लमजुङ– जिल्ला सदरमुकाम स्थित बेसीशहर नगरपालिकाले सञ्चालन गरेको नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा युनिभर्सल एकेडेमी बेसीशहर च्याम्पियन भएको छ । प्रतियोगिताको समापन मंसिर १७ गते भएको हो ।
जनविकास माध्यामिक विद्यालय बेसीशहरमा सो प्रतियोगिता चार दिन अघि सुरु भएको थियो । नगरस्तरीय रनिङ शिल्ड प्रतियोगितामा ७ स्वर्ण, ४ रजत र ३ कास्य पदकसहित युनिभर्सल च्याम्पियन बनेको आयोजकको भनाइ छ ।
जनकल्याण माध्यामिक विद्यालय उदिपुर ७ स्वर्ण, ४ रजत र १ कास्य पदकसहित द्धितीय भएको छ । जनविकास माध्यामिक विद्यालय बेसीशहर ७ स्वर्ण, ३ रजत र ६ कास्य पदकसहित तृतीय भएको जनविकास माध्यामिक विद्यालय बेसीशहरका खेल शिक्षक राजु राउतले बताउनु भयो । उहाँका अनुसार छात्र भलिवल प्रतियोगितातर्फ जनविकास मावि बेसीशहर पहिलो, जनकल्याण मावि चिती दोस्रो भए । छात्रा भलिबलतर्फ युनिभर्सल एकेडेमी पहिलो र भूपू सैनिक आवासीय मावि दोस्रो भएका थिए ।
राउतले भन्नुभयो, ‘कराँतेतर्फ युनिभर्सल एकेडेमी पहिलो, अर्थली प्याराडाइज स्कुल दोस्रो तथा जनविकास मावि तेस्रो भएका थिए ।’
रनिङ शिल्ड प्रतियोगितामा एथ्लेटिक्स तर्फ १ सय, २ सय, ४ सय, ८ सय, १५ सय र ३ हजार मिटर छात्रछात्रा दौड, १ सय गुणान ४ र ४ सय गुणान ४ छात्रछात्रा रिले दौड, सटफुट, लङजम्प, त्रिपलजम्प, हाइजम्प, ज्याबलिङ थ्रो, कराँते लगायतको खेलमा प्रतिस्पर्धा गराइएको थियो । प्रतियोगितामा बेसीशहर नगरपालिका भित्र रहेका २३ माध्यामिक विद्यालयका छात्रछात्रा सहभागी भएको खेल संयोजक एवम् जनविकास माध्यामिक विद्यालय बेसीशहरका प्रधानाध्यापक एकदेव घिमिरेले बताउनुभयो ।
उहाँका अनुसार प्रतियोगितामा पहिलो र दोस्रो हुने विद्यालय तथा विद्यार्थीहरूलाई आउँदो पुसको पहिलो साता क्व्होलासोथार गाउँपालिका– ३ को घलेगाउँमा सञ्चालन हुने जिल्लास्तरीय रनिङ शिल्ड प्रतियोगितामा भाग लिन पाउने भएका छन् ।
प्रकाशित मिति २०८० मंसिर १८, सोमबार ०६:११ गते