बालकुमारी घटनामा घाइते भएका दुई युवाको मृत्यु : सरकारद्वारा छानविन समिति गठन

बालकुमारी घटनामा घाइते भएका दुई युवाको मृत्यु : सरकारद्वारा छानविन समिति गठन

एजेन्सी/अन्तरङ्ग

@antaranganews

२०८० पुस १३ गते शुक्रबार ०८:३४

सीप बिल्डिङमा जान ३५ हजार जनाले आवेदन दिएका थिए । तीमध्ये भाषा परीक्षामा चार हजार ९८ र त्यसपछिको सीप परीक्षणमा तीन हजार ९८९ जना उत्तीर्ण भएका छन् ।

बालकुमारीमा मन्त्रीको गाडी जलाइनु अराजकता हो : प्रवक्ता मन्त्री शर्मा

ललितपुर– बालकुमारी घटनामा घाइते भएका दुई युवाको मृत्यु भएको छ । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएको आक्रोशमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर घाइते भएका अर्का युवा वीरेन्द्र शाहको पनि मृत्यु भएको हो । उनको उपचारका क्रममा पाटन अस्पतालमा पुस १३ गते मृत्यु भएको हो ।
मृत्यु हुनेमा दैलेखका सुजन रावत र डोटीका वीरेन्द्र शाह रहेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले बताउनु भयो । उहाँका अनुसार आन्दोलनको क्रममा घाइते भएकाहरूको उपचारका क्रममा ती दुईको निधन भएको हो ।
रोजगार अनुमति प्रणाली (ईपीएस) आवेदन फाराम भर्न नपाएको भन्दै युवाहरू आन्दोलनमा उत्रिएका हुन् । बिहानैदेखि ग्वार्कोस्थित ईपीएस कार्यालयमा युवाहरू भेला भएर आन्दोलनमा उत्रिएका थिए । उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिन नपाएको भन्दै उनीहरू आन्दोलित भएका हुन् ।
आन्दोलनमा प्रहरीको गोली लागेर घाइते भएका युवा वीरेन्द्र शाहको मृत्यु भएको हो । उनको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो । त्यसपछि ललितपुरको बालकुमारीमा प्रहरीसँग भएको झडपमा २२ वर्षीय सुजन रावतको मृत्यु भएको छ । उनी दैलेखका हुन् ।
प्रहरीका प्रवक्ता कुवेर कडायतले आन्दोलनको क्रममा उनीहरू घाइते भएको र उपचारका क्रममा मृत्यु भएको बताउनु भयो । प्रदर्शनमा उत्रिएका युवाहरूले सडक अवरुद्ध पार्दै सवारीसाधनमा आगजानी गरेका हुन् ।
प्रदर्शनकारीले सो क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडीमा समेत आगजनी गरेका थिए । गाडी रोकेर उनीहरूले शुरुमा हावा खुस्काएका थिए । लगत्तै उनीहरूले गाडीमा आगजनी समेत गरेको प्रत्यक्षदर्शीले बताए ।
सो घटनामा ५० जना भन्दा बढी पक्राउ परेको आन्दोलनकारीको भनाइ छ ।
सुरज पाठकसहित १८ जनालाई आवेदन फाराम भर्न दिन अदालतको आदेश थियो :
ईपीएस कोरिया शाखाले उत्पादनमूलक क्षेत्रका लागि आवेदन आह्वान गरेको थियो । त्यसमा यसअघि सीप बिल्डिङ क्षेत्रका लागि आवेदन दिएकाहरूलाई आवेदन दिन नपाउने भनिएको थियो । तर त्यसको विरोधमा उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।
