सहकारी संस्थाको अध्ययन गर्न मर्स्याङदी गाउँपालिकाद्वारा अनुगमन समिति गठन

सहकारी संस्थाको अध्ययन गर्न मर्स्याङदी गाउँपालिकाद्वारा अनुगमन समिति गठन

अन्तरङ्ग न्युज

@antaranganews

२०८० मङ्सिर २७ गते बुधबार ०६:०३

पहिलो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम भुलभुले सामुदायिक भवन, मर्स्याङदी गाउँपालिका– ८ मा गरिने भएको छ ।

कार्यपालिका बैठक निर्धारित समय र तोकिए बमोजिमको औपचारिक पोशाकमा आउनु पर्ने निर्णय

भूलभूले(लमजुङ)– जिल्लाको मर्स्याङदी गाउँपालिकाले आफ्नो क्षेत्रमा सञ्चालित सहकारी संस्थाहरूको वस्तु स्थिति अध्ययनका लागि एक अनुगमन समिति गठन गरेको छ । सो कार्य गाउँपालिकाको मंसिर २५ गते बसेको गाउँ कार्यापालिकाको बैठकले त्यस्तो निर्णय गरेको हो ।
कार्यपालिका बैठकमा सहकारी सस्था अनुगनम समिति गठनको निर्णय सँगै मर्स्याङदी गाउँपालिका– ५ का वडा अध्यक्ष एवं गाउँपालिका लेखा समिति संयोजक घनश्याम घले संयोजकत्वमा अनुगमन समिति गठन गरेको हो । संयोजक सहित पाँच सदस्यिय समितिको सदस्यहरूमा गाउँपालिकाका प्रशासकीय अधिकृत अर्जुन चपाई, गाउँपालिकाका सहकारी समन्वय समितिको अध्यक्ष लेखमान कतिला, मर्स्याङदी गाउँपालिकाको सहकारी फोकल पर्सन नन्दराज गुरुङ र समितिले चयन गरेको सहकारीको लेखा हेर्न सक्ने एक जना विज्ञ रहने भएका छन् ।
अनुगमन समितिले मर्स्याङदी गाउँपालिका भित्र कार्यक्षेत्र बनाइ दर्ता भएका बचत तथा ऋण सहकारी(साकोस)हरूको वस्तुस्थिति अध्ययन गर्ने छ । खासगरी संस्था÷बचत तथा ऋणको मुख्य कारोबार गर्ने गरी दर्ता भएका सहकारी संस्थाले बेलाबेलामा बचतकर्ताको बचत हिनामिना गरेको गुनासो आएकोले सोको वास्तविकता पत्ता लगाउन गाउँपालिकाले अध्ययन अनुगमन समिति गठन गरेको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताउनु भयो ।
उहाँका अनुसार पालिका भित्र रहेको खासमा ताघृङ घेर्मु साकोसमा बचतकर्ता÷शेयर सदस्यको बचत हिनामिना गरेको भनी बेला–बेलामा उजुरी÷गुनासो आएको भन्दै गाउँपालिकाले जनाएको छ । उक्त सहकारी र पालिका भित्र रहेको अन्य सहकारीमा पनि यस्ता गुनासा आउन सक्ने हुनेले सोको वास्तविक अवस्था पत्ता लगाउन पिडित पक्ष र नियामक निकाय बीचको समझदारीमा गाउँ कार्यपालिका बैठकबाट सर्वसम्मतीमा सहकारी सस्था अध्ययन अनगुमन समिति गठन गरिएको हो ।
उहाँले भन्नुभयो, ‘गाउँपालिकाकाले आगामी पुस एक गतेदेखि लागु हुने गरी वडा सदस्यहरू वर्णानुक्रम अनुसार प्रत्येक महिनामा ७ दिन आ–आफ्नो वडा कार्यालयमा अनिवार्य उपस्थिति हुनुपर्ने निर्णय गरेको छ । साथै कार्यपालिकाको उक्त बैठकले वडा कार्यलयमा वडा सदस्यको उपस्थिति र सार्वजनिक सुनुवाई लगायतका विषयमा समेत विभिन्न निर्णय गरेको छ ।’
गाउँपालिकाबाट प्रदान गरिने सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सेवाग्राहीका पिरमर्का एवम् गुनासासँग वडा सदस्यहरूलाई साक्षात्कार गराउन एंव वडाबाट सञ्चालन हुने कार्यक्रमहरूको बारेमा जानकारी दिलाउन वडा कार्यालयमा वडा सदस्यको उपस्थिति अनिवार्य गरेको छ ।
गाउँपालिकाको कार्यालयबाट भएका सम्पूर्ण क्रियाकलापहरूको आम नागरीकहरूलाई जानकारी गराउने उद्धेश्यले आगामी पुस १३ गते आर्थिक वर्ष २०८०÷८१ को पहिलो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने निर्णय गरेको छ । सो सुनुवाई कार्यक्रम भुलभुले सामुदायिक भवन, मर्स्याङदी गाउँपालिका– ८ मा गरिने भएको छ ।
यसैगरी कार्यपालिकाको बैठकलाई शिष्ट, मर्यादित एवं व्यवस्थित ढंगले सञ्चालन गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले आगामी दिनका कार्यपालिका बैठकमा आउँदा निर्धारित समय र तोकिए बमोजिमको औपचारिक पोशाकमा आउनु पर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्षका स्वकीय सचिव सरोज गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपािलकाले विद्यालयहरूमा मोटिभेसन कार्यक्रम सञ्चालन गर्ने निणर्य गरेको छ । विद्यार्थीहरूलाई अनुशासित, लगनशील र जिम्मेवार बनाउन पहिलो चरणमा पालिका भित्रका माध्यमिक विद्यालयहरूमा मोटिभेसन कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ ।

प्रकाशित मिति २०८० मंसिर २७, बुधबार ०६:०३ गते
हजुरको प्रतिक्रिया