लमजुङ अस्पतालको ओपिडि सेवा बन्द, डाक्टरहरू सामुहिक राजीनामा दिने मुडमा

लमजुङ अस्पतालको ओपिडि सेवा बन्द, डाक्टरहरू सामुहिक राजीनामा दिने मुडमा

अन्तरङ्ग न्युज

@antaranganews

२०८० मङ्सिर १५ गते शुक्रबार ०९:५३

शोभाका आफन्तजनले ९ बज्दा नबज्दै सिएमसीले लमजुङ अस्पतालको कमजोरी औल्याउँदै ढिला भएकाले उनलाई बचाउन नसकिएको दुःखद खबर सुनाएको पीडित परिवारको दावी छ तर उनको मृत्यु पत्रमा मृत समय १३ गते विहान २ः५७ बजे उल्लेख भएको लमजुङ अस्पताल स्रोतले बताएको छ ।

२६ वर्षीया सुत्केरी र शिशु मृत्यु प्रकरण बारेमा छानबिन समितिले आजबाट काम थाल्ने

बेसीशहर– सुरक्षा थ्रेट बढेपछि लमजुङ अस्पतालको ओपिडि सेवा बन्द आज बन्द भएको छ । डाक्टरहरू सामुहिक राजीनामा दिने मुडमा रहेको मंसिर १५ गते विहान खुल्न आएको छ । विहान ८ बजे खुल्ने अस्पतालको ओपिडि सेवा ९ बजेसम्म पनि नखुले पछि डाक्टरहरू हड्तालमा उत्रिएको खुल्न आएको हो ।
हिजो साँझ डा. गोमा रिमालको निवासमा दुई जना व्यक्तिहरू हातपात गर्ने शैलीमा पुगेपछि डाक्टरहरूको टोलीले आफूहरू उपर सुरक्षा थ्रेट बढेको अनुभव गरेको बताएका छन् । त्यही कारण सांकेतिक रुपमा आज ओपिडी सेवा बन्द गरिएको उनीहरूको भनाइ छ ।
लमजुङको मस्र्याङ्दी गाउँपालिका– ९, पामचोककी २६ बर्षीया शोभा विक र उनको शिशुको मृत्यु प्रकरणले यस्तो रुप लिएको हो । सो मृत्यु प्रकरणमा गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयको नेतृत्वमा उच्चस्तरीय छानविन समिति बनाएको छ । मंसिर १३ गते साँझ गठन भएको समितिले आज १५ गतेदेखि काम थाल्ने भएको छ ।
सो घट्नाबारे छानविन गर्न छानविन तथा अध्ययन समिति गठन गरिएको छ । पोखराबाट सो टोली आउने भनिए पनि नआएको भन्दै आक्रोशित बनेका मृतकका आफन्त तथा स्थानीयले प्रदर्शन गर्दै अस्पतालमा तोडफोडको काम गरेका हुन् ।
यसबारेमा प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले घटनाबारे छानविन गर्ने, अध्ययन गर्ने र एक साताभित्र अध्ययनको प्रतिवेदन बुझाउने र सोही अनुरुप कानुनी प्रक्रियामा अघि बढ्ने सहमति भएकोमा सहमतिलाई भङ्ग गर्न नहुने बताउनु भएको छ ।
उत्तेजित भिडले अस्पतालको मुख्य गेटमा रहेको डिजिटल बोर्ड, अस्पतालको झ्यालका सिसा र बत्तीहरू फुटाएको, टायर बालेर आगो सहित अस्पताल हाताभित्र फ्याँकिएको अस्पतालले जनाएको छ । प्रदर्शनकारीले सुरक्षाकर्मी माथि पनि ढुंगा प्रहार गरेका थिए ।
शोभालाई मंसिर ११ गते डाक्टरले सुत्केरी हुनका लागि दिएको मिति अनुसार अस्पताल भर्ना गरियो । भोलिपल्ट दिउँसो उनको शल्यक्रिया गर्दा गर्भबाट मृत शिशु जन्मियो । शल्यक्रियाका क्रममा आमाको अवस्था पनि अधिक रक्तस्रावका कारण कमजोर बन्दै गएको थियो ।
त्यसपछि हेलिकोप्टरबाट सुत्केरीको थप उपचारका लागि पठाउने प्रयास भएको तर दिन घर्केकोले हेलिकोप्टर आउन नसकेनको अस्पताल प्रशासनले बताएको छ ।
त्यसपछि अस्पतालले लगभग ५ बजेतिर मात्रै सिएमसी चितवनमा रिफर गरेको थियो ।
विरामीलाई साँझ ८ बजे पुर्याइएको भए पनि ९ बज्दा नबज्दै सिएमसीले लमजुङ अस्पतालको कमजोरी औल्याउँदै ढिला भएकाले बचाउन नसकिएको दुःखद खबर सुनाएको पीडित परिवारको दावी छ ।
तर थप उपचारका लागि उनलाई चितवन रिफर गरिएकी शोभाको १३ गते विहान करिब ३ बजे चितवन अस्पतालले मृत घोषणा गरेको बताइन्छ । शोभाको मृत्यु पत्रमा मृत समय १३ गते विहान २ः५७ बजे उल्लेख भएको लमजुङ अस्पताल स्रोतले बताएको छ ।
ती सबै कागजात छानविन समितिलाई बुझाउने भनेर प्रशासनले शील गरी लगेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष हरिजङ्ग तामाङले बताउनु भयो । उहाँका अनुसार घट्नालाई अतिरञ्जित गरी हाम्रो गरी अस्पतालबाट भएको सद्प्रयासलाई बिर्सने काम भएको छ । उहाँले थप भन्नुभयो, ‘म कार्यकक्षमै छु तर भाग्यो भन्ने अफवाह फैलाइएको छ ।’ जोखिमपूर्ण अवस्थामा छ, यस्तोमा डाक्टरको टिमलाई काम गर्नै पर्छ भन्ने सक्ने अवस्थामा समिति पनि छैन उहाँले भन्नुभयो । उहाँका अनुसार इमर्जेन्सी र भर्ना भएका बिरामीको उपचार भने भइरहेको छ र हुन्छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्काको संयोजकत्वमा छ सदस्यीय छानबिन तथा अध्ययन समिति गठन भएको छ । उक्त समितिमा बेनी अस्पताल म्याग्दीका कन्सल्टेन्ट अव्ट्रेटिक्स एण्ड गाइनोकोलोजिष्ट डा. अन्जु थापा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ कन्सल्टेन्ट पेडियाट्रिसियन डा. रामचन्द्र बास्तोला, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका चिकित्सा सेवा महाशाखा प्रमुख डा. रमेशकुमार केसी, मस्र्याङ्दी गाउँपालिका–२ का कृष्णबहादुर विक छन् । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका प्रशासन महाशाखा प्रमुख चण्डिका पौडेललाई सदस्य सचिव रहनु भएको छ ।
सो समितिले आजबाट काम थाल्ने भएको छ ।

प्रकाशित मिति २०८० मंसिर १५, शुक्रबार ०९:५३ गते
हजुरको प्रतिक्रिया