दुराडाँडा– लमजुङको ऐतिहासिक थलो दुराडाँडा पुरानाडिही स्थित गाउँफर्क प्राथमिक विद्यालय साही वडाका अध्यक्षको अल्पबुद्धि र गैरराजनीति दाउपेचको फोहरी क्रिडास्थलका कारण अस्तव्यस्त बन्न्न पुगेकोछ । सो वडाका अध्यक्ष कृष्णप्रसाद अधिकारीले पूर्वाग्रही दृष्टि र व्यवहारका कारणले सो विद्यालयले दुर्गति बेहोर गर्नु परेको हो ।
सुन्दरबजार नगरपालिका– ४ दुराडाँडाको पुरानाडिहीमा रहेको सो प्राविमा कार्यरत स्थायी शिक्षकको सरुवा गरि नगरपालिकाले अर्को शिक्षक पठाउन नसकेपछि पठनपाठनमा असर परेको छ ।
सो विद्यालयमा कार्यरत प्राथमिक तह तृतीय श्रेणीका शिक्षक गत भदौ महिनामा नगरपालिकाको सामाजिक विकास शाखामा सरुवा गरियो । स्थायी शिक्षकको सरुवा पश्चात विद्यालयमा पालिकाले एक शिक्षकलाई काजमा सो विद्यालयमा पठाएको विद्यालयमा प्रधानाध्यापक सनत घिमिरेले बताउनुभयो । उहाँका अनुसार गत मंसिर १० गतेदेखि काजमा आउनुभएका शिक्षक ‘मेरो काज फिर्ता भयो’ भन्दै विद्यालय हाजिर हुन आउन छाड्नु भयो तर उहाँको काज फिर्ता भएको बारेमा विद्यालयलाई आजसम्म कुनै पनि जानकारी प्राप्त भएको छैन ।
शिक्षक फिर्ता भएको एक हप्तासम्म पनि काज फिर्ताको कुनै जानकारी नआउनु र शिक्षकलाई अन्यत्रै हाजिर गराउनु पालिकाको कमजोरी र राजनैतिक पुर्वाग्रह भएको विद्यालय व्यस्थापन समितिका अध्यक्ष कृष्णविलास न्यौपाने बताउनु हुन्छ । विद्यालयका अभिभावक तथा समितिका प्रतिनिधिहरूले पालिकाका मेयर कृष्णप्रसाद कोइराला र सामाजिक विकास शाखा प्रमुख ठाकुृरजी तिवारीसंग सम्पर्क गर्दा सर्वोदय मा.वि.मा कार्यरत एक शिक्षिकालाई गाउँफर्क प्राविमा पठाउने भनियो तर ती शिक्षिकाको नवलपुर सरुवा भइसकेको जानकारी प्राप्त भएको समितिका अध्यक्ष न्यौपाने बताउनुहुन्छ ।
त्यसो त सो विद्यालयमा यस्तो स्थिति उत्पन्न हुनुमा काँग्रेसको गुटगत राजनीति पनि उत्तिकै कारक बनेको छ । काँग्रेसकोे किल्लाका रुपमा परिचित सो वडामा काँग्रेसकै उम्मेदवार पराजित(पहिलो पटक) हुनु काँग्रेसमा मौलाउँदो गुटगट राजनीतिको पराकाष्टा हो भन्ने आम बुझाइ छ ।
विद्यालयमा पालिका भित्र रहेका अन्य आधारभूत विद्यालयमा भन्दा धेरै विद्यार्थी रहेको सो विद्यालयको बालविकास शिक्षिका सावित्रा न्यौपानेले बताउनु हुन्छ । उहाँका अनुसार ईमिसमा ३४ जना विद्यार्थीको विवरण रहेता पनि दैनिक विद्यालयमा हाजिर भएर २५– २६ जना विद्यार्थी अध्यनरत रहन्छन । बालविकास कक्षाकासाथ कक्षा– १ देखि ५ सम्मको कक्षा सञ्चालन भइरहेको विद्यालयमा हाल स्थायी १ जना, राहत १ जना, बालविकास १ जना र निजी १ जना गरी ४ जना शिक्षक कार्यरत छौं उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘६ वटा कक्षा सञ्चालन भइरहेको विद्यालयमा ४ जना मात्र शिक्षक हुँदा पठनपाठनमा समस्या भएको छ । विद्यालय सहयोगी र स्थानीय विद्यालय प्रेमीहरूसंग हारगुहार गरी ६ वटै कक्षा सञ्चालन गरिरहेका छौं ।’
सो विद्यालय दुराडाँडा क्षेत्रका १२ सदन प्राविहरूले समेट्न नसकेको क्षेत्र दुराडाँडाको कक्षारथोक पुरानाडिही पाँचघरे पोखरीटाउकाका तत्कालीन शिक्षा प्रेमिहरूले धान कोदो चन्दा स्वरुप उठाएर शिक्षकको तलब दिने गरि वि.सं. २०२४ सालमा स्थापना भएको विद्यालय हो । २०६० को दशकमा विकास क्षेत्रकै उत्कृष्ट विद्यालयको रुपमा स्थापित हुन सफल सो विद्यालय पछिल्लो समय राजनैतिक पुर्वाग्रहका कारणले यो अवस्थामा आएको सजिलै बुझ्न सकिने शिक्षक अभिभावक संघका अध्यक्ष शुकदेव अधिकारी बताउनुहुन्छ । उहाँका अनुसार तत्कालीन प्र.अ. मधुविलास कोपिलाको अनिवार्य अवकास लिएपछि सो ठाँउमा दरबन्दी नै काटिएको कारण यो स्थिति पैदा भएको हो ।
गाउँफर्क प्रावि यो अवस्थामा कसरी सिर्जियो ?