यो विषयमा उच्च अदालत पाटनमा मुद्दा समेत दर्ता भयो । जसमा सुरज पाठकसहित १८ जनालाई आवेदन फाराम भर्न दिन र सबै प्रक्रियामा सहभागी गराउन अन्तरिम आदेश जारी भएको थियो । अदालतको अन्तरिम आदेश जारी भएपछि ईपीएस कोरिया शाखाले आज फाराम भर्नका लागि कार्यालयमा सम्पर्क गर्न सूचना जारी गरेको थियो । तर १८ जना बाहेकलाई पनि प्रक्रियामा सहभागी गराउनुपर्ने माग राख्दै अन्य युवा पनि आन्दोलनमा उत्रिएका हुन् ।
ईपीएस कोरिया शाखा कार्यालयका निर्देशक गुरूदत्त सुवेदीले अदालतको आदेश अनुसार १८ जनालाई आवेदन फाराम भर्न सहभागी गराएको बताउनु भयो । उहाँका अनुसार अदालतले १८ जनाको हकमा मात्रै आदेश जारी गरेको भन्दै ईपीएस कार्यालयले उनीहरूलाई मात्रै बोलाएको थियो । उहाँले भन्नुभयो, ‘सीप बिल्डिङ क्षेत्रका लागि आवेदन दिएर अनुत्तीर्ण भएका २८ हजार भन्दा बढी छन् ।’
ज्यान गुमाएका २२ वर्षीय सुजन रावतको छातिमा कालो दाग ;
प्रहरीसँगको झडपका क्रममा सुजन सडकमा लडेका थिए । त्यसपछि उनलाई अस्पताल पु¥याइएको थियो । ललितपुरको किष्ट अस्पताल पुर्याए लगत्तै चिकित्सकले उनलाई मृत घोषित गरेको सुजनका भाइ (काकाका छोरा) सर्जन रावतले बताउनु भयो । उहाँका अनुसार सुजनको छातिमा दाग छ तर गोली लागेको निशान भने देखिदैन ।
उनी भाइ सर्जनसँग कलंकीमा बस्दै आएका थिए । उनले यसअघि कक्षा १२ पास गरेर ओभरसियरसमेत पास गरेका थिए ।  मृतक सुजनका एक/एक जना दिदी र भाइ छन् ।
इपिएस परीक्षामा सहभागी नगराएको भन्दै इपिएस कार्यालयअगाडि प्रदर्शन भएको थियो ।
गाडी जलाइनु अराजकता : सञ्चार मन्त्री रेखा शर्मा
यसैबीच, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बालकुमारीमा मन्त्रीको गाडी जलाइनु अराजकता भएको टिप्पणी गर्नु भएको छ । मन्त्रालयमा मन्त्रिपरिषद्ले गरेका निर्णयहरू सार्वजनिक गर्ने क्रममा मन्त्री शर्माले बालकुमारीस्थित भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडी आन्दोलनकारीहरूबाट जलाइनु अराजकता भएको उहाँले टिप्पणी गर्नु भएको हो ।
उहाँले घटनामा मानिसहरूको मृत्युसमेत भएको उल्लेख गर्दै सो घटना गलत र दुःखद् भएको उल्लेख गर्नु भयो । उहाँले यसप्रकारको अराजकतालाई कसैले पनि प्रश्रय दिनु हुँदैन भन्नुभयो ।
उहाँले आफ्ना असन्तुष्टिहरू शान्तिपूर्ण राख्न पाउने सबैको अधिकार भएको भन्दै आफ्ना कुराहरू राख्ने सही बाटो यस्तो नभएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘भौतिक पूर्वाधार मन्त्रीको गाडी जलेको, त्यहाँ वैदेशिक रोजगारमा जानेहरूको आन्दोलन भइरहेको र त्यहाँ मन्त्रीज्यु काम विशेषले त्यो बाटो हिँड्नु हुँदा गाडी जलाइएको भन्ने सुनिएको छ । जे घटना भयो त्यो गलत भयो । त्यो दुःखद् भयो । त्यस्तो गर्नु हुँदैन ।’
उहाँले थप भन्नुभयो, ‘सरकारप्रति असन्तुष्टि व्यक्त गर्न पाइन्छ । तर त्यसको आफ्नो तरिका हुन्छ । जुन ढंगले यो घटना घटाइयो यसमा दुःख व्यक्त गर्न चाहन्छु । यो अराजकता हो । अराजकता फैलाउने, प्रश्रय दिने काम कसैले गर्नुहुँदैन । यो गलत भएको छ । यसमा सम्बन्धित निकायले आवश्यक पहलकदमी लिने नै छ । सरकारले यसमा आवश्यक पहलकदमी लिन्छ ।’
