काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संस्थापनइतरका नेताहरूको बैठक बोलाउनु भएको छ । नेता कोइरालाले राष्ट्रिय सभा निर्वाचन, महासमिति बैठक र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न कोइरालाले मंसिर २६ गते दिउँसो १ गतेका लागि बैठक बोलाउनु भएको हो ।
बैठक सो दिन दिउँसो बत्तिसपुतलीमा बस्ने तय भएको नेता कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिनु भयो । उहाँका अनुसार समूहको बैठक नबसेको धेरै भएको थियो । महासमिति बैठक अघि एकपटक बसौं भनेर अनौपचारिक बैठक राख्नुभएको हो । बैठकमा आफू पक्षीय पदाधिकारी, केन्द्रीय सदस्य, राष्ट्रिय सभा र प्रतिनिधिसभाका सांसदहरु, प्रदेश सभापतिहरू लगायतलाई बोलाइएको छ । उहाँले भन्नुभयो, ‘महामन्त्री गगन थापाले पनि आउँछु भन्नुभएको छ ।’
यसैगरी, कांग्रेस केन्द्रीय सदस्य मधु आचार्यले बैठक तयारी गरिएको बताउनु भयो । उहाँका अनुसार राष्ट्रिय सभा चुनाव, पुस १६ देखि १९ गतेसम्मका निम्ति तय महासमिति बैठक लगायत विषयमा छलफल गर्न उहाँ (शेखर) ले बैठक बोलाउनु भएको हो । उहाँले भन्नुभयो, ‘समूहबाट १४औँ महाधिवेशनमा उमेदवार बनेका सबैलाई बोलाइएको छ ।’
कांग्रेस सभापति शेरबहादुर देउवाले मंसिर २९ गते केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाउनु भएको छ । उक्त बैठकअघि कोइरालाले संस्थापनइतर समूहको बैठक राख्ने हुनुभएको हो ।
०७८ मंसिरमा भएको कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा शेरबहादुर देउवासँग कोइराला पराजित हुनु भएको थियो । त्यसपछि उहाँले बेलाबेला विभिन्न विषयमा सामूहिक धारणा बनाउन भन्दै आफू पक्षका नेताहरूसँग छलफल गर्ने गरिआउनु भएको छ ।
कांग्रेसले आउँदो पुस १६–१९ गतेका लागि महासमिति बैठक तय गरेको छ । त्यस्तै आउँदो माघ ११ मा राष्ट्रिय सभाको निर्वाचन हुँदैछ ।
प्रकाशित मिति २०८० मंसिर २४, आईतवार १९:२७ गते