दुराडाँडा(लमजुङ)– लमजुङमा पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको अन्तिम नतिजा आउने क्रम जारी छ । सुन्दरबजार नगरपालिकाले सञ्चालन गरेको पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भक्ति नमुना माध्यमिक विद्यालय भोटेओडारले जीत हासिल गरेको छ । योसंगै भक्ति नमुना लगातार चौथो पटक पुस २ गते विजयी भएको हो ।
नगरपालिकाको शिक्षा शाखाको आयोजना तथा लमजुङको ऐतिहासिक थलो दुराडाँडा स्थित सर्वोदय माध्यमिक विद्यालयको व्यवस्थापनमा सो प्रतियोगिता मंसिर २९ गते सुरु भएको थियो । प्रतियोगितामा १३ स्वर्ण ८ रजत २ कास्य गरीक कुल २३ पदकसहित भक्तिनमूना माध्यामिक विद्यालय भोटेओडार बिजेता बनेको आयोजकले जनाएको छ ।
विद्याज्योति माध्यामिक विद्यालय खहरे ५ स्वर्ण ५ रजत ८ कास्य समेत १६ पदकसहित दोस्रो भएको छ । त्यस्तै फ्युचर स्टार आवासीय माध्यमिक विद्यालय सिउडिबार ५ स्वर्ण ३ रजत ८ कास्य गरी १६ पदक सहित तेस्रो तथा आदर्श बाल मा.वि. ५ स्वर्ण ३ रजत ६ कास्य समेत १४ पदक सहित सान्त्वना स्थान हासिल गरेको नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख ठाकुरजी तिवारिले जानकारी दिनुभयो । उहाँका अनुसार छात्र भलिवल प्रतियोगितातर्फ फ्युचर स्टार आवासीय मावि पहिलो, व्यवस्थापन गर्ने सर्वोदय माध्यमिक विद्यालय दोस्रो भए । छात्रा भलिवल प्रतियोगितातर्फ भक्ति नमुना माध्यामिक विद्यालय पहिलो, शान्ति माध्यमिक विद्यालय कुन्छा दोस्रो भएका हुन् ।
समापन कार्यक्रममा सुन्दरबजारका मेयर कृष्णप्रसाद कोइराला, राष्ट्रिय भूमि आयोग जिल्ला समिति अध्यक्ष दामोदर अधिकारी, प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल, प्रशासन शाखा प्रमुख विवेककुमार पण्डित, शिक्षा शाखा प्रमुख ठाकुरजी तिवारीले संयुक्त रुपमा पुरस्कार वितरण गर्नु भएको हो ।
बिजेता खेलाडीहरूलाई पदक र सम्मान पत्र सहित प्रति पदक बिजेता स्वर्णलाई नगद एक हजार ५ सयरुपैयाँ रजत पदक बिजेतालाई नगद एक हजार र कास्य पदक बिजेतालाई नगद पाँच सय रुपैयाँका दरले प्रदान गरिएको सर्वोदय माध्यमिक बिध्यालयका प्रधानाध्यापक नरेशकान्त अधिकारीले बताउनु भयो । उहाँका अनुसार पदक अघिल्ला संस्करणहरूमा खेलाडीलाई पदक र प्रमाण पत्र मात्रै वितरण हुन्थ्यो । नगरपालिकास्तरीय यो प्रतियोगितामा नगद पुरस्कार प्रदान गरेको यो पहिलो पटक हो । सो अवसरमा विभिन्न विद्यालयका प्र.अ.हरू, शिक्षकहरू, विभिन्न विद्यालयका व्यवस्थापन समितिका सदस्यहरू, वडा सदस्यहरू र विद्यार्थीको सहभागिता रहेको थियो ।
‘रनिङ शिल्ड प्रतियोगितामा एथ्लेटिक्स तर्फ १ सय, २ सय, ४ सय, ८ सय, १५ सय र ३ हजार मिटर छात्रछात्रा दौड, १ सय गुणान ४ र ४ सय गुणान ४ छात्रछात्रा रिले दौड, सटफुट, लङजम्प, त्रिपलजम्प, हाइजम्प, ज्याबलिङ थ्रो, छात्र छात्रा कराँते, छात्र छात्रा भलिबल लगायतका ४० विधाका खेलमा प्रतिस्पर्धा गराइएको थियो ।’ खेलको व्यवस्थापन गर्ने विद्यालयका प्रअ अधिकारीले जानकारी दिनुभयो ।