गत स्थानीय निर्वाचनका दुई प्रमुख दलका प्रतिस्पर्धी उम्मेदवारको आपसी द्वन्द्व र इगोका कारण यो विद्यालय यस्तो दुरावस्थामा पुगेको सजिलै बुझ्न सकिने स्थानीयको भनाइ छ । नेपाली काँग्रेसकातर्फका वडाध्यक्षका उम्मेदवार रहेका वडा सभापति कृष्णविलास न्यौपाने र नेकपा एमालेबाट वडाध्यक्षमा विजयी भएका कृष्णप्रसाद अधिकारी बिच चुनावी द्वन्द्व अझ सेलाएको छैन । न्यौपाने सो समयमा पनि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नै हुनुहुन्थ्यो । चुनावी प्रतिस्पर्धामा न्यौपानेको हारसँगै विद्यालयको उधोगति शुरु हुन थाल्यो सरोकारवालाहरू बताउँछन् । वडाध्यक्षमा विजयी भएपछि अधिकारीले डेढ वर्ष बढी अवधि बितिसक्दा उनले हालसम्म ३ पटक मात्र सो विद्यालयमा उपस्थित भएको बताइन्छ । वडाध्यक्षकै सिको अन्य जनप्रतिनिधिले गरेको स्थानीयको गुनासो छ ।
उनीहरूका अनुसार जनप्रतिनिधिको घरबाट नजिकको र उहाँको परिवारले समेत चन्दा दान गरी स्थापना गरिएको विद्यालयमा वडाध्यक्ष समितिका अध्यक्षसंगको द्वन्द्वताले विद्यालय नफर्कनु नै प्रमुख कारण हो । वडाध्यक्षकै पहलमा सो विद्यालय क्षेत्रका केही विद्यार्थी पनि अन्यत्र विद्यालय पठाएको स्थानीयको गुनासो छ ।
जनप्रतिनिधि सकरात्मक भए विद्यार्थी संख्या ४५ भन्दा बढी हुने विद्यालयको दावी :
विद्यालय क्षेत्र भित्र रहेका केही स्थायी शिक्षकहरूलेनै आफ्ना केटाकेटी बोडिङ पठाईरहेका छन् । जनप्रतिनिधि सकरात्मक भएमा ती विद्यार्थीलाई गाउँफर्क प्राविमै फर्काउन सकिने अभिभावक संघका अध्यक्ष शुकदेव अधिकारी बताउनु हुन्छ । उहाँका अनुसार अन्यत्र जस्तो बच्चाको कमी यो ठाउँमा छैन । जति घर यहाँबाट सरेर अन्यत्र गएका थिए उनीहरूको गाउँमा पुनः आगमन भइसकेकको छ ।
विद्यालयमा पढाउने र पठाउने कुरामा कुनै कमी छैन तर जनप्रतिनिधि सकरात्मक हुनुपर्ने विद्यालयका प्र.अ. घिमिरे बताउनु हुन्छ । उहाँले भन्नुभयो, ‘जनप्रतिनिधिहरू सकरात्मक भएमा विद्यालयमा १० देखि १५ जना विद्यार्थी अझै थपिक्ने स्थिति छ ।’
प्रकाशित मिति २०८० मंसिर १४, बिहीबार २२:४८ गते