कालिका सहकारीका सञ्चालकहरू विरुद्धको ठगी मुद्दामा अनुसन्धानका लागि पुनः सात दिनको म्याद थप

कालिका सहकारीका सञ्चालकहरू विरुद्धको ठगी मुद्दामा अनुसन्धानका लागि पुनः सात दिनको म्याद थप

अन्तरङ्ग न्युज

@antaranganews

२०८० मङ्सिर १५ गते शुक्रबार ०४:३३

यस्ता मुद्दामा प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेका व्यक्तिलाई २५ दिनसम्म राख्न पाउने कानुनी व्यवस्था छ । यो मुद्दाको हकमा पनि यसरी पटक पटक म्याद थप गरी २५ दिन पुर्याउन सक्ने आंकलन गरिएको छ ।

सहकारीको साढे दश करोड मात्रै अपचलन गरेको आरोप

बेसीशहर– लमजुङ जिल्ला सदरमुकाममा केन्द्रीय कार्यालय रहेको कालिका बचत तथा ऋण सहकारी संस्था लि.(साकोस)का सञ्चालकहरू विरुद्धको ठगी धन्दाको मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका व्यक्तिहरूको अनुसन्धानका लागि सात दिनको म्याद थप भएको छ । कालिका सकोसमा ठगी धन्दा चलाएको अभियोगमा पक्राउ परेका सो सहकारीका अध्यक्ष शिवराम सिलवालसहित छ जना सञ्चालकको अनुसन्धानका लागि सात दिनको जिल्ला अदालतबाट मंसिर १५ गते दोस्रो पटक म्याद थप भएको हो ।
पक्राउ पर्नेहरूमा उक्त सहकारीको सञ्चालक समितिका अध्यक्ष शिवराम सिलवाल, उपाध्यक्ष श्रीकृष्ण लामिछने, सचिव कृष्ण केसी, कोषाध्यक्ष मिलन शर्मा दनाई लगायत छ जना रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुई वर्ष अघि प्रदेशस्तरको नमूना सहकारी बनाउने भन्दै तत्कालीन कालिका, कपुरेश्वर र सम्पदा नामका साकोसहरू एकीकरण गरी जिल्लाकै सबैभन्दा पुरानको कालिका साकोस नामाकरण गरिएको थियो । तर सो एकीकरण कार्यमा सञ्चालकहरूको बदनियतपूर्ण र ठगी गर्ने उद्देश्यले प्रेरित रहेको एकीकरणको चार महिना नबित्दै छताछुल्ल भएको हो ।
प्रहरीले मंसिर १० गते पक्राउ गरेका उनीहरूको पहिलो पटक पाँच दिनको म्याद थप भएको थियो । सोही अभियोग लागेका तत्कालीन कालिका साकोसका अध्यक्ष मृगेन्द्र घिमिरे र निजकी पत्नी वितिना घिमिरे जो एकीकरण पछि बनेको साकोसको लेखा सुपरीक्षण समितिको संयोजक छिन्– दुवै फरार रहेको प्रहरी भनाइ छ । उनीहरूलाई २५ दिनसम्म पर्खने प्रहरीको मानसिकता देखिएको छ । यस्ता मुद्दामा प्रहरीले अनुसन्धानका लागि पक्राउ गरिएका व्यक्तिहरूलाई २५ दिन हिरासतमा राख्न पाउने कानुनी व्यवस्था छ ।
