काठमाडौं– अन्ततः अब हामी बीचबाट विदा हुनु भएको छ– स्रष्टा तिलकप्रसाद लुइँटेल । मृगौला सम्बन्धी रोगबाट ग्रसित भएर उपचार गराइरहेकै अवस्थामा शिक्षण अस्पताल, महाराजगञ्जमा पुस २० गते बिहान ७ बजे उहाँले विदा लिनुभएको दुःखद खबर छ । उहाँ ५७ वर्षीय हुनुहुन्थ्यो ।
उहाँका सुपुत्र विभव लुइँटेलले आफ्ना पिता तिलकप्रसाद लुइँटेल दिवङ्गत हुनु भएको जानकारी दिनु भएको हो ।
अनुवादकका रुपमा समेत परिचित लुइँटेल चार वेद लगायत अनेकौं संस्कृत ग्रन्थहरू नेपाली साहित्यमा उहाँले भित्र्याउनु भएको थियो । जो अब हामी बीच रहनु भएन ।
मृगौला सम्बन्धी रोगबाट ग्रसित भएर उपचार गराइरहेकै अवस्थामा शिक्षण अस्पताल, महाराजगञ्जमा लुइँटेल दिवङ्गत हुनु भएको हो । पुस ६ गतेदेखि श्वासप्रश्वास समेत समस्या आएपछि उहाँलाई मनमोहनको आइसियु कक्षमा राखी उपचार गरिएको थियो, जो असफल भएको छ । उहाँको अवस्था सुधार नभएको हिजो मात्र भेन्टीलेटरमा स्थानान्तरण गरिएको थियो । ‘तपाईंहरूको साथ र सहयोगले म यो लडाइँ जित्छु, मसँग अझै दह्रो आत्मबल छ ।’ अस्पताल भर्ना भएका दिनमा पनि भन्नु भएको दुर्गा अधिकारीले सामाजिक सञ्जाल मार्फत दिनु भएको थियो । तर उहाँले हार्नु भएको छ ।
मिर्गौलासम्बन्धी उपचार अत्यन्तै खर्चिलो भएको र परिवारमा आर्थिक संकट आएको हुँदा उहाँलाई उपचारका निम्ति आर्थिक सहयोगको आव्हान गर्दै दुर्गा अधिकारी भमरकोटेको अगुवाइमा सञ्जालमा अभियान सञ्चालन गरिएको थियो । धेरै स्रष्टाहरू र केही साहित्यिक संस्थाहरूले उहाँको स्वास्थ्य लाभको कामना गर्दै यथासक्य आर्थिक सहयोग प्रदान गरेका थिए । जसबाट उहाँको उपचार खर्च जेनतेन चलिरहेको थियो ।
यसैबीच, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्यसचिव प्रा.जगत् उपाध्याय ‘प्रेक्षित’ले सामाजिक सञ्जाल फेसबुकमा अनुवाद साहित्यकार लुइटेलको दुवै मृगौलामा संक्रमण भई त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको जनाउनु भएको छ ।
साहित्यकार तिलकप्रसाद लुइटेलले चारै वेदहरू अनुवाद गर्नु भएको छ । साथै ‘मनुस्मृति’, ‘पन्चतन्त्र’, ‘विदुरनीति’ आदि अनुवाद कीर्तिहरू प्रकाशित छन् ।
उहाँको पशुपति आर्यघाटमा आजै अन्तिम संस्कार गरिाएको छ ।
साहित्यकार प्रतीक ढकालले लुइटेलले २०६३ देखि २०६७ सम्ममा सामवेद, यजुर्वेद र अथर्ववेद समेतको अनुवाद गरेर पुस्तक प्रकाशनमा ल्याइसकेको ढकालले बताउनुभयो ।
लुइँटेलको असामयिक निधनमा अन्तरङ्ग परिवार भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ । साथै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ ।
प्रकाशित मिति २०८० पुष १०, मंगलवार १७:२१ गते