३१ औं त्रिवेणी कप : ठाडाराई अधिकारी समाजलाई गोले र चौधरीको गोलले अघि बढायो

३१ औं त्रिवेणी कप : ठाडाराई अधिकारी समाजलाई गोले र चौधरीको गोलले अघि बढायो

अन्तरङ्ग न्युज

@antaranganews

२०८० पुस १४ गते शनिवार ०९:२४

पुस १६ गतेबाट दोस्रो चरणको प्रतियोगिता हुने । त्रिवेणी युवा क्लवको यो फुटबल प्रतियोगितामा प्रथम पुरस्कारको राशी ८ लाख छ । यो राशी गण्डकी प्रदेशमै दोस्रो ठूलो धनराशीको पुरस्कार हो ।

बेसीशहरमा फुटबलको कुम्भ मेला जारी : दोस्रो दिन ३ खेल सम्पन्न

लमजुङ– जिल्ला सदरमुकाम बेसीशहरको सहजी खेलमैदान त्रिवेणी रंगशालामा ३१ औं त्रिवेणी कप प्रतियोगिता जारी छ । हिजो दोस्रो दिन भएको तेस्रो तथा अन्तिम खेलमा ठाडाराई अधिकारी समाज बेसीशहर– ९ दिहीथोकलाई गोले र चौधरीले गोल गर्दै टोलीलाई अघि बढ्न पुस १३ गते सघाउनु भएको छ ।
ठाडाराई अधिकारी समाज र पेन्गुइन एजुकेशन भरतपुर– २४ बीच भएको खेलामा अधिकारी टिमले एजुकेशनलाई ३– १ गोलले हराएको छ । ठाडाराइ अधिकारी समाजको तर्फबाट सुनिल गोलेले पहिलो हाफको १५ औं मिनेटमा गोल गर्नुभएको थियो । त्यसको केही बेरपछि पहिलो हाफकै २१ औं मिनेटमा गोलेले नै अर्को गोल थप गर्नुभयो । ठाडाराइ अधिकारी समाजकैतर्फबाट अनिल चौधरीले पहिलो हाफको ३२ औं मिनेटमा फेरि गोल थप गर्नुभएको थियो ।
पेन्गुइनका तर्फबाट भने दोस्रो हाफको पहिलो मिनेटमै मनिष गिरीले सान्त्वना गोल गर्न सफल भएको थियो । त्यो टिम त्यसमै सीमित रह्यो र खेलको प्रतिस्पर्धाबाट बाहिरिएको छ ।
जिल्ला सदरमुकाम बेसीशहरमा दोस्रो दिन सञ्चालित प्रतियोगिताको पुस १३ गते ३ खेल सम्पन्न भएका छन् । यो त्रिवेणी कप राष्ट्रव्यापी फुटवल प्रतियोगिताको ३१ औं संस्करण हो ।
त्यस्तै, दोस्रो दिनको पहिलो खेलमा बेसीशहर नगरपालिकाले दोर्दी गाउँपालिकालाई २–० गोल अन्तरले हराएको छ । बेसीशहरकोतर्फबाट धिरज तामाङले पहिलो हाफको ६ मिनेटमै गोल गर्नुभयो । सन्दिप गिरीले दोस्रो हाफको ११ औं मिनेटमा गोल गर्नुभयो ।
यसैगरी, हिजोको दोस्रो खेलमा सामना युवा क्लव तुरतुरेले काष्ठमण्डप रेष्टुरेन्ट एण्ड बार भुइँखेल फुटवल क्लव काठमाडौंलाई १– ० गोलले पराजित गरेको छ । सामनाको तर्फबाट रोशन क्षेत्रीले पहिलो हाफको १७ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुग्यो । आज पहिलो चरणका प्रतियोगिता सकिने छ ।
पुस १६ गतेबाट दोस्रो चरण प्रतिष्पर्धा हुने ;
दोस्रो चरणमा प्रवेश गरेको बेसीशहर नगरपालिका र बेसीशहर युथ सोसाइटीबीच पुस १६ गते प्रतिष्पर्धा हुनेछ । समाना युवा क्लव तुरतुरे र लालीगुराँस युवा क्लब भुजुङबीच पुस १७ गते खेल हुनेछ । ठाडाराई अधिकारी समाज र लाङ्दीदेवी युवा क्लव नाल्माबीच पुस १७ गते नै खेल हुने आयोजक त्रिवेणी युवा क्लवका खेल संयोजक सिजन श्रेष्ठले बताउनुभयो ।
आज पहिलो खेल क्वीन गोर्खाज सिग्नल्स् फुटवल क्लव युके र अभिषेक चर्च रजहरबीच बिहान साँढे ९ बजे हुने आयोजक समितिका अध्यक्ष राजकुमार घिमिरेले जानकारी दिनु भएको छ ।
उहाँका अनुसार क्वीन गोर्खाज र विभागीय टीम नेपाली आर्मीको खेल हुने भएकाले खेल थप रोचक बन्ने र दर्शक पनि बढी आउने क्लवका अध्यक्ष राजकुमार घिमिरेले बताउनुभयो ।
त्यस्तै, आज दोस्रो खेल एलजी एसोसिएसन पोखरा र बाग्मती फुटवल क्लव सर्लाहीबीच दिउँसो साँढे १२ बजे हुनेछ । यसैगरी, अन्तिम खेल विभागीय टीम त्रिभुवन आर्मी र नेपाