पोखराको मित्र मिलन सहकारी ठगी काण्डमा वडाध्यक्षसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी, तीनजना पक्राउ

पोखराको मित्र मिलन सहकारी ठगी काण्डमा वडाध्यक्षसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी, तीनजना पक्राउ

अन्तरङ्ग न्युज

@antaranganews

२०८० मङ्सिर २४ गते आईतबार ०७:१८

झण्डैं २७ करोड रकम ठगीमा संलग्न रहेकाहरु फरार भएका छन् । प्रहरीले जिल्ला अदालत कास्कीबाट ३० जनाको नाममा पक्राउ पुर्जी जारी गरेसँगैं ठगीमा संलग्न वडाध्यक्ष, पत्रकार, वकिल, ठेकेदार र सहकारीका सञ्चालकहरू सबै फरार भएका हुन् ।

अध्यक्ष पौडेल र सिइओ अधिकारी गत कार्तिक ४ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन् ।

पोखरा– सहकारी ठगी धन्दा मौलाउँदै गएको छ । पोखरा महानगरपालिका– ९ नयाँबजारस्थित मित्र मिलन बचत तथा ऋण सहकारी संस्था(साकोस)मा रकम हिनामिना गरेको आरोप लागेका ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै त्यस्तो खुलासा भएको हो । ३० जनामध्ये तीनजना मात्र पक्राउ परेका छन् ।
कास्की जिल्ला अदालतबाट अनुमति लिएर जिल्ला प्रहरी कार्यालय कास्कीले उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको बताइएको छ । प्रहरीका अनुसार अध्यक्ष पौडेल र सिइओ अधिकारी ४ कार्तिकदेखि नै कास्की प्रहरीको हिरासतमा छन् । झण्डैं २७ करोड रकम ठगीमा संलग्न रहेकाहररू फरार भएका छन् । प्रहरीले आइतबार जिल्ला अदालत कास्कीबाट ३० जनाको नाममा पक्राउ पुर्जी जारी गरेसँगैं ठगीमा संलग्न वडाध्यक्ष, पत्रकार, वकिल, ठेकेदार र सहकारीका सञ्चालकहरू सबै फरार भएका हुन् । पक्राउ पुर्जी जारी भएका ३० जनामध्ये तीनजना पक्राउ परेका छन् भने अन्यको खोजी भइरहेको कास्की प्रहरीको भनाइ छ ।
पक्राउ पुर्जी जारी भएकाहरूमा पोखरा महानगरपालिका– २१ का अध्यक्ष दीपकप्रसाद सुवेदीका साथै सो साकोसका अध्यक्ष रमण पौडेल समेत छन् । सुवेदीले वडासदस्य विमला केसीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिदैं फरार भएका हुन् । जिल्ला प्रशासन कार्यालय कास्की, पोखरा महानगरपालिका, नगरकार्यपालिकाको कार्यालय र पोखरा महानगरपालिका वडा नं. २१ को कार्यालयलाई समेत बोधार्थ दिई वडाध्यक्ष सुवेदी फरार भएका हुन् ।
सोसँगै पूर्जी जारी गरिएका सबैको मोवाईलको स्वीच अफ छ । प्रहरीले पक्राउ पुर्जी जारी गरेर पोखरा– २२ घर भई हाल लेकसाईडमा पसल गरी बस्ने राजु बराललाई मात्र पक्राउ गर्न सफल भएको छ ।
पक्राउ पूर्जी जारी हुनेहरूमा साकोसका प्रमुख कार्यकारी अधिकृत किरण अधिकारी, सञ्चालक समितिका पदाधिकारी र सदस्य, लेखा समिति, कानुनी सल्लाहकारलगायत पत्रकार, वकिल, ठेकेदारसमेत रहेको प्रहरीले जनाएको छ । बारम्बार आफ्नो बचत रकम फिर्ता माग्दा नपाएको भन्दै सुरुमा ३५ र पछि थप १५ गरी ५० जनाले बचत फिर्ता सम्बन्धमा भन्दै निवेदन पेस गरेका थिए ।
एक बचतकर्तालाई दिइएको चेक बाउन्स भएपछि परेको उजुरीपछि पौडेल र अधिकारी पक्राउ परेका हुन् । यसअघि सहकारीका बचतकर्ताहरूले आफ्नो बचत रकम फिर्ता नपाएको भन्दै १२ कार्तिकमा गण्डकी प्रदेश सरकारअन्तर्गतको सहकारी रजिस्ट्रारको कार्यालयमा निवेदन दिएका थिए ।
