धमिलिकुवा(लमजुङ)– लमजुङको राइनास नगरपालिकामा आगामी माघ १ गतेदेखि तेस्रो राइनास कप खुल्ला फुटवल प्रतियोगिता सञ्चालनको तयारी थालिएको छ । आयोजक गौलीटार क्षेत्रीय खेलमैदान समितिले सोही नगरगपालिका– ६ को धमिलिकुवामा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी त्यस बारेमा पुस ३ गते जानकारी गारएको हो ।
आयोजक समितिले राइनास नगरपालिका भित्र एकमात्र ११ एसाईड खेल खेलाउने जनाएको छ । प्रतियोगिताको तेस्रो संस्करणमा समितिले पुरस्कार राशी बढाएर पहिलो हुने टिमका लागि ३ लाख रुपैयाँ पुर्याएको समितिका अध्यक्ष किरण श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार यस वर्ष गतवर्षको पुरस्कारमा १ लाख रुपैयाँ थप गरेर तेस्रो राइनास कप खुल्ल फुटवल प्रतियोगिताको प्रथम पुरस्कार ३ लाख रुपैयाँ लमजुङ पुर्याइएको हो । उहाँले भन्नुभयो, ‘गतवर्ष दोस्रो पुरस्कार १ लाख रुपैयाँ राखिएकोमा यसवर्ष ५० हजार बढाएर १ लाख ५० हजार रुपैयाँ पुर्याईएको छ ।’
सान्त्वना पुरस्कारबापत सेमीफाइनल पराजित २ टीमलाई गतवर्ष २०–२० हजार रुपैयाँ दिइएकोमा यसवर्ष दोब्बर बढाएर ३०– ३० हजार रुपैयाँ पुर्याएको उहाँको भनाइ छ । प्रतियोगितामा सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई नगद ७ हजार ५ सय रुपैयाँ दिइने भएको आयोजक समितिका अध्यक्ष श्रेष्ठले बताउनु भयो । यसैगरी, समितिका सचिव सिताराम पाण्डेले टिम दर्ता शुल्क १० हजार रुपैयाँ प्लस २ हजार रुपैया राखिएको बताउनुभयो । उहाँका अनुसार टिमदर्ता पुस २९ गते साँझ ५ बजेसम्मलाई तोकिएको छ ।
गौलीटार क्षेत्रीय खेलमैदान समितिको सचिवालय धमिलिकुवामा टीम दर्ता गर्न सकिने उहाँको भनाइ छ । जिल्लामा फुटबल खेलको विकास र प्रबर्धन गरी व्यवसायिकरण गर्ने र उच्चस्तरीय फुटबल प्रतियोगिता सञ्चालन गर्ने उद्देश्यले यसवर्ष पुरस्कार राशी वृद्धि गरिएको आयोजकले जनाएको छ ।
पत्रकार भेटघाट कार्यक्रममा राइनास नगरपालिका– ६ का वडाध्यक्ष गोबिन्द चिलुवालले यस बर्षबाट नगरपालिकाको बार्षिक कार्यक्रम अन्तर्गत राइनास कपलाई आठ लाख नियमित बिनियोजन गरिने नीतिगत निर्णय भएको जानकारी दिनु भयो । उहाँका अनुसार राइनास नगरपालिका भित्रका १० वटै वडाका जनप्रतिनिधिहरूलाई समितिको आजीवन सदस्य बनाउने अभियानमा रहेको पनि उल्लेख गर्नु भयो । यो खेल मैदान र खेल धमिलिकुवाको मात्र नभई राइनास नगरपालिकाकै महत्वपूर्ण अभियान रहेको उहाँले बताउनुभयो ।
प्रतियोगितामा १६ देखि २० टिम सहभागी हुने अपेक्षा राखिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिता सञ्चालनका लागि १७ लाख २२ हजार ५ सय रुपैयाँ खर्च अनुमानित गरिएको छ ।
जिल्लामा फुटबल खेलको विकास र प्रबर्धन गरी व्यवसायिकरण गर्ने र उच्चस्तरीय फुटबल प्रतियोगिता सञ्चालन गर्ने कार्यक्रमको उद्देश्य रहेको छ । ओझेलमा परेका प्रतिभाशाली खेलाडीहरूको प्रतिभा उजागर गर्ने, अन्तर पालिका समन्वय बिस्तार गर्ने, खेलाडीलाई राष्ट्रियस्तरमा खेल्ने क्षमताको विकास गर्ने, जिल्लाको खेलाडीहरूलाई राष्ट्रिय खेलाडीहरूसँग खेल खेल्ने वातावरण सिर्जना गरी अनुभव बटुल्ने अवसर प्रदान गर्ने, खेल पर्यटनको विकासका लागि आधार तयार गर्नुका साथै जिल्लाको व्यापार व्यवसायमा प्रवद्र्धनमा सहयोग गर्ने उद्देश्य रहेको समितिको भनाइ छ ।
यसैगरी नेपालीको महान चाड माघेसक्रान्तिलाई मध्यनजर गरी विविध सांस्कृतिक कार्यक्रम सहित खेल उदघाटन गर्ने तयारी थालिएको छ ।
खेललाई मर्यादित र सफल बनाउन आयोजक समितिका अध्यक्ष किरण श्रेष्ठको संयोजकत्वमा १०१ सदस्यीय मुल आयोजक समिति र विभिन्न ६ वटा उप समिति गठन गरिएको पत्रकार भेटघाटमा समितिका सचिव सिताराम पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार उप समिति र संयोजकहरूमा क्रमशः आर्थिक संकलन तथा सहयोगमा कोषाध्यक्ष वेदप्रकाश भुजेल, प्रचार प्रसार सचिवमा सिताराम पाण्डे, मञ्च तथा खेलमैदान व्यवस्थापनमा रबिन पाण्डे, स्वंयम सेबक परिचालनमा गणेश गुरुङ चयन हुनुभएको छ ।
यसैगरी, अतिथि सत्कार तथा सम्मान उप समितिमा कार्यपालिका सदस्य सोचना लौडारीको संयोजकत्व रहेको छ भने खेलाडी छनौट उप समितिमा र सरोज तामाङको संयोजकत्व रहेको छ ।
पत्रकार भेटघाटका अवसरमा नेपाली काङ्ग्रेस राइनास सभापति श्रीकृष्ण पौडेलले राइनास खुला फुटबल प्रतियोगिताको माध्यमबाट राइनास भित्र ओझेलमा परेर रहेका खेलाडीलाई प्रोत्साहन गर्ने र राइनासको पहिचान बनाउने अभियानमा समिति लागि परेको बताउनुभयो । क्षेत्रीय खेलमैदानको संरक्षण र प्रबर्धन गर्नेमा राइनास नगरपालिकाले अपनत्व लिनुपर्ने र प्रदेश र संघ सरकारलाई घचघच्याएर प्याराफिट बनाउनु पर्नेमा समितिले जोड दिनु पर्नेमा उहाँको जोड थियो ।
सो अवसरमा उद्योग बाणिज्य संघ राइनास ईकाई अध्यक्ष आनन्द श्रेष्ठ, उपाध्यक्ष प्रकाश थपलिया, निवर्तमान कार्यपालिका सदस्य अर्जुन भुजेल लगायतको उपस्थिति थियो ।
प्रकाशित मिति २०८० पुष ४, बुधबार १५:२१ गते