प्रतियोगितामा सुन्दरबजार नगरपालिका भित्रका १६ माध्यामिक विद्यालयका छात्रछात्रा सहभागी भएका शिक्षा युवा तथा खेलकुद शाखाका रविन्द्र पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा पहिलो र दोस्रो हुने विद्यालय तथा विद्यार्थीहरूलाई आउँदो पुसको पहिलो साता क्व्होलासोथार गाउँपालिका– ३ को घलेगाउँमा सञ्चालन हुने जिल्लास्तरीय रनिङ शिल्ड प्रतियोगितामा भाग लिन पठाइने भएको छ ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा नक्कली खेलाडीको विगविगी जारी :
सुन्दरबजारको नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा नक्कली खेलाडीको विगविगी हुनु सामान्य बन्न थालेको छ । सो क्रमले यो वर्ष पनि निरन्तरता पाएसँगै त्यस्तो प्रत्याभूति भएको हो ।
तीन हजार मिटरको छात्र दौडमा आदर्शवाल माविबाट सहभागी खेलाडीले प्रतियोगितामा विजय हासिल गरीसकेपछि विद्यार्थीको वैधानिकता माथि आशंका गरियो । त्यसबारेमा विद्याज्योति माविले उजुरी गर्यो । छानविनका क्रममा उनी सो विद्यलयको नक्कली विद्यार्थी भएको प्रमाणित गरियो । यो एक प्रतिनिधि मुलक घटना भएको र शिल्ड जित्ने नाममा यस्ता धेरै घटनाहरू भएको नाम नखुलाउने सर्तमा एक माविका प्रधानाध्यापक र केही शिक्षकहरूले अन्तरङ्गलाई बताएका छन् । यस्ता कार्यले प्रतियोगितामा स्वस्थ्य प्रतिस्पर्धा एवम् निष्पक्षतामा आशंका बढेको मात्र छैन प्रतियोगितामा सहभागी कलिला बालमस्तिष्कमा कस्तो छाप पर्ला ?
यस वर्ष पनि विगतकै गतिविधि दोहारिएपछि गत बर्ष सो प्रतियोगिताको व्यवस्थापन गरेको सौभाग्यसदन माध्यमिक विद्यालयमा प्रधानाध्यापक तिर्थ ढकाल लगायत शिक्षक, विव्यस पदाधिकारी र अभिभावकसंग सम्पर्क गर्दा सो विद्यालयका प्रधानाध्यापक लगायतको सबैको भनाई एकै रह्यो, ‘हाम्रो पालामा आयोजना गर्दा सम्पूर्ण खेलहरूमा पारिश्रमिक दिने गरी रेफ्रि झिकाई सञ्चालन गरिएको र सक्दो निष्पक्ष गरिएको थियो ।’ यो वर्ष खेल निष्पक्ष नभएका कारणले आफूले २ स्वर्ण गुमाउन परेको सौभाग्यसदन मावि धुसेनीको दावी छ । छात्रा दौडमा नजिता टिपोट गरिसकेपछि खेल शुरु हुन भन्दा अगाडि जानकारी नगराएपछि नियम भनि आफूले हातपारेको स्वर्ण अर्काको पोल्टामा गएको सो माविले गुनासो गरेको छ ।
यस बर्ष नगरपालिकाले प्र.अ. र खेल शिक्षकहरूको बैठक बसाई पालिका भित्र रहेका खेल शिक्षकहरूको र केही स्थानिय खेलप्रेमिको टिम बनाएर खेल सञ्चालन गर्ने निर्णय गरेको रहेछ ।
अघिल्लो दिनसम्म तिनै विद्यार्थीहरूलाई प्रशिक्षण गराईरहने शिक्षक भोलिपल्ट रेफ्रिको भूमिकामा रहँदा नजिता तलमाथि भएको नगरपालिकाका पश्चिमतर्फ अवस्थित विद्यालय र खेल प्रेमि अभिभावकको दावी छ । रेफ्रिले सिठ्ठी फुकेर खेल शुरु भएको जानकारी दिने र नियम हेर्न भन्दा आफ्ना खेलाडीको समर्थन गर्दै बिच बिच मैदानसम्म पुग्ने गरेको प्रत्यक्षदर्शी अभिभावकले बताएका छन ।
खेलहरूमा टाईम र हिट एकैनास नभएको एकै खेलको केही समुहलाई हिट र केही समुहलाई टाईमबाट खेल खेलाई खेलप्रतिभा माथि राजनीति गरेको प्रतक्षदर्शीहरूले अन्तरङ्गलाई बताए ।
नक्कली खेलाडीका बारेमा नगरपालिकाको शिक्षा शाखाका प्रमुख तिवारीसँग सम्पर्कको पटक पटक प्रयास गर्दा पनि सफल भएन ।
प्रकाशित मिति २०८० पुष ३, मंगलवार ०७:३४ गते