पोखरा– नेपाली कांग्रेस सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पत्रकारिता र देश दुवै क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको टिप्पणी गर्नु भएको छ । सभापति देउवाले जिम्मेवार पत्रकारिता जरुरी भएकोमा जोड दिनु भएको छ । पूर्वसांसद एवं उद्योगी सूर्यबहादुर केसीको स्मृतिमा स्थापना गरिएको ‘कीर्ति स्मृति पत्रकारिता वृत्ति सम्मान’ अर्पण समारोहमा उहाँले खराब समाचार संचारमाध्यमका लागि राम्रो समाचार हुने पुस ४ गते बताउनु भएको हो ।
उहाँले भन्नुभयो, ‘रचनात्मक र आलोचनात्मक पत्रकारिता जरुरी छ । पत्रकारिता र देश दुवै सुधारको दिशामा जानुपर्छ भन्दै ‘नो न्युज इज गुड न्युज’ भन्ने पत्रकारिताको पुरानो भनाइलाई परिवर्तन गर्न र परिवेश अनुसार भूमिका निर्वाह गर्नु पर्छ ।’
पूर्वप्रधानमन्त्री समेत रहनु भएका देउवाले सञ्चारमाध्यममा खराब समाचार मात्र चल्ने गरेको बताउँदै भन्नुभयो, ‘नो न्युज इज गुड न्युज’ भन्ने भनाइ छ तर हामी त्यसो नगरौँ । रचनात्मक र आलोचनात्मक पत्रकारिता जरुरी छ । ‘पत्रकारिता र देश दुवै सुधारको दिशामा जानुपर्छ,’ सभापति देउवाले भन्नुभयो ।
बेलायतमा पढ्न बस्दा आफूहरूले नेपालमा प्रजातन्त्रका लागि जुलुस निकाल्दा बिबिसीका पत्रकार आउन नमानेको उहाँले स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, ‘म बेलायतमा पढ्दै थिएँ, नेपाल एम्बेसीमा जुलुस निकाल्छौं आइदेउ भनेर बिबिसीलाई भनेको थिएँ, बम पड्काउने भए मात्र आउँछु नत्र आउँदिनँ, कहाँ कहाँ जान साध्य हुन्छ भन्यो ।’
प्राप्त गर्नेहरूमा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष पत्रकार डा. सुरेश आचार्य, कास्की शाखाका पूर्वअध्यक्ष प्रेस स्वतन्त्र सेनानी माधव शर्मा र कृष्णप्रसाद बास्तोला हुनुहुन्छ । यो पुरस्कार पूर्वसांसद तथा उद्योगपति सूर्यबहादुर केसीको स्मृतिमा उहाँका परिवारबाट स्थापित भएको हो । समारोहमा नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री देउवा, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, नेपाल पत्रकार महासङ्घ कास्की अध्यक्ष विमला भण्डारी लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।
महासङ्घले २०७७ को कीर्ति स्मृति पत्रकारिता वृत्ति सम्मानबाट नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष डा. सुरेश आचार्य, २०७८ बाट माधव शर्मा र २०७९ बाट कृष्णप्रसाद बास्तोलालाई सम्मान गरेको हो । पुरस्कार राशि एक लाख ११ हजार एक सय एघार रुपैयाँ र सम्मानपत्र छ ।
पुरस्कार अर्पणपछि सम्बोधनको क्रममा देउवाले नेपालमा अन्य क्षेत्रमा जस्तै पत्रकारिता क्षेत्र पनि सुधारको दिशामा अघि बढेको उल्लेख गर्नु भयो । उहाँले भन्नुभयो, ‘हाम्रो देशमा पत्रकारिता होस या अरू विकास, सुधारको दिशामा छ, अझ अगाडि बढाउनुछ, जिम्मेवार पत्रकारिताको धेरै अर्थ छ हेर्नुस् ।’
सूर्यबहादुर केसीलाई आफूले संसदमा चिनेको भन्दै देउवाले नेपाली कांग्रेसमा प्रवेश गरेपछि आफू केसीको घरमा जाने गरेको स्मरण गर्नु भयो । उहाँको स्मृतिमा परिवारले नेपाल पत्रकार महासंघ कास्की शाखाले व्यवस्थापन गर्ने गरी पत्रकारिता सम्मान स्थापना गर्नु भएको थियो ।
कार्यक्रममा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पत्रकारिता क्षेत्रमा नियमन जरुरी देखिएको उल्लेख गर्दै प्रदेशले आमसञ्चार विधेयक आगामी अधिवेशनबाट पारित गर्ने प्रतिबद्धता गर्नुभयो । उहाँले भन्नुभयो, ‘पत्रकारितामा छाडातन्त्र छ, गण्डकी प्रदेश सरकार प्रेस स्वतन्त्रता प्रति प्रतिबद्ध छ, तर स्वतन्त्रताका नाममा पत्रकारितामा छाडातन्त्र स्वीकार्न सकिदैन, यसलाई नियमन जरुरी छ ।’
गण्डकीका सामाजिक विकास मन्त्री सुशीला सिम्खडाले पत्रकारितालाई व्यवस्थित र व्यावसायिक बनाउन ऐन, नियम निर्माण र कार्यान्वयनमा ध्यान केन्द्रित गर्नुपर्ने उल्लेख गर्नुभएको थियो ।
सो अवसरमा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष डा. सुरेश आचार्यले मिसन पत्रकारिता हुँदै व्यावसायिक हुने दिशामा अघि बढेको नेपाली पत्रकारितालाई अघि बढाउन ऐन चाँडै निर्माण हुनुपर्ने विचार राख्नुभयो। सामाजिक सञ्जाल र मूलधारका सञ्चार माध्यमबिच फरक हुनुपर्ने र कानुनले फरक रूपमा नियमन गर्नुपर्ने उहाँको सुझाव छ ।
समारोहमा पुरस्कृत व्यक्तित्व माधव शर्मा र कृष्णप्रसाद बास्तोलाले नेपालको पत्रकारिता क्षेत्रमा देखिएका समस्या र समाधानका उपायहरूबारे आफ्ना धारणा राख्र्नुभयो ।
नेपाल पत्रकार महासङ्घ कास्की अध्यक्ष विमला भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल, पुरस्कार छनोट समिति २०७७ संयोजक पुण्य पौडेल, छनोट समिति २०७८ संयोजक बद्रिविनोद प्रतीक, महासङ्घ कास्की उपाध्यक्ष रामप्रसाद तिमिल्सिना, सचिव माधव बराल लगायतले मन्तव्य राख्नुभएको थियो ।
यसअघि यो पुरस्कार पत्रकार युवराज घिमिरे, नारायण कार्की, किशोर नेपाल र बद्रिविनोद प्रतीकलाई प्रदान गरिएको थियो ।
पोखराको हिमश्री फुड्सका संस्थापक केसी २०७७ कार्तिक १७ गते निधन भएको थियो ।
प्रकाशित मिति २०८० पुष ५, बिहीबार ०९:४४ गते