घटनामा मेरो र मेरो मन्त्रालयको कुनै सरोकार र सम्बन्ध छैन : मन्त्री ज्वाला
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बालकुमारी घटनामा आफू र आफ्नो मन्त्रालयको कुनै सरोकार र संलग्नता नरहेको बताउनु भएको छ । एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री ज्वालाले घटनाप्रति दुःख व्यक्त गर्दै नहुनुपर्ने घटना भएको उल्लेख गर्नुभयो ।
मन्त्री ज्वालाले भन्नुभयो, ‘यो घटनामा मेरो र मेरो मन्त्रालयको कुनै सरोकार र सम्बन्ध छैन, बालकुमारी क्षेत्रमा जुन घटना भयो र हाम्रो गाडीमा समेत आगजनी भयो यसमा दुःख व्यक्त गर्छु ।’ उहाँले मानिसको ज्यान जाने र घाइते हुने कुरा अत्यन्त दुःखद रहेको भन्दै घटनाका सम्बन्धमा आफ्नो मन्त्रालयको कुनै साइनो र सम्बन्ध नरहेको जानकारी दिनुभयो ।
मन्त्री ज्वालाले थप भन्नुभयो, ‘गाडी मन्त्रालयमा गइरहेको बेला गाडी रोकियो, हावा खुस्काइयो र जलाइयो । बिना कारण, बिना सम्बन्ध । जो र जसको सरोकार थियो त्यो एउटा विषय होला हाम्रो गाडीमा आगजनी गर्नुपर्ने कारण थिएन, सरकारी सम्पत्तिमा क्षति पु¥याउने खेदजनक छ ।’
बालकुमारी घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त ;
त्यस्तै, नेपाली कांग्रेसले बालकुमारी घटनाप्रति दुःख व्यक्त गरेको छ । कांग्रेसले विज्ञप्ति जारी गर्दै ललितपुरको बालकुमारीस्थित ईपीएस कार्यालय अगाडि भएको प्रदर्शनका क्रममा मन्त्री सवार गाडीमा आगजनी हुनु, तत्पश्चात प्रदर्शनकारीलाई नियन्त्रणमा लिने क्रममा दुईजनाको मृत्यु र केही व्यक्ति घाइते भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले विज्ञप्ति जारी गर्दै बालकुमारीमा इपिएस कार्यालय अगाडि भएको प्रदर्शनका क्रममा दुई जनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्नु भएको हो । उहाँद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘घटनाको सत्य–तथ्य अध्ययन गरी यथार्थ छानबिन गर्नुका साथै घटनामा घाइते भएकाहरूको उचित उपचार गर्न र प्रदर्शनकारीले उठाएको विषयमा गम्भीर बन्न नेपाल सरकारसँग नेपाली कांग्रेस माग गर्दछ ।’
कांग्रेसले विज्ञप्तिमा आफ्ना अधिकारको विषयलाई उठान गर्दा शान्तिपूर्ण, मर्यादित र हिंसारहित उपाय अवलम्वन गर्न प्रदर्शनकारीलाई आग्रह गरेको छ ।
बालकुमारी घटना राज्यले गरेको हत्या हो ; रास्वपा सभापति रवि
उता, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानले आज बालकुमारीमा दुई युवाले ज्यान गुमाएको घटनालाई ‘राज्यले गरेको हत्या’को संज्ञा दिनु भएको छ । उहाँले आफ्नो फेसबुकमा लेख्नु भएको छ, ‘दुई होनहार युवा देश छाड्न खोज्दै थिए, संसार छाड्नु पर्ने बनाइदिए । यो राज्यले गरेको हत्या हो, जुन राज्यका गृहमन्त्री सर्वहारा वर्गको नारा लगाउँदै त्यो पदमा पुगेका हुन् ।’
