राष्ट्रिय सभा निर्वाचन : कोशी प्रदेशको दुई सिटमा काँग्रेसबाट ७० जनाको दावी

राष्ट्रिय सभा निर्वाचन : कोशी प्रदेशको दुई सिटमा काँग्रेसबाट ७० जनाको दावी

अन्तरङ्ग न्युज

@antaranganews

२०८० पुस ११ गते बुधबार ०७:३८

कांग्रेसको कोशी प्रदेश समितिको बैठकले यस्तो सिफारिस गरेको हो । दलित, अल्पसंख्यक, महिला कोटाबाट नै २२ जना र अन्य कोटाका लागि ४८ जनाको नाम सिफारिस गरेको कांग्रेसका महामन्त्री भूपेन्द्र राईले जानकारी दिनु भएको छ ।

प्रतिनिधि सभामा पराजित सिटौलादेखि सुजातासम्म आकांक्षी

विराटनगर– राष्ट्रिय सभामा रिक्त हुने पदहरूको पूर्ति गर्ने उद्देश्यसाथ निर्वाचन आयोगले निर्वाचनको कार्यतालिका सार्वजनिक गरिसकेको छ । दलहरूलाई चुनाव चिन्ह प्रदान गरी आयोगले पुस १६ गते निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन सातवटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने आयोगले जनाएको छ ।
राष्ट्रिय सभाको सोही निर्वाचनमा कोशी प्रदेशमा दुई सिटमा प्रतिस्पर्धा हुँदैछ । खस आर्य पुरुष र महिलाको १÷१ पदमा निर्वाचन हुनेमा सत्ता गठबन्धनको साझेदार दल काँग्रेसले एक सिट पाउने देखिन्छ । तथापि कांग्रेसले ती दुई पदमा दावी गर्दै ७० जना उम्मेदवारको नाम सिफारिस गरेको बताइन्छ ।
सत्ता गठबन्धनमा भागबण्डा हुँदा एकजना काँग्रेसको र एक जना माओवादीको कोटामा पर्ने बताइरहेको छ । ती पदका लागि हुने निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (माओवादी) केन्द्रले कोशी प्रदेश समितिले सम्भावित उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरेका छन् । यद्यपि काँग्रेसले भने दुई पदका लागि नै त्यतिको संख्यामा उम्मेदवारको नाम सिफारिस गरेको हो ।
बैठकले ७० जना भन्दा बढीको नाम सिफारिस गरेको नेपाली काँग्रेस राष्ट्रियसभा संसदीय दलका नेता समेत रहेका प्रदेश समितिका उपसभापति रमेशजंग रायमाझीले बताउनुभयो । उहाँका अनुसार सिफरिस गरिएका नाउँमा कृष्णप्रसाद सिटौला र सुजाता कोइराला, महेश आचार्य, मिनेन्द्र रिजाल, गुरुराज घिमिरे, उमेशजङ्ग रायमाझी, तारामान गुरुङ, टंक राई, गिरिराज आचार्य, डिला सङ्ग्रौला र रुक्मिणी कोइरालालगायतको नाम रहेको छ ।
चुनावमा पराजय बोकेका नेताहरूलाई राष्ट्रियसभामा लग्न हुँदैन भन्ने आवाज काँग्रेस कै नेताहरूले उठाइरहेका बेला कोशी प्रदेशबाट गत चुनावमा पराजय भएका नेताहरूलाई प्राथमिकता दिइएको बताइन्छ । प्रतिनिधिसभाको निर्वाचनमा कृष्णप्रसाद सिटौला र सुजाता कोइराला पराजित हुनु भएका थियो ।
राष्ट्रियसभा सदस्य निर्वाचनमा आकाङ्क्क्षी लर्को लागेपछि व्यवस्थापन गर्न समस्या भएको भन्दै सोमबार बसेको कांग्रेसको कोशी प्रदेश समितिको बैठकले यस्तो सिफारिस गरेको हो । दलित, अल्पसंख्यक, महिला कोटाबाट नै २२ जना र अन्य कोटाका लागि ४८ जनाको नाम सिफारिस गरेको कांग्रेसका महामन्त्री भूपेन्द्र राईले जानकारी दिनु भएको छ । उहाँका अनुसार हामीले जिल्लाबाट नाम मगाएका थियौँ । राईले भन्नुभयो, ‘जिल्लाबाट सिफारिस भएर आएका नामलाई जस्ताको त्यस्तै पठाएका छौँ ।’
त्यस्तै, माओवादी केन्द्रले महिलातर्फ ७ जना र पुरुषतर्फ ३ जनाको नाम सिफारिस गरेको जनाएको छ । पुरुष कोटामा अजम्बर काङमाङ राई, टंक गिरी र भोगेन्द्र यादवको नाम सिफारिस गरिएको छ भने महिला कोटामा लक्ष्मी न्यौपाने, चम्पा कार्की, लता न्यौपाने, ममता राजवंशी, कृष्णकुमारी राईलगायत रहेको स्रोतको भनाइ छ ।
एमालेले नाम सिफारिस गर्ने विषयमा छलफलको सुरुवात नै नगरेको बताएको छ । एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले भन्नुभयो, ‘राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारको विषयमा अहिले छलफलमा नै हामी प्रवेश गरेका छैनौँ, समय छ, अहिले हतार किन गर्नु ?’
माघ ११ गते बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान कार्य गरिने आयोगले जनाएको छ ।

प्रकाशित मिति २०८० पुष ११, बुधबार ०७:३८ गते
हजुरको प्रतिक्रिया