सो सहकारीको ठगी प्रकरणबारेमा लामो समयदेखि उठाउँदै आएको आवाजले सार्थक रुप लिदै, अब आफूहरूले न्याय पाउने आशा जागृत भएको पीडितहरूले बताएका छन् । उनीहरूका अनुसार उक्त सहकारीमा शेयर सदस्यहरूले जम्मा गरेको शेयर रकम र बचत हिनामिना गरी ठगी गरेको बारेमा पीडितहरूले दुई वर्षअघिदेखि उठाउँदै आएको आवाजको बल्ल सुनुवाई हुने आधार तयार भएको रुपमा लिइएको छ । उनीहरू भन्छन्, ‘अब भने न्याय पाउने आशा जागृत भएको छ ।’
पीडितहरूका अनुसार ती साकोस एकीकरणमा सञ्चालकहरू बदनियत रहेको भन्ने सिद्ध हुने आधारहरूमा एकीकरण गर्नु अघिल्लो दिनसम्मको आम्दानी खर्च प्रष्ट हुनुपर्नेमा एक आर्थिक वर्ष अघिको लेखा परीक्षण प्रतिवेदनलाई आधार मान्नु, एकीकरण गर्दा कर्पुरेश्वर साकोसका नाउँमा रहेको खरिद गर्ने समयमै महंगोमा खरिद गरिएको हल्ला चलेको २६ लाख रुपैयाँको घडेरी एकीकरण गर्दा ५४ लाख कायम गरी अपचलन गरिएको, १६ प्रतिशतभन्दा बढी ऋणको व्याज लिन नपाईनेमा कसैसँग १७ त कसैसँग १८ प्रतिशत व्याज असुल्ने गरेको तर आफन्त र मन परेका मानिसलाई बिना धितो र शून्य प्रतिशत व्याजमा पनि ऋण लगानी गरेको, जगेडाकोषमा राख्नु पर्ने रकम समेत सञ्चालकहरूले आफ्नो निजी बैंक खातामा जम्मा गरेको, एकीकरण गर्दाका बखतमा नै लगानीमा रहेको भनिएको साढे १० करोड रुपैयाँको ८० प्रतिशत बढी ऋण (हाल शतप्रतिशत) खराब कर्जामा परिणत भएको, कोरोनाको अघिल्लो वर्षमा नक्कली प्रतिवेदन तयारी गरी सम्पदा साकोसले १५ प्रतिशतका दरले खुवाएको बोनस रकम ऐले शेयरवालाले तिर्नु पर्छ भन्ने सञ्चालकहरूले गोप्य सूचनामार्फत उर्दी जारी गरेको, सञ्चालकहरूका बीचमा जुँगाको लडाई चलाई शेयर सदस्य र बचतकर्ताहरूले सास्ती दिने गरेको, राजनीतिक पहुँचका आडमा सहकारीको पहिलो नियमनकारी निकायका रुपमा रहेको बेसीशहर नगरपालिकाले समेत सञ्चालकहरूलाई उन्मुक्ति दिएको भन्ने पीडितहरूको गुनासो रहँदै आएको छ । उनीहरू सञ्चालकहरूले साकोसको कार्यालय डेकोरेसन गर्दा खर्च भएकोभन्दा चार गुणा बढीको विल भरपाई सहकारीमा पेश गरी खर्च लेखी ठगी गरेको बताउने गरेका छन् ।
सो ठगीका बारेमा शेयर सदस्य तथा बचतकर्ताहरूलाई आफ्नो रकम फिर्ताका लागि उजुरी दिनका लागि जिल्ला प्रहरी कार्यालय, लमजुङले गत असोज २३ गते एक सूचना जारी गरी आज मंसिर १० गतेसम्मको म्याद दिएको थियो । पीडकहरूका विरुद्धमा उजुरीको चाङ रहेको प्रहरी स्रोतले जनाइएको छ ।
उक्त सहकारी संस्था लि.को बेसीशहरमा केन्द्रीय कार्यालय रहनुका साथै लमजुङकै मध्यनेपाल नगरपालिका– ७ को रामबजारमा, सुन्दरबजार नगरपालिका– ८ को भोटेओडार र दोर्दी गाउँपालिका– ४ को नौथर सेरामा तीन शाखा सञ्चालनमा रहेका थिए ।

प्रकाशित मिति २०८० मंसिर १५, शुक्रबार १६:३३ गते
हजुरको प्रतिक्रिया