बालकुमारीमा भएको घटनाले गृह मन्त्रालयको अक्षमता फेरी एकपटक उदाङ्गो भएको उहाँले उल्लेख गर्नु भएको छ । उहाँका अनुसार यो घटनाको दोष अहिलेका सत्तामा भएका सबैले लिनुपर्छ । घटना पश्चात् सामाजिक सञ्जालमा समवेदना लेख्न होडबाजी गर्ने सत्तामा भएका दलका नेताले समस्या समाधान गर्नेतर्फ पनि उतिकै हतार गरेको भए सायद आज यो घटना हुने थिएन होला ।
रोजगारीका लागि कोरिया जान भाषा परीक्षा दिन पाउने कि नपाउने ? भन्ने सामान्य ‘प्राविधिक’ विषयको विवाद बढेर ती दुई नेपालीले ज्यानै गुमाउनु पर्ने स्थिति देख्दा मर्माहत भएको छु रविले उल्लेख गर्नु भएको छ । शोकाकुल परिवार र आफन्तजनमा हार्दिक समवेदना । गएको ज्यानको क्षतिपूर्ति कुनै हालतमा हुँदैन । तर परिवारलाई राहत दिइयोस् । परिवार पाल्न भोको पेट राजधानी आएर विदेश गई श्रम बेच्ने सपना साँचेका युवाका समस्यामा पनि सरकारको ध्यानाकर्षण होस् ।
छानबिन समिति गठन :
यसैगरी, बालकुमारी घटनाको छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक (डीआईजी) लालमणी आचार्यको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनु भयो । उहाँका अनुसार सो समितिमा जिल्ला प्रशासन कार्यालय, ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक बासु सिग्देल सदस्य हुनुहुन्छ ।
अप्रत्याशित रुपमा घटेको उक्त घटनाका सम्बन्धमा छानविन गरी सत्यतथ्य पत्ता लगाउन समितिलाई सात दिनको कार्यादेश दिइएको छ ।
मन्त्रालयले बालकुमारीस्थित ईपीएस कार्यालयमा परीक्षा फारम भर्ने विषयलाई लिएर जम्मा भएका व्यक्तिहरूको प्रदर्शन, अवरोध, तोडफोड, आगजनी तथा आर्थिक, भौतिक एवं मानवीय क्षतिप्रति दुःख व्यक्त गरेको छ । यस अवस्थामा संयमता अपनाइ शान्ति कायम गर्न मन्त्रालयले सम्बन्धित सबैमा अनुरोध समेत गरेको छ ।
३५ हजार जना आवेदकमध्ये भाषा परीक्षामा चार हजार ९८ र सीप परीक्षणमा तीन हजार ९८९ जना उत्तीर्ण :
सीप बिल्डिङमा जान ३५ हजार जनाले आवेदन दिएका थिए । तीमध्ये भाषा परीक्षामा चार हजार ९८ र त्यसपछिको सीप परीक्षणमा तीन हजार ९८९ जना उत्तीर्ण भएका छन् ।
एचआरडी कोरियाले मसिंर १९ गते उत्पादन वा निर्माण क्षेत्रतर्फ कामदार लैजान करिब १६ हजार जनाका लागि विज्ञापन खुलाएको थियो । उक्त विज्ञापनमा पहिले अन्य क्षेत्रतर्फ जान परीक्षामा सहभागी भएकाले दिन नपाउने भनेर कोरियाले नै निर्णय गरेको शाखाले जनाएको छ ।
गत साउनमा सीप बिल्डिङमा जान आवेदन दिएकाहरूले निर्माण क्षेत्रमा जान पाउनुपर्ने भन्दै मसिंर १९ गतेदेखि नै प्रदर्शन गर्न थालेको ईपीएस कोरिया शाखाका निर्देशक सुवेदीको भनाइ छ ।
– एजेन्सीको सहयोगमा ।

प्रकाशित मिति २०८० पुष १३, शुक्रबार २०:३४ गते
हजुरको प्रतिक्रिया