काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वडा अधिवेशन आजदेखि सुरु भएको छ । रास्वपाले पार्टी स्थापनापछि पहिलोपटक वडा अधिवेशन मंसिर २८ गतेबाट थालेको हो ।
सातै प्रदेशका एक एक वडाबाट आजदेखि वडा अधिवेशन आरम्भ भएको पार्टीको संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले बताउनु भयो । उहाँका अनुसार सात प्रदेशमा सात वडामा वडा अधिवेशन आजै सक्छौं। हामीले निरन्तररुपमा वडा अधिवेशन, पालिका अधिवेशन र प्रदेश अधिवेशन गरेर क्रमशः राष्ट्रिय महाधिवेशनको बाटो खुलाएका छौं । उहाँले भन्नुभयो, ‘निर्वानपछि एक वर्षमा पार्टीको अधिवेशन सुरु गर्ने निर्णय गरेका थियौं । औपचारिक रूपमा अधिवेशन आजदेखि सुरु भएको छ ।’
‘प्रत्येक वडामा एक सभापतिसहित ११ सदस्यीय वडा समिति गठन गरिने, ती ११ जनामध्ये कम्तीमा चार महिला सदस्य अनिवार्य गर्दै चार जनामध्ये पनि एक जना अनिवार्यरूपमा दलित महिलाको व्यवस्था गरिएको छ । छ जना ४५ वर्षमुनिका युवा हुनै पर्ने निर्वाचन निर्देशिकामा उल्लेख छ ।’ तर तीन जना दलित नभएकका वडामा के गर्ने भन्ने विकल्प भने नदिइएको बताइन्छ ।
रास्वपाले भरतपुर महानगरपालिका– ११, जितपुर सिमरा उपमहानगरपालिका– २, पोखरा महानगरपालिका– १०, बुटवल उपमहानगरपालिका– १३, इटहरी उपमहानगरपालिका– २०, भेरीगङ्गा नगरपालिका– ६ र टीकापुर नगरपालिका– १ मा आज वडा अधिवेशन गरेको हो ।
सातै प्रदेशका ती वडामा रास्वपाका केन्द्रीय प्रतिनिधि सहभागी हुँदैछन्। पार्टीका महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकाल, सहमहामन्त्री एवं सांसद सुमना श्रेष्ठ, सहमहामन्त्री विपिन आचार्य, कोषाध्यक्ष लिमा अधिकारी, संगठन विभागका सचिव शंकर श्रेष्ठ र केन्द्रीय सदस्य विजय जैरु विभिन्न वडामा केन्द्रीय प्रतिनिधि रहेका छन् ।
‘जलेश्वर बैठकबाट पार्टीको वैचारिक धार स्पष्ट गरेका छौं । यसलाई स्थानीय तहसम्म पु¥याउने मुख्य एजेण्डा हो’, प्रमुख सचेतक परियारको भनाइ छ ।
परियारले भन्नुभयो, ‘सात प्रदेशमा सात वडामा वडा अधिवेशन आजै सक्छौँ । हामीले निरन्तररुपमा वडा अधिवेशन, पालिका अधिवेशन र प्रदेश अधिवेशन गरेर क्रमशः राष्ट्रिय महाधिवेशनको बाटो खुलाएका छौँ ।’
दुरदराजको गाउँमा बसेका कार्यकर्ताहरूले केन्द्रले भावनामा बगेर गरेको निर्णयले वास्तवमै कार्यक्षेत्रमा के कति व्यहारिक रुप लिन सक्ने हो भन्ने कसी लगाउन बाँकी छ भन्ने प्रतिक्रिया दिएका छन् ।
प्रकाशित मिति २०८० मंसिर २८, बिहीबार १८:२५ गते