काठमाडौं– भारतमा हालै सम्पन्न पाँच राज्यको विधानसभा निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टी (बिजेपी)ले तीन राज्यमा प्रचण्ड बहुमत हासिल गरेको छ । उसले मध्य प्रदेश, राजस्थान र छत्तीसगढमा स्पष्ट बहुमतका साथ चुनाव जितेको घोषणा मंसिर १८ गते भएको हो ।
भारतको सत्तारूढ दल हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी (भाजपा)ले हिजो सम्पन्न मतदानबाट प्राप्त परिणामअनुसार चार राज्यमध्ये तीनमा जित हासिल गरेको हो । त्यो सँगै प्रधानमन्त्री मोदीले आफ्नो पार्टी विजयी भएका राज्यहरूमा ‘मतदाताको अटुट समर्थन’का लागि मतदाताहरूलाई धन्यवाद दिएका छन् ।
‘छत्तीसगढ, मध्यप्रदेश र राजस्थानको नतिजाले भारतीय जनता सुशासन र विकासको राजनीतिमा दृढ छन् भन्ने सङ्केत गर्दछ, सुशासन र विकासका लागि भाजपा खडा छ’, मोदीले सामाजिक सञ्जाल एक्समा भनेका छन् ।
उता, कांग्रेस नेता राहुल गान्धीले तीन राज्यमा हार स्वीकार गरेका छन् । ‘विचारको लडाइँ जारी रहने छ’, तेलङ्गनाका जनतालाई धन्यवाद दिँदै उनले आफ्नो एक्समा उल्लेख गरेका छन् ।
विजयी भएको खुशीयालीमा भाजपाका कार्यकर्ताहरू केहीले मोदीको मुखुन्डो लगाएर नाचेका मात्र थिएनन् मिठाइ बाँड्दै खुशीको प्रतीकका रूपमा एकआपसमा रङ दलेका थिए ।
नयाँ दिल्ली पार्टी मुख्यालयमा प्रधानमन्त्री मोदी भाजपा कार्यकर्ताहरूसँग हिडेका थिए । सम्बोधनमा उनले इमानदारी, पारदर्शिता र सुशासनको जित भएको बताए ।
२३० सिटका लागि भएको मध्यप्रदेशको निर्वाचनमा बिजेपीले ११६ सिट जितेर सुविधाजनक बुहमत ल्याएको छ । त्यस्तै कांग्रेसले ६६ सिट जित्दा ओटीएचले एक सिट जितेको छ । त्यस्तै राजस्थानमा भएको १९९ सिटका लागि भएको निर्वाचनमा बिजेपीले ११५ सिटसहित बहुमत ल्याएको छ । कांग्रेसले ६९ र ओटीएचले १५ सिट जितेको छ ।
त्यस्तै छत्तीसगढमा ९० सिटको लागि भएको निर्वाचनमा ४६ सिटसहित बिजेपीले बहुमत ल्याउन सफल चएको छ भने कांग्रेसले ३५ र ओटीएचले एक सिट जितेको निर्वाचन आयोगले जनाएको छ ।
त्यस्तै तेलंगनामा ६५ सिट ल्याउँदै कांग्रेसले बहुमत हासिल गरेको छ । ११९ सिटका लागि भएको चुनावमा बीआरएसले ३९, यहाँ बिजेपी मात्र ८ सिटमा चित्त बुझाउन बाध्य भएको छ भने ओटीएचले ८ सिट जितेको छ । त्यस्तै उत्तर–पूर्वी राज्य मिजोरममा स्थानीय पार्टी जेडपीएमले २७ सिटसहित बहुमत ल्याएको छ । ४० सिटका लागि भएको निर्वाचनमा एमएनएफले १० सिट ल्याउँदा बिजेपीले २ र कांग्रेसले १ सिट जितेको निर्वाचन आयोगको वेबसाइटमा उल्लेख गरिएको छ । सो तथ्यांक अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको भाजपाले भारतीय राष्ट्रिय कांग्रेसबाट छत्तीसगढ र राजस्थान राज्यको नियन्त्रण खोसेको छ र पाँचौँ कार्यकालका लागि मध्यप्रदेशमा पुनः कीर्तिमानी विजय हासिल गरेको छ ।
कांग्रेसले तेलङ्गना राज्यमा सजिलै जित हासिल गरेको छ । तेलङ्गनामा भाजपको विरोध गर्ने पार्टीका रूपमा चिनिएको बलियो तेलङ्गना राष्ट्र समितिको शासन छ । पाँचौँ राज्य मिजोरममा आजबाट मतगणना हुँदैछ । यहाँ भाजपाको क्षेत्रीय सहयोगी दल मिजो नेसनल फ्रन्ट सत्तामा छ ।
यी पाँच राज्यमा गत महिना मतदान भएको थियो र १६ करोडभन्दा बढी मानिस मतदान गर्न योग्य थिए । भारतमा मतदान सामान्यतया ठूलो जनसंख्याका कारण चरणबद्ध रूपमा गर्ने गरिन्छ ।
करिब एक दशक सत्तामा रहेका मोदी र उनको पार्टी राष्ट्रियस्तरमा लोकप्रिय भएको छ । उनले सन् २०२४ मा लगातार तेस्रो पटक जित हासिल गर्ने सर्वेक्षणहरूले देखाएका छन् ।
