लमजुङको राइनासमा राइनासकोट भर्टिकल दौड सञ्चालन तयारी

लमजुङको राइनासमा राइनासकोट भर्टिकल दौड सञ्चालन तयारी

विराट न्यौपाने/अन्तरङ्ग

@antaranganews

२०८० पुस ४ गते बुधबार ११:०३


प्रतियोगिताका धावकहरूले विश्व प्रख्यात अल्ट्रा धावक मिरा राईसँगै राइनास नगरपालिका– ८ मा रहेको सर्वोदय सेवाश्रम धर्मनाथधामबाट राइनासकोटसम्मको १७ सय ५० मिटरको दुरीको उकालो र पुरानोबाटो दौडिनु पर्ने गरी स्थान निर्धारण गरिएको छ ।

राइनासकोटको पर्यटन पवद्धनमा टेवा पुग्ने विश्वास

राइनासकोट(लमजुङ)– लमजुङको राइनास नगरपालिका– ९ को राइनासकोटमा भर्टिकल दौड सञ्चालनको तयारी गरिएको छ । इपिक हिमालय एडभेन्चर ट्रेक र विश्व प्रख्यात अल्ट्रा धावक मिरा राईको संयुक्त आयोजनामा सो प्रतियोगिताको तयारी थालिएको पुस ४ गते बताइएको हो ।
सो प्रतियोगिता राइनास नगरपालिका र मिड हिल एग्रो फार्म पालुङटारको सहयोगमा दौड प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।
यही पुस १५ गते तमु ल्होसारका दिन ‘दौड प्रतियोगिता’ हुने आयोजकको भनाइ छ । राइनासकोटको पर्यटनको विकाश, प्रचारप्रसार तथा महिला सशक्तिकरणका लागि थप टेवा पुर्याउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बताइएको छ ।
तमु ल्होसारको बिशेष दिनमा सञ्चालन हुन गइरहेको ‘राइनासकोट भर्टिकल दौड’मा भाग लिन सम्पूर्ण धावकहरूमा आयोजकबाट अनुरोध गरिएको छ ।
आयोजकका अनुसार प्रतियोगिताका धावकहरूले विश्व प्रख्यात अल्ट्रा धावक मिरा राईसँगै राइनास नगरपालिका– ८ मा रहेको सर्वोदय सेवाश्रम धर्मनाथधामबाट राइनासकोटसम्मको १७ सय ५० मिटरको दुरीको उकालो र पुरानोबाटो दौडिनु पर्ने गरी स्थान निर्धारण गरिएको छ ।
दौडमा पहिलो हुने धावकलाई २५ हजार, दोस्रोलाई १५ हजार र तेस्रो हुने धावकलाई १० हजार, मेडल, प्रमाण पत्र र टिसर्ट प्रदान गरिने आयोजक मिरा राईको भनाइ छ ।
उहाँका अनुसार अन्य सहभागी धावकलाई टिसर्ट र प्रमाणपत्र प्रदान गरिने छ ।

प्रकाशित मिति २०८० पुष ४, बुधबार २३:०३ गते
हजुरको प्रतिक्रिया