बचतकर्ताहरूले निवेदनमा लेखा र संस्थाको नाममा रहेको चलअचल सम्पत्तिसमेत रोक्का गरी छानबिन तथा सहकारीको सम्पत्ति बिक्री वा नामसारी भएमा रजिस्ट्रारको कार्यालय नै जिम्मेवार रहनेसमेत उल्लेख गरेका थिए ।
बचतकर्ताको निवेदनपछि एक चार्टर्ड एकाउटेन्ट नियुक्त गरी संस्थाको स्थापना कालदेखि हालसम्मको आर्थिक कारोबारको अध्ययन गरी ‘वित्तीय विवरण सम्बन्धमा विश्लेषण गरी सो सम्बन्धमा देखिएका कैफियतउपर प्रस्तुत गरिएको रायसहितको प्रतिवेदन २०८०’ तयार गरेको रजिस्ट्रार कार्यालयकी निमित्त प्रमुख ईश्वरी ढकालले बताउनु भयो । उहाँका अनुसार प्रतिवेदनमा २६ करोड ८४ लाख हिनामिना भएको प्रारम्भिक अनुमान गरिएको छ ।
बचतकर्ताको निवेदनसँगै सोही दिन रजिस्ट्रारको कार्यालयले आवश्यक छानबिन तथा कारबाही सम्बन्धमा भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा पत्रसमेत पठाएको थियो ।
ढकालका अनुसार प्रतिवेदनमा विशेष राय भन्दै अनुसन्धान गर्नुपर्ने व्यक्तिहरूको नामसमेत किटान गरिएको छ । त्यसपछि कार्यालयले प्रतिवेदनसहित संस्थाका सम्पूर्ण कागजात जिल्ला प्रहरी कार्यालय कास्कीलाई हस्तान्तरण गरेको थियो ।
सोही प्रवितेदनका आधारमा कास्की प्रहरीले अदालतको अनुमति लिएर उनीहरूविरुद्ध फक्राउ पुर्जी जारी गरेको हो । प्रहरीले एक–दुई दिनभित्र पुर्जी जारी भएकाहरूको खोजी गर्ने र त्यसपछि सूचना जारी गर्दै बचतकर्ताहरूसँग उजुरी माग गर्ने तयारी गरिरहेको छ ।
पूर्जी जारी हुनेमा नेकपा एमाले कास्कीका जिल्ला सदस्य, एमालेका वडा नं. २१ का ईञ्चार्ज, प्रेस चौतारी कास्कीका अध्यक्ष एवम् ताण्डव न्यूज डटकमका प्रधान सम्पादक अर्जुन गिरी समेत मंसिर २२ गतेदेखि नैं फरार भएको प्रहरी भनाइ छ । फरार हुनेमा सहकारी सञ्चालक समितिका सदस्य एवम् प्रेस युनियन कास्कीका उपाध्यक्ष एवम् ताण्डव न्यूजका संवाददाता विजय लम्साल समेत फरार छन् ।
सुरुदेखिनै विवादित छविका रुपमा परिचित कानुनी व्यवसायी एवं सहकारीका कानुनी सल्लाहकार जनकल्याण पराजुली पक्राउ पुर्जी जारी भएको सूचना पाएसँगैं फरार छन् ।
सहकारी ठगीमा संलग्नहरूको व्यापक खोजी कार्य भइरहेको कास्की प्रहरीका प्रमुख एसपी मोहनकुमार थापाले बताउनु भयो । उहाँका अनुसार सहकारी ठगीमा संलग्नहरू पक्राउ पुर्जी जारी भएसँगैं खोजी कार्य व्यापक बनाइएको छ । उहाँले भन्नुभयो, ‘आजसम्म ३ जना भन्दा बढि पक्राउ गर्न सकिएको छैन । तर कानुनको फन्दाबाट भागेर कहाँ जाने ? कहिलेसम्म भाग्ने ? फरार भएकाहररू छिट्टैं पक्राउ पर्नेछन् ।’
स्मरणीय छ, बचतकर्ताहरूले आफ्नो रकम फिर्ता नपाएपछि दिइएको उजुरीका आधारमा सहकारी रजिष्ट्रारको कार्यालय पोखराले सहकारीको वित्तीय विवरण सम्बन्धमा देखिएका कैफियतहरू उपर छानबिन गर्दा सो गिरोहको संलग्नतामा मित्र मिलन सहकारीको २६ करोड ८३ लाख रुपैयाँ भन्दा बढी रकम हिनामिना गरेको तथ्य भेटिएको बताइएको छ ।

प्रकाशित मिति २०८० मंसिर २४, आईतवार ०७:१८ गते
हजुरको प्रतिक्रिया