दोर्दी स्थित बालकल्याण माविको स्वर्ण महोत्सव साताव्यापी रुपमा मनाउने तयारी

दोर्दी स्थित बालकल्याण माविको स्वर्ण महोत्सव साताव्यापी रुपमा मनाउने तयारी

अन्तरङ्ग न्युज

@antaranganews

२०८० मङ्सिर २६ गते मङ्गलबार ०९:४४

दारिमबोट(लमजुङ)– लमजुङको यहाँ स्थित बालकल्याण माविको स्वर्ण महोत्सवको तयारी गरिएको छ । दोर्दी गाउँपालिका– ७ को यहाँ स्थित बालकल्याण माविको स्वर्ण महोत्सव आउँदो पुसको दोस्रो सातामा साताव्यापी रुपमा मनाउने तयारी गरिएको विद्यालयद्वारा...

दारिमबोट(लमजुङ)– लमजुङको यहाँ स्थित बालकल्याण माविको स्वर्ण महोत्सवको तयारी गरिएको छ । दोर्दी गाउँपालिका– ७ को यहाँ स्थित बालकल्याण माविको स्वर्ण महोत्सव आउँदो पुसको दोस्रो सातामा साताव्यापी रुपमा मनाउने तयारी गरिएको विद्यालयद्वारा आयोजित पत्रकार सम्मेलन गरी मंसिर २६ गते जानकारी दिएको हो ।
सो महोत्सव पुसको ९ गतेदेखि १४ गतेसम्म विविध कार्यक्रमका साथ सम्पन्न गर्ने तयारी चलिरहेको छ । ‘गुणस्तरीय शिक्षा हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आयोजना गरिएको उक्त स्वर्ण महोत्सव ९ गतेदेखि ११ गतेसम्म भलिवल, नृत्य प्रतियोगिता, विद्यालयका जग्गादाता, चन्दादातालाई सम्मान लगायत आन्तरिक कार्यक्रम तय गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्मराज गुरुङले बताउनु भयो । उहाँले १२ गते स्वर्ण महोत्सवक विशेष कार्यक्रमका साथ उद्घाटन गरी शुभकामना मन्तव्य र विविध साँस्कृतिक कार्यक्रम गरिने बताउनु भएको छ । उहाँले भन्नुभयो, ‘सो दिन गण्डकी प्रदेशका मुख्य मन्त्रीलाई प्रमुख अतिथिको रुपमा निमन्त्रणा गरिएको छ । दोस्रो दिन सामाजिक विकास तथा स्वास्थ्य मन्त्री तथा तेस्रो दिन संघीय सांसद पृथ्वीसुब्बा गुरुङलाई प्रमुख अतिथिको रुपमा निमन्त्रणा गरिएको छ ।’ पहिलो तीन दिन अर्थात ९ देखि ११ गतेसम्म गाउँपालिकाका अध्यक्ष युवराज अधिकारी प्रमुख अतिथि हुनुहुनेछ ।
दुईं सय ५ जना विद्यार्थी अध्ययन गरिरहेका उक्त बालकल्याण मावि २०३० सालमा स्थापना भएको हो । यो वर्षबाट विद्यालय स्थापनाको ५० वर्ष पुगेको अबसरमा स्वर्ण महोत्सव आयोजना गरिएको अध्यक्ष गुरुङले जानकारी दिनु भयो ।
महोत्सव सम्पन्न गर्नका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्मराज गुरुङको संयोजकत्वमा १५१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । गाउँपाकिलाका अध्यक्ष र उपाध्यक्षलाई विद्यालयको संरक्षक रहने प्रवन्ध गरिएको छ भने सोही वडाका अध्यक्ष रिसमाया गुरुङको अध्यक्षतामा एक सल्लाहकार समिति गरिएको सो माविका प्रअ नवराज घिमिरेले बताउनु भयो । उहाँका अनुसार व्यवस्थापन समितिका अध्यक्ष एवम् मूलसमारोह समितिका संयोजकको संयोजकत्वमा १५ सदस्यीय सचिवालय तथा विभिन्न नौ उपसमिति समेत गठन गरिएको छ ।
ती उपसमिति र संयोजकमा क्रमशः कार्यव्यवस्थापनमा विवहादुर गुरुङ, आर्थिकमा पूर्णराम गुरुङ, प्रचारप्रसारमा रेशम गुरुङ, सांस्कृतिकमा टीकाराम गुरुङ, स्वयम्सेवक परिचलनमा योगबहादुर गुरुङ, भूपू शिक्षक सम्पर्कमा सुकबहादुर गुरुङ, भूपू विद्यार्थी सम्पर्क समितिमा बेलबहादुर गुरुङ, स्वागत सम्मानमा मञ्जु गुरुङ रहनु भएको छ भने भौलिक निर्माण तथा संरक्षण उपसमितिको संयोजकमा आकाश गुरुङ रहनु भएको प्रअ घिमिरेको भनाइ छ ।
सो अवसरमा दोर्दी गाउँपालिकाको विषयगत शैक्षिक सामग्री प्रदर्शनी, युवा मैत्री भलिबल, शिक्षक मैत्री भलिवल, अन्तर प्रावि हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गरिने भएको छ भने राष्ट्रिय र स्थानीय कालकारको विशेष प्रस्तुतिको कार्यक्रम समेत हुने भएको छ ।
विभिन्न व्यक्तित्वका स्मृतिमा विद्यालयको खातामा ७ लाख रुपैयाँ अक्षयकोष :
हाल यस विद्यालयमा विभिन्न व्यक्तित्वका स्मृतिमा विद्यालयको खातामा ७ लाख रुपैयाँ अक्षयकोष रहेको छ । उक्त अक्षयकोषबाट प्राप्त व्याजको ८० प्रतिशत रकम छात्रवृत्ति र शैक्षिक गुणस्तरका लागि खर्च गर्ने गरिएको छ र बाँकी २० प्रतिशत रकम पुनः साँवामा परिवर्तन गरिने प्रअ घिमिरेले बताउनु भयो । उहाँले जानकारी दिदै यस विद्यालयबाट एसइई परीक्षा उतीर्ण गर्ने कुल संख्या २८७ रहेको उल्लेख गर्नुभयो । प्रअ घिमिरेले भन्नुभयो, ‘महोत्सवको खर्चका लागि मुल आयस्रोत उहाँहरू हुन सक्ने आंकलन गरिएको छ ।’
स्वर्ण महोत्सवका लागि कुल खर्च १० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको विद्यालयको स्वार्ण महोत्सव मूल समारोह समितिका संयोजक धर्मराज गुरुङले बताउनु भयो । उहाँका अनुसार यही महोत्सवका लागि छ्याङ्दी हाइड्रो पावर लि.ले ३ लाख, दोर्दी गापा वडा नं. ७ ले ५० हजार, वडा नं. ८ ले ५० हजार आर्थिक सहयोग उपलब्ध गराउने वचनबद्धता प्राप्त भएको छ । उहाँले भन्नुभयो, ‘त्यस बाहेक विद्यालयका उपज, यो क्षेत्रबाट देश विदेशमा रहनु हुने शिक्षाप्रेमी एवम् विद्यालयका शुभचिन्तकहरू सहितका विभिन्न दाताहरूबाट संकलन गरिने भएको छ ।’ त्यसरी संकलित रकमबाट खर्च नपुग भएको अवस्थामा विद्यालयको मौज्दात कोषबाट खर्च गरिने छ उहाँले जानकारी दिनुभयो ।