यद्यपि इन्डिया भनिने २८ विपक्षी दलहरूको नयाँ गठबन्धनबाट मोदीको पार्टीलाई राष्ट्रियस्तरमा चुनौती हुने अपेक्षा गरिएको छ । उक्त इन्डियाको नेतृत्व कांग्रेसले गरेको छ ।
निर्वाचनअघि मतदाताहरूलाई आकर्षित गर्नका लागि मोदी र गान्धी दुवैजना पाँचै राज्यमा पुगेका थिए । उत्साहपूर्ण निर्वाचन अभियानमा दुवै नेताले मतदाताहरूलाई अनुदान, ऋण मिनाहा र रोजगारीको प्रत्याभूति दिएका थिए ।
भारतमा पछिल्लो समय मुख्यमन्त्रीका आकांक्षीलाई अगाडि सारेरै विधानसभा चुनावमा होम्मिने प्रचलन छ । तर यसपटक बिजेपीले बहुमत ल्याएको तीन राज्यमै मुख्यमन्त्रीको आकांक्षी तोकेका थिएनन् । बहुमत ल्याएसँगै जित हासिल गरेका धेरै उम्मेदवारहरूले मुख्यमन्त्रीको आकांक्षा देखाइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
मध्यप्रदेशमा शिवराज सिंह चौहान, नरेन्द्र सिंह तोमर, प्रह्लाद सिंह पटेल, कैलाश विजयवर्गीय मुख्यमन्त्रीमा आकांक्षा देखाएका छन् भने राजस्थानमा सिंधियाकी फुफु वसुन्धारा राजे र भतिजा ज्योतिरादित्य सिंधिया मुख्यमन्त्रीका आकांक्षी छन् । वसुन्धारा यसअघि नै दुईपटक राजस्थानका मुख्यमन्त्री बनिसकेकी छन् ।
यसैगरी, बिजेपीले छत्तिसगढमा कांग्रेस नेतृत्वको सरकारलाई पछि पार्दै सरकार बनाउने भएको हो । प्रधानमन्त्री नरेन्द्र मोदीले निर्वाचनमा जातीयता फैलाउने प्रयास भएको आरोप लगाएका छन् । जितपछि सम्बोधन गर्दै उनले देशमा चार जातमात्र रहेको जोड दिए । ’चार जातको कुरा गर्दा मैले महिला, युवा, किसान र गरिबलाई सशक्त बनाएरमात्र देशको समृद्धि हुने बताउँदै आएको छु,’ मोदीले भनेका छन् ।
बिजेपीको जीतको कारण :
बिजेपीले यसअघिको भएको हिमाञ्चल र कर्नाटक राज्यमा हार व्यहोरेको थियो । हार्नुको प्रमुख कारण मुख्यमन्त्री आकंक्षीको नाम अगाडि सार्नु रहेको बिजेपीले निष्कर्ष निकालेको थियो । सोही कारण बिजेपीले यसपटक प्रधानमन्त्रीसमेत रहेका मोदीको नाम अगाडि सारेको थियो । निर्वाचनको नतिजापछि मात्रै मुख्यमन्त्री तोकिने बिजेपीको रणनीति थियो । बीजेपी नेता एवं सांसद घनश्याम तिवारीले पनि यसको पुष्टि गरेका छन् ।
‘यसपटक हामी नरेन्द्र मोदीजीको नामलाई अगाडि सारेर चुनावमा होमियौं । मुख्यमन्त्रीको नाम अगाडि सार्दा ती व्यक्तिको कमीकमजोरीले पार्टीमै असर पर्ने रहेछ । चुनावको नतीजाले यो सत्य सावितसमेत भयो,’ उनले बीबीसीसँग भनेका छन् । उनले उक्त रणनीति राजस्थानमा मात्र नभएर मध्य प्रदेश र छत्तिसगढमा पनि लागू गरेको बताए । सोही कारण मध्यप्रदेशको सरकार पनि बचेको र छत्तीसगढमा कांग्रेसलाई पराजित गरेको उनको भनाइ छ ।
वरिष्ठ पत्रकार त्रिभुवनले पनि बिजेपीले जित र हात दुवैबाट पाठ सिक्ने गरेको बताए । तर कांग्रेसभित्र जित हारको समीक्षा त्यति जोडले नहुने गरेको विश्लेषकसमेत रहेका त्रिभुवनको धारणा छ ।
‘हिमाञ्चल र कर्नाटकमा पराजित भएपछि बिजेपीले आगामी निर्वाचनको रणनीति नै बदलिदियो । जसका कारण उसले तीन राज्यमा प्रचण्ड बहुमत ल्याएको छ,’ उनले भने । ‘यसपटक बिजेपीले चुनाव चिन्ह कमलको फूललाई नै आफ्नो सबैकुरा भएको बताउँदै आएको’ उनको विश्लेषण छ ।
त्यस्तै बिजेपीले यसपटक महिला भोटरलाई बढी प्राथमिकता दिएको थियो । उसले निर्वाचन क्षेत्रका महिलाहरूको राजनीतिक समाजिक मुद्दालाई बलियोसँग उठाएको विश्लेषक त्रिभुवनले बताए ।
कांग्रेस नेता राहुल गान्धीले जाति गणनाको माग उठाउँदै आएका थिए । उनले विहारजस्तै अन्य राज्यमा पनि जातीय गणना हुनुपर्ने माग गरेका थिए । उनको त्यही मागले यसपट छत्तीसगढ राज्यमा पनि पराजय भोग्नुपरेको विश्लेषकहरूको बुझाइ छ । – एजेन्सीको सहयोगमा ।
प्रकाशित मिति २०८० मंसिर १८, सोमबार १९:४७ गते