस्थापन पक्षका साथै मृतकका प्रतिनिधिहरूको सहभागिता रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
लमजुङ अस्पताल स्रोतका अनुसार सो घट्ना विवरण :
यसैबीच, लमजुङ अस्पतालले ती युवतीको मृत्यु प्रकरणका बारेको घट्ना विवरण अन्तरङ्ग न्यूज डटकमलाई उपलब्ध गराएको छ । जस अनुसार मृतक युवतीको सुत्केरी हुने मिति मंसिर ११ गते थियो । तर उनलाई बेथा लागेको थिएन । तर पनि भर्ना गरेर सुत्केरी गराउने प्रयास भयो । त्यसका लागि औषधि खुवाउने काम हुन थाल्यो । पठेघरको नवौं ढोका खुल्दै गर्दा अचानक पठेघर फुट्यो, पहिलो पटक सुत्केरी हुने युवतीहरूको पाठेघर प्रायः बाहिरै(२, ३ घर खुल्दै गर्दा) फुट्छ, यसरी भित्र फुट्दैन भन्ने अस्पताल स्रोतको भनाइ छ ।
पाठेघर फुटेसँगै बच्चा बाहिर निस्क्यो तर त्यस्तो अवस्थामा बच्चा बाच्दैन । र तत्कालै शल्यक्रिया गर्नु पर्ने अवस्था सिर्जियो । त्यो घट्ना १२ गते १२ः१० को समयमा भएको हो, लमजुङ अस्पतालकी प्रसुतिविज्ञ सर्जन डा. गोमा रिमालले जानकारी दिनुभयो ।
उहाँका अनुसार शल्याक्रिया गरियो, अप्रेशन कक्षबाट बिरामीलाई निकालियो, त्यो समयमा दिउँसोको करिब सवा एक बजेको थियो । विरामी शोभाको रगत धेरै बगेको थियो, प्रेसर पनि कम देखिएको थियो ।
त्यसपछि, हेलिकप्टरबाट थप उपचारका लागि बाहिर पठाउने कि ? भन्ने सल्लाह भयो । त्यसका लागि प्रयास थालियो तर सरकारी हेलिकप्टर चार बजेपछि र नेपाली सेनाको पाँच बजेपछि नउड्ने भन्ने खबर आयो, त्यसपछि समस्या भयो । त्यो स्थिति पछि सिएमसी भरतपुरका लागि रिफर गरियो । हिजो साँझ करिब ८ बजे भरतपुर पुर्याएर डाक्टरको प्रत्यक्ष निगरानीमा उपचार थालिएको हो ।
तर दुर्भाग्य ! १३ गते विहान २ः३५ बजे शोभाको निधन भएको घोषणा सिएमसी भरतपुरअस्पतालले गरेको लमजुङ अस्पताल प्रशासनले जनाएको छ । प्रशासनका अनुसार हामीले सक्दो प्रयास गरेका हौं । यसमा हाम्रो कमजोरी छ भन्ने लाग्दैन तर पनि प्रदेशस्तरको अनुसन्धान टोलीले दोषि ठहर गर्यो भने हामी कानुन अनुसारको सजाय भोग्न तयार छौं ।
प्रकाशित मिति २०८० मंसिर १३, बुधबार १९:०० गते