स्वर्ण महोत्सवका लागि पूर्वाधारको तयार :
स्वर्ण महोत्सवका लागि पूर्वाधारको तयारी क्रममा एक वर्ष अघिदेखि चलिरहेको महोत्सव आयोजक समितिका संयोजक धर्मराज गुरुङले बताउनु भयो । उहाँका अनुसार गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट पाँच लाख सहयोगमा गेटको निर्माण गरिएको छ । उहाँले भन्नुभयो, ‘दोर्दी गाउँपालिकाको दुई लाख सहयोगमा विद्यालयको रङ्गरोगनको काम गरिएकोछ ।’ छ्याङ्दी हाइड्रो पावर लि.ले सहयोग गर्ने तीन लाख रुपैयाँले स्वर्णस्तम्भको निर्माण गरिएको छ । गाउँपालिकाको प्रधानमन्त्री स्वरोजगार प्रवद्र्धन कार्यक्रमबाट खेल मैदान(भलिबल)को साथमा मञ्च निर्माण तथा ढकालको कार्य गरिएको छ । त्यस्तै, गाउँपलिकाबाट थप सहयोगको पनि आशा गरिएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
उक्त पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघका जिल्ला उपाध्यक्ष अनुज अधिकारी, रेडियो भोटेओडारका निमित्त स्टेशन म्यानेजर विराट न्यौपाने, परिवर्तन सन्देश साप्ताहिकका प्रकाशक वासुदेव थापा, टेलिभिजन पत्रकार प्रमोद अधिकारी, दोर्दी ७ का वडा अध्यक्ष रिसमाया गुरुङ, वडा सदस्य, व्यवसथापन समितिका पदाधिकारी, शिक्षकहरूको सहभागिता थियो ।

फोटा सौजन्य : विराट न्यौपाने ।

प्रकाशित मिति २०८० मंसिर २६, मंगलवार २१:४४ गते
हजुरको प्रतिक्रिया