पोखरा– स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लक्षित गर्दै उहाँ आयोजित एक कार्यक्रममा मकैको खोया प्रहार भएको छ । तर यस्ता एक÷दुईवटा आक्रमण र मुद्दाबाट आफू विचलित नहुने रविको उदघोष छ । यहाँको अमरसिंह चोकमा भएको सभामा उहाँउपर मकैको खोया प्रहारपछि लामिछानेले यो अहिलेको नेतृत्वविरुद्ध जनताको वितृष्णाको उपज भएको पुस ७ गते उल्लेख गर्नु भएको हो ।
रविले भन्नुभयो, ‘आज घोका पाइस् तैले यदि बाटो बिराइस् भने के मात्र पाउँछस् कल्पना गर भनेर मलाइ चेतावनी दिइएको हो । मैले यसलाई सकारात्मक रुपमा लिएको छु ।’
गण्डकी प्रदेश कार्यालयको उद्घाटन गर्दै उनले सिद्धान्त र वादको लडाईंले मलामी पाउनका लागि भाडामा मान्छे ल्याउनुपर्ने अवस्था सिर्जना भएको उल्लेख गर्नु भयो । उहाँले देशमा कसैले भविश्य देख्न नसकेको बाहिरिनेक्रम जारी रहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
‘कुनै समय थियो जसले ठूलो स्वरले जिन्दावाद र मूर्दावाद भन्न सक्यो त्यति ठूलो नेता बन्थ्यो । तर अहिले जिन्दावाद र मूर्दावाद युग रहेन । अब कसले राम्रो नीति बनाउन सक्छ, त्यो नेता बन्ने युग आएको छ ।’ उहाँले प्रष्ट्याउनु भयो ।
रविले अघिल्लो पुस्ताले परिवर्तनका लागि रगत बगाएकाले अबको पुस्ताले बदलिदो विश्व परिस्थितिसँग जुध्न सक्ने क्षमतावान मान्छेलाई राजनीतिमा ल्याउने र देशलाई समृद्धितिर लैजाने योजना बनाउनुपर्ने बताउनु भयो । उहाँँले देशको समस्या एकातिर समाधान अर्कातिर दिन खोजेर सफल हुन नसकिने बताउनु भयो ।
भ्रष्टाचारको अन्य नगरेसम्म मुलुकको विकास हुन नसक्ने भन्दै पूर्वउपप्रधान एवम् गृहमन्त्री लामिछानेले भ्रष्टाचारको फाइल खोल्दा एक पानामा आफ्ना मान्छे देखेपछि फाइल बन्द गर्ने सरकारबाट सुशासनको आशा गर्न नसकिने उल्लेख गर्नुभयो ।
खोया प्रहार गर्ने व्यक्ति प्रति टिप्पणी गर्दै यसलाई जनताले दिएको चेतावनी ठानेको बताउनु भयो । मन्तव्य राखिरहेकै बेला खोया मगाएर रविले खोया हान्ने व्यक्तिलाई केही नगर्न आफ्ना कार्यकर्ता र सुरक्षाकर्मीलाई आग्रह गर्नु भयो । उहाँले खोया प्रहार आफूलाई चेतावनी भएको बताउनु भएको छ । उहाँले भन्नुभयो, ‘न मुद्दा, न मामिला उहाँलाई बुझाइदिनु होला । माला लगाएर घर छाडिदिनू होला । देशको पूर्वउपप्रधान तथा गृहमन्त्री भएकाले यो सुरक्षाकर्मी साथीहरूलाई मेरो अनुरोध र निर्देशन पनि भयो । म उहाँको परिवारलाई भेट्न म छुट्टै जानेछु ।’ यो प्रहारको बदलामा एउटा फूल रोपेर जाने बताउँदै भन्नुभयो, ‘मनबाट गल्ती भयो भनेर महसुस हुने गरी काम गरी फेरि यही चोकमा आएर कुरा गर्ने छु ।’ भन्नुभयो ।
लामिछानेले आफूले नबिराएको दाबी गर्दै आत्तिनु पर्ने अवस्था नरहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामी आत्तिएका छैनौँ, अघिल्लो सात जन्मको हिसाब निकाले पनि अनियमितता पत्ता लगाउन सक्दैनन् । जति पटक लडिए पनि उडेर हिँड्छु । एक आक्रमण, मुद्दाबाट पछि हट्ने सुविधा मलाई छैन ।’
आफू आक्रमण, धाक धम्कीबाट नडराई आफ्नो बाटोमा हिँडेको मान्छे भएको तर्क गर्दै उनले एउटै दुःख मान्छेलाई थचक्क बसाल्न पर्याप्त हुने भए पनि आफू त्यसको अपवाद भएको जिकिर गरे । ‘म धेरै दुःख सहँदै आएको मान्छे हो । अब त नयाँ प्रहार पनि सुरु भएको रहेछ । अन्तिम साससम्म पनि जनतासँग गरेको वाचा पूरा गर्न तयार छु,’ रविले सुनाउनु भयो ।
संसारको सबैभन्दा विकसित देशमा भनेको जस्तो जीवन छाडेर देशको अवस्था बदल्न आएको सुनाउँदै रविले राजनीति छाडिसकेपछि आफैँ परिश्रम गरेर खाने र राज्यको सुविधा नलिने वाचा गर्नुभयो । ‘आगो जति दन्किएको होस् त्यहाँ टेक्ने साहस नबोकीकन, काँडा जति तीखो होस् त्यहाँ हिँड्ने हिम्मत नभएर यहाँ हिँडेको होइन । हिम्मत छ, त्यो देखिँदै जाने छ,’ उहाँले भन्नुभयो, ‘जति प्रहार भए पनि कालो सिसाभित्र लुकेर हिँड्ने नेता म होइन । कसैले ढुङ्गा, हिलो फालेर यात्रा बदलिने वाला छैन ।’
रविलाई लक्षित गर्दै लमजुङको राइनास गाउँपालिका स्थायी ठेगाना भएका २८ वर्षीय सन्तोष रानाभाटले मकैको खोया प्रहार गरेका हुन् । तर त्यो प्रहार रविलाई लागेन ।
अर्को एक प्रसङ्गमा उहाँले सहकारी पीडितलाई सम्बोधन गर्न सरकारसँग माग गरे । मिटरब्याज जस्तै सहकारी र लघुवित्त पीडितको मुद्दा सबैभन्दा प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । मित्रमिलन सहकारीको प्रतिवेदन आफूलाई प्राप्त भएको उहाँले जानकारी दिनु भयो ।
प्रकाशित मिति २०८० पुष ७, शनिबार २२:१५ गते