काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बैंकहरू सबैभन्दा ठूला मिटरब्याजी भएको दावी गर्नु भएको छ । उहाँले चितवन काठमाडौं प्रजातान्त्रिक संगमको कार्यक्रममा यहाँ सम्बोधन गर्दै मंसिर २३ गते त्यस्तो बताउनु भएको होक ।
देश आर्थिक रुपले अप्ठेरो परिस्थितिमा रहेको तर त्यसबाट बैंक प्रभावित भएको नदेखिएको भन्दै उहाँले भन्नुभयो, ‘ब्यांकर्सहरू मसँग अलिकति रिसाउनु पनि भएको छ । मैले त भन्ने गर्या छु आजकाल, सबभन्दा ठूलो मिटरब्याजी त बैंकहरू भए ।’
आर्थिक गर्दाखेरी, सबैचिज अप्ठ्यारो परिस्थितिबाट गइरहेको छ, तर बैंक फस्टाइरहेको छ, बोनस बाँडिरहेको छ, कसरी हुन्छ यो ? डा. कोइरालाले खरो टिप्पणी गर्दै भन्नुभयो । उहाँले दोहोर्याउँदै भन्नुभयो, ‘मैले त भन्ने गरेको छु, सबभन्दा ठूलो मिटरब्याजी बैंकहरू भए । त्यसैले बैंकर्सहरू मसँग रिसाउनु पनि भएको छ ।’
सरकारले कृषिमा ५ प्रतिशतमा ऋण दिने निर्णय गरे पनि बैंकहरूले नदिने गरेको समेत उहाँले उल्लेख गर्नुभयो । ‘तपाईंहरू जानुस्, चिनजान छ भने दिइहाल्छ बैंकले नत्र दिँदैन, १०/२० लाख, ५० लाख लोन लिन जानुस् दिँदैन बैंकले । तर एउटा अरबपतिले म कृषिमा लगानी गर्छु भनेर गयो भने तुरुन्तै दिन्छ ।’
अर्को एक प्रसङ्गमा चितवनमा कांग्रेसको अवस्था खस्किँदै गएकोप्रति चिन्ता व्यक्त गर्नु भयो । टोलमै कांग्रेस–कांग्रेसबीच बोलचालसमेत हुन छाडेको भन्दै उहाँले भन्नुभयो, ‘व्यक्तिवादी चरित्र यत्रो धेरै हावी भएको छ चितवनमा, एकदुसरालाई एसेप्ट नै नगर्ने हिसाबले अगाडि बढिरहेको छ । त्यो क्षेत्रको कुरा नगरौं, त्यो पालिकाहरूको कुरा नगरौं, वडाको कुरा नगरौं, टोलमा त्यो समस्या आइसक्या छ । एकदुसरासित बोलचाल छैन ।’
यसो हुनुमा केन्द्रबाट आफूहरूको पनि गल्ती भएको उहाँको टिप्पणी थियो । उहाँले भन्नुभयो, ‘हाम्रो कमीकमजोरीको कारण आज चितवन नेपाली कांग्रेसको हातबाट गइराखेको अवस्था छ ।’
प्रकाशित मिति २०८० मंसिर २३, शनिबार २०:२१ गते