क्रिश्मसको सामूहिक भोजमा मृतक एक र ३९ जना उपचाररतको अपडेट : घटनाबारे प्रहरी अनुसन्धान गर्दै

क्रिश्मसको सामूहिक भोजमा मृतक एक र ३९ जना उपचाररतको अपडेट : घटनाबारे प्रहरी अनुसन्धान गर्दै

विराट न्यौपाने/अन्तरङ्ग

@antaranganews

२०८० मङ्सिर २४ गते आईतबार ०८:२३

विरामीको अवस्था बारेमा जानकरी लिनका लागि गण्डकी प्रदेश सभस सदस्य डा. टकराज गुरुङ, सुन्दरबजार नगरपालिका मेयर कृष्णप्रसाद कोइराला, उपमेयर भवानी के.सी. लगायतका जनप्रतिनिधिहरू अस्पाताल पुग्नु भएको थियो ।

मेयर कोइरालाले भन्नुभयो, ‘पैसाको अभावले उपचारमा कमी नहोस भन्दै उपचार गर्न नसक्नेहरूको पालिकाले उपचार गर्ने छ ।’

भोटेओडार(लमजुङ)– सुन्दरबजार नगरपालिका– ८ भोटेओडार स्थित डुडकुलामा रहेको आनन्द सलाम चर्चमा क्रिश्मसको सामूहिक भोज खाएकामध्ये एक महिला जनाको मृत्यु भएको छ भने हालसम्म ३९ जना बिरामी परी सोही नगरपालिका– ६ स्थित एचडिसिएस नमूना अस्पतालमा उपचारका लागि मसिर १६ गते भर्ना भएका छन् ।
बेसीशहर नगरपालिका– ४ पुरानोकोट स्थायी घर भई सुन्दरबजार नगरपालिका– ९ भोटेओडार बस्ने बर्ष ३२ की देवी परियारको अस्पताल लैजाँदै गर्दा आजै बिहान बाटोमा नै मृत्यु भएको हो ।
मृतक देवी परियारको श्रीमान देवु, १२ वर्षीया छोरी विद्यासहित ३९ जना अहिले अस्पतालमा उपचारत छन् । घरका सदस्यहरू पनि बिरामी भई उपचाररत हुनुभएका कारणले मृतकको शव जिल्ला अस्पतालमा राखिएको छ । परिवारजनको उपचार पश्चात पोष्टमार्टम गरिने प्रहरीले जनाएको छ ।
स्थानीय क्षेत्रबहादुर गुरुङको घरमा क्रिसमसको उपलक्ष्यमा राखिएको सामूहिक भोजमा उनीहरू सहभागी भएका थिए । भोजमा कति जना सहभागी थिए भन्ने एकिन हुन नसकेको पनि हालसम्म ३९ जनालाई समस्या देखिएको हुँदा उपचारका लागि अस्पतालमा भर्ना गरिएको हो ।
बिरामी मध्ये एक जनालाई जिल्ला अस्पताल बेसीशहरबाट दिउँसो रिफर गरिएको सुन्दरबजार प्रहरी चौकीका प्रमुख वरिष्ठ सई रामकृष्ण अधिकारीले जानकारी दिनुभयो । तर यसको पुष्टि गर्न सो अस्पतालकी सूचना अधिकारी अञ्जना पौडेलले इन्कार गर्नु भएको छ ।
वरिष्ठ सई अधिकारीका अनुसार एक जना मृतक सहित १८ जना महिला, पाँच जना पुरुष, नौ जना बालक, छ जना बालिका बिरामी परेका छन् । यहाँ भोज खाएर एक जना तनहुँ गएको र उतै बिरामी परेको भन्ने जानकारी पाएपछि अस्पताल प्रशासनले सम्पर्क गरेर नजिकको अस्पतालमा गई स्वास्थ्य चेकजाँच गर्न भनेको जानकारीमा आएको छ ।
त्यो भोज खाएका उनीहरूलाई हिजो विहानैदेखि समस्या देखिन थालेको लमजुङ प्रहरीले जानकारी दिएको छ । सुरुमा घरमै उपचार गरिए पनि स्थिति सुधार नभएपछि उनीहरूलाई आज बिहान ४ बजेबाट एचडिसिएस नमुना हस्पिटल लग्न थालिएको हो ।
सो घटना के कसरी घट्न पुगेको हो ? यस बारेमा जिल्ला प्रहरी कार्यालयले अनुसन्धान थालेको जनाएको छ ।
भोजमा सहभागीहरूले भात, कालो दाल, कुखुराको मासु, मुलाको अचार र गाउँघरमा पहिल्यैदेखि खादै आएको धाराको पानि खाएको बताएका छन् । तर कुन खानामा समस्या आएको भन्ने खुलेको छैन ।
एक जनाको बिहान हस्पिटल आउने क्रममा बाटोमै मृत्यु भएको एचडिएस नमुना हस्पिटलका प्रमुख हेमन्त श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार बाँकी अन्य विरामीहरूलाई ज्वरो आउने, पातलो पखला लाग्ने, कमजोरी हुने, टाउको दुख्ने, पेट फुल्ने, बान्ता हुने, रिंगटा लाग्ने लगायकतका लक्षण देखापरेको छ ।
उहाँका अनुसार आज बिहान बिरामीहरू अस्पताल आईपुगेपछि निरन्तर स्वास्थ्यकर्मीको टोली उपचारमा खटिएको छ । अझै पनि एकाध बिरामीहरू बढ्न सक्ने आंकनल छ । बिहान शुरुमा क्रिटिकल देखिएका केशहरूमा पनि क्रमिक सुधार हुदै आएको अस्पताल प्रमुख श्रेष्ठले बताउनुभयो ।
भोजमा सहभागी भइ बिरामी पर्नु भएका धनप्रसाद गुरुङका अनुसार सहभागी सबैलाई समस्या नदेखिएको र पहिला भोज खाने भन्दापछि भोज खानेहरू धेरैलाई समस्या देखिएको छ । यो के कसरी भयो ? भन्ने बारेमा आफूहरू अनिबिज्ञ रहेको उहाँले जानकारी दिनुभयो ।
घटनाको बारेमा थाहा पाएपछि विरामीको अवस्था बारेमा जानकरी लिनका लागि गण्डकी प्रदेश सभस सदस्य डा. टकराज गुरुङ, सुन्दरबजार नगरपालिका मेयर कृष्णप्रसाद कोइराला, उपमेयर भवानी के.सी. लगायतका जनप्रतिनिधिहरू अस्पाताल पुग्नु भएको थियो । उहाँलेहरूले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै, उपचाररत बिरामीहरूको सिघ्र स्वास्थ्यलाभको कामना गर्नु भएको छ ।
मेयर कोइरालाले अस्पताल प्रशासनलाई उहाँहरूको उपचारमा कुनै पनि कमी कमजोरी नगर्न र आबश्यक परे आफूहरूसंग सम्पर्क गर्न निर्देशन दिनुभएको छ । उहाँले अस्पतालमा ओड्ने लुगाको कमी भएको र दिउँसो नै ओढ्ने कपडा व्यवस्था गरिदिएको जानकरी दिनुभयो । उहाँले भन्नुभयो, ‘पैसाको अभावले उपचारमा कमी नहोस भन्दै उपचार गर्न नसक्नेहरूको पालिकाले उपचार गर्ने छ ।’

प्रकाशित मिति २०८० मंसिर २४, आईतवार २०:२३ गते
हजुरको प्रतिक्रिया