भोटेओडार(लमजुङ)– लमजुङको सुन्दरबजार नगरपालिका–ं ९ स्थित भक्ति नमुना माविले ५७ औँ वार्षिकोत्सव तथा ४९ औँ अभिभावक दिवस मनाएको छ । सुन्दरबजार नगरपालिकाका मेयर कृष्णप्रसाद कोइरालाको प्रमुख आतिथ्यता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानकृष्ण आचार्यको अध्यक्षतामा सो कार्यक्रम पुस ५ गते भएको हो ।
प्रमुख अतिथि कोइरालाले बार्षिकोत्सव समारोहको उदघाटन गर्दै भक्ति नमुना माविमा पछिल्लो समयमा विद्यार्थीको आकर्षण निकै बढ्दै गएकोमा खुशी व्यक्त गर्नु भयो । उहाँले सामुदायिक विद्यालयको शैक्षिकस्तर अझै उकास्न जरुरी रहेको उल्लेख गर्नु भयो । यस विद्यालय स्थापनका लागि महत्वपूर्ण भूमिका खेल्ने अग्रजहरूप्रति सम्मान व्यक्त गर्नु भयो । उहाँले नगरपालिका भित्रको नमूना मा.वि.को रुपमा रहेको यस विद्यालय नेपालकै नमूना हुन सकोस भन्ने शुभकामना व्यक्त गर्नु भयो । आजको आबश्यकता जीवन बदल्ने शिक्षा हो, त्यसतर्फ आफूहरू लागि परेको तर जीवन बदलिने कमाई खाने शिक्षा दिन सकेनौं, सक्दैन कि ! भन्ने चित्ता लागेको मेयर कोइरालाले बताउनु भयो ।
गुणस्तरीय शिक्षाको नाममा विदेशीने धेरै विद्यार्थीहरू छन्, उनीहरूलाई कसरी रोक्न सकिन्छ भन्नेमा आफूहरू लागि परेको उहाँले बताउनुभयो । आमाहरू पहिलो पाठशाला हो उहाँहरूलाई अझै प्रशिक्षित गराउनु आबश्यक रहेको भन्दै शिक्षा कमजोर भयो भने देश कमजोर हुने उहाँले उल्लेख गर्नु भयो । कला संस्कृतिलाई परिवर्तन गर्न जरुरी रहेको र त्यो विद्यार्थीहरूको मार्फत हुनुपर्ने जानकारी गराउँदै गाउँ घरमा पुस्तकालयहरूको स्थापनातर्फ सोच्न जरुरी रहेको उहाँको भनाई थियो । विद्यार्थीहरूमा फेसबुक, टेलिभिजनलाई सही सदुपयोग गर्न अनुरोध गर्दै अभिभावकसंग बसेर भलाकुसरी गरी शिक्षाको तौरतरिका परिवर्तन गर्नु पर्नेमा उहाँले जोड दिनुभयो । यस भक्ति नमुना मा.वि. निरन्तर सही दिशामा हिडे देशबाटै अवलोकन गर्न आउनेको क्रम बढोस भन्ने मेयर कोइरालाले सुभेच्छा व्यक्त गर्नु भएको थियो ।
विद्यालयका प्रधानध्यापक यज्ञराज घिमिरेले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले विद्यालयमा हाल बालविकासदेखि कक्षा ८ सम्म छात्र ७२ र छात्रा ९४ गरी जम्मा १ सय ६६ जना, ९ देखि १२ सम्म छात्रा २६४ र छात्र २०५ गरी जम्मा ४ सय ६९ जना र सिभिल ईन्जिनियरिङ ३ बर्षे कार्यक्रम अन्तर्गत ९१ जना विद्यार्थीहरू अध्ययनरत रहेको जानकरी दिनुभयो ।
उहाँले विद्यालयमा स्थापित छात्रबृत्ती अक्षयकोष ७ जना शिक्षा प्रेमीहरूले नौ लाख २३ हजार बराबरको स्थापना गरेको जानकरी दिनुभयो । त्यस्तै स्वर्णमहोत्सव स्थापना अक्षयकोष २०७५, ४६ जनाले ४४ लाख ७० हजार १३२ बराबरको स्थापना गरेको जानकरी दिनुभयो ।
शिक्षक योद्धा अधिकारीले ८ करोड ९२ लाख ७४ हजार ४ सय ६७ रुपयाँ ३६ पैसा बराबरको आयव्यय प्रस्तुत गर्नुभएको थियो ।
सो अवसरमा विद्यालयलाई मुनलाइट सहकारी संस्था लि. भोटेओडारले २ थान वाटर डिस्पेन्सर सुस्त कक्षामा पढ्ने विद्यार्थीहरूका लागि प्रदान गरेको छ ।
सो अवसरमा रेडियो भोटेओडारका अध्यक्ष एवम् पूर्व शिक्षक हरिप्रसाद अधिकारीले आफ्नो कृति २ थान नमेटिएका डोवहरू पुस्तक विद्यालयको पुस्तकालयलाई प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा सुन्दरबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडल, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख ठाकुरजी तिवारी, नेपाली काँग्रेस नगर सभापति प्रकाश सेढाई, एमालेका नगर अध्यक्ष भिमबहादुर गुरुङ, रेडियो भोटेओडारका अध्यक्ष एवम् पूर्वशिक्षक हरिप्रसाद अधिकारी, शिक्षक संघका जिल्ला अध्यक्ष सुर्यबहादुर के.सी., नेपाल शिक्षक संगठन जिल्ला अध्यक्ष हस्तबहादुर गुरुङ, छिमेकी विद्यालयको तर्फबाट आदर्शबाल माविका प्रअ नवराज के.सी., कार्यक्रममा विद्यालयका पूर्वप्रअ धुवबहादुर कुँवर, भोटेओडार सामुदायिक पुस्तकालयका अध्यक्ष वसन्तराज खनाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
बार्षिकोत्सवका अवसरमा विद्यार्थीहरूले विभिन्न जातजाति, रीतिरिवाज झल्कने नृत्य प्रस्तुत गरेका थिए । कक्षा ११ बिज्ञान संकायकी छात्रा अजिता थापाले आमा शिर्षकको कविता बाचन गरेको थिइन । कक्षा १० मा अध्ययनरत छात्र योकेश मगरको टोलीले मुसुमुसु हासी देउ, चरी म¥यो सिसैको गोलीले लगायका गीतमा कन्सर्ट प्रस्तुत गरेका थिए ।
सो अवसरमा विभिन्न अतिरिक्त क्रियालकलापका विजय विद्यार्थीहरूलाई प्रमाणपत्र तथा उत्कृष्ट विद्यार्थी, उत्कृष्ट शिक्षक, उत्कृष्ट अभिभावक लगायतका विधाहरूमा सम्मान गरिएको विद्यालयका शिक्षक निश्चल ढकालले जानकरी दिनुभयो । उहाँका अनुसार साहायक प्रध्यानाध्यापक ओमबहादुर भुजेलले स्वागत गर्नु भएको कार्यक्रममा कक्षा ९ मा अध्ययनरत छात्रा सोनी अधिकारी र कक्षा १२ मा अध्ययनरत छात्र सृजनबाबु पन्तले समेत स्वागत मन्तब्य राख्नु भएको थियो ।
प्रकाशित मिति २०८० पुष ५, बिहीबार २०:४६ गते