मर्स्याङ्दी करिडोरको पर्यटकीय सम्भावनाबारे अध्ययन गरिने

मर्स्याङ्दी करिडोरको पर्यटकीय सम्भावनाबारे अध्ययन गरिने

अन्तरङ्ग न्युज

@antaranganews

२०८० पुस १२ गते बिहिबार ११:१४

कोरिडोर क्षेत्रमा युवालाई रोजगारी सिर्जना गर्ने गरी औद्योगिक ग्राम बनाउने लक्ष्यका साथ यसको सम्भाव्यता अध्ययन गर्ने निर्णय गरिएको अन्तरपालिका अध्ययन उपसमिति गठन गरिएको छ ।

सो अभियानमा तनहुँ, गोरखा र लमजुङका ९ पालिका सहभागी हुने भएका छन ।

बन्दीपुर– मर्स्याङ्दी नदीको दायाँ बायाँका स्थानीय तहले मर्स्याङ्दी कोरिडोर क्षेत्रको पर्यटन प्रवद्र्धन र औद्योगिक ग्रामको सम्भाव्यता अध्ययन गर्ने भएका छन् । तनहुँको बन्दीपुरमा बसेको अन्तरपालिका समन्वय बैठकबाट त्यस्तो निर्णय गरिएको हो ।
पर्यटनका माध्ययमबाट युवालाई रोजगारी दिने र ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउन पर्यटन र औद्योगिक ग्रामको सम्भाव्यता अध्ययन गरिन लागेको भानु नगरपालिकाका प्रमुख एवं मर्स्याङ्दी नदी कोरिडोर समन्वय समितिका संयोजक आनन्दराज त्रिपाठीले बताउनुभयो । उहाँका अनुसार तनहुँको बन्दीपुरमा बसेको अन्तरपालिका समन्वय बैठकबाट कोरिडोर क्षेत्रमा युवालाई रोजगारी सिर्जना गर्ने गरी औद्योगिक ग्राम बनाउने लक्ष्यका साथ यसको सम्भाव्यता अध्ययन गर्ने निर्णय गरिएको अन्तरपालिका अध्ययन उपसमिति गठन गरिएको छ ।
उहाँका अनुसार सरकारले एक पालिका एक उद्योग बनाउने लक्ष्य राखेकोमा मर्स्याङ्दी कोरिडोरमा एउटा ठूलो उद्योग सञ्चालनको लागि पनि पहल गरिनेछ । पालिकाबाट निस्कने फोहरमैला अहिले हरेक पालिका आफैं व्यवस्थापन गरिरहेको अवस्थामा फोहरमैलाको उचित ढंगबाट बिसर्जनका लागि यसको दीर्घकालीन व्यवस्थापन समेत गर्ने निर्णय गरिएको छ । कोरिडोरका स्थानीय तहभित्र सिसाजन्य फोहरमैलालाई २ वा सोभन्दा बढी पालिकाको पायक पर्ने उपयुक्त ठाउँ छनोट गरी लगानी साझेदारीको माध्यमबाट व्यवस्थापन गर्ने निर्णय गरिएको संयोजक त्रिपाठीले बताउनुभयो । उहाँका अनुसार कोरिडोर अन्तर्गतका पालिकामा ठूला टारहरू रहेको हुँदा तिनको उपयोग हुने गरी कृषि क्षेत्रमा लगानी बढाएर युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने विषयमा समेत छलफल भएको छ ।
पर्यटकीय सम्भाव्यता अध्ययनको लागि लमजुङको दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीको संयोजकत्वमा मर्स्याङ्दी कोरिडोर पर्यटन उपसमिति गठन गरिएको छ । समितिको सदस्यमा लमजुङकै राइनास नगरपालिकाका प्रमुख खड्कबहादुर गुरुङ र तनहुँको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापा रहनुभएको छ ।
संयोजक अधिकारीले मर्स्याङ्दी कोरिडोरमा पर्यटकीय सम्भावनाको खोजी गरी यसको अध्ययन अनुसन्धान गरिने बताउनुभयो । उहाँका अनुसार अध्ययन अनुसन्धानका क्रममा स्थानीयको सुझाव संकलन गरिने र त्यसपछिपर्यटन प्रवद्र्धनका कार्यक्रमहरू विस्तारै अघि बढाइने छ ।
अधिकारीले भन्नुभयो, ‘मर्स्याङ्दी नदी कोरिडोर समन्वय समितिमा हाल तनहुँको भानु नगरपालिका, बन्दीपुर र आँबुखैरेनी गाउँपालिका, लमजुङको सदरमुकाम रहेको बेसीशहर, सुन्दरबजार र राइनास नगरपालिका तथा दोर्दी गाउँपालिका साथै गोरखाको पालुङटार नगरपालिका समावेश छन् ।’ उहाँका अनुसार अब लमजुङको मर्स्याङ्दी गाउँपालिकालाई पनि सो अभियानमा समावेश गर्ने निर्णय गरिएको र यो समेत गरी ९ वटा स्थानीय तह समितिमा रहने छन् ।
कोरिडोर अन्तर्गतका स्थानीय तहबीच ३÷३ महिनामा संयुक्त बैठक बस्ने समेत निर्णय गरिएको छ । सोही निर्णय अनुसार अर्को बैठक आउँदो फागुन १२ गते बेसीशहर नगरपालिकामा बस्ने निर्णय गरिएको संयोजक अधिकारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति २०८० पुष १२, बिहीबार ११:१४ गते
हजुरको प्रतिक्रिया