तार्कुघाट(लमजुङ)– लमजुङको राइनास नगरपालिका– ८ मा रहेका वीरभक्ति माध्यमिक विद्यालयले ५६औँ वार्षिकोत्सव तथा ५० औँ अभिभावक दिवस मनाएको छ । राइनास नगरपालिकाका नगर प्रमुख खड्गबहादुर गुरुङको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा लोकदोहोरीका वादशाह राजु परियारबाट भव्य साङ्गीतिक प्रस्तुति पुस ३ गते रह्यो ।
प्रमुख अतिथि गुरुङले पछिल्लो समयमा सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण निकै बढ्दै गएको बताउँदै सामुदायिक विद्यालयमा राजनीतिक प्रतिसोध साध्न कार्य गर्न नहुने बताउनु भएको छ । उहाँले विद्यालयलाई विशुद्ध शैक्षिक मन्दिरको रुपमा विकास गर्नु पर्ने र त्यसका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा लोकदोहारीका वादशाह राजु परियारले सांगीतिक प्रस्तुति दिनुभएको थियो । उहाँले राइनासकोटको भिर, पहिलो माया, अन्धो समाज, दुराडाँडे दाइ, कोदो रोप्दा लाएको पिरति ….. लगायतको गीत गाँउदा उपस्थित दर्शकहरू गीतमा रमेका थिए ।
सो अवसरमा विद्यालयका प्रधानध्यापक नुरमहमद मियाले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले विद्यालयमा हाल ४७५ जना विद्यार्थी अध्यानरत रहेका बताउनु भएको छ ।
तेस्तै २०७९को साउनदेखि २०८० असार मसान्तसम्मको र २०८० साउनदेखि हालसम्मको आय÷व्यय विद्यालयका लेखापाल जिवनकुमार श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो । उहाँले दुई करोड २७ लाख ६२हजार ४५७ रुपैयाको आम्दानी खर्च विवरण सुनाउँदै विद्यालयको आन्तरिक आम्दानी ३२ लाख ३६ हजार ४५५ रुपैयाँ रहेको जानकारी दिनुभयो ।
सो अवसरमा विद्यालयका अक्षयकोषदाताहरू निर्मला जोशी कडरिया, बुद्धिमान गन्धर्व, डम्बरबहादुर थापा, त्यस्तै अभिभावकको तर्फबाट सिर्जना श्रेष्ठ गुरुङ, सरस्वती पाण्डे, समिना मियाँ र विद्यालयमा अध्यापनरत शिक्षकहरूबाट प्रदिप अधिकारी र बाबुराम गुरुङलाई सम्मान गरिएको विद्यालयका प्रअ नुरमोहमद मियाले बताउनु भयो । उहाँका अनुसार जम्मा छ वटा अक्षयकोष रकम कुल सात लाख ४७ हजार २२२ रुपैया रहेको छ । उहाँले भन्नुभयो, ‘सबैभन्दा धेरै अक्षयकोष एक लाख ११ हजार १११ का दुई वटा, एक लाख ११ हजार र एकलाख १० हजार रुपैयाँको १÷१ वटा र अन्यमा दुई वटा एक लाख दुई हजार र एउटा एक लाख रुपैया रकम बराबरका रहेका छन् ।’
राइनास नगरपालिकाका उपप्रमुख पुष्पराज खनाल, राइनास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेल, निवर्तमान मेयर सिंहबहादुर थापा, सामाजिक विकास समितिका अध्यक्ष बलाराम पराजुली लगायत विभिन्न स्थानीय राजनितिक दलका प्रमुख एवम् प्रतिनिधि, विद्यालयका शिक्षक तथा अविभावकहरूको उपस्तिथि रहेको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वैकुण्ठ गुरुङको अध्यक्षतामा भएको बार्षिकोत्सव समारोहमा विद्यार्थीहरूकोतर्फबाट युहाना मियाले स्वागत तथा हविद्यालयका शिक्षक सिताराम अधिकारीले सञ्चालन गर्नु भएको थियो ।

प्रकाशित मिति २०८० पुष ४, बुधबार १४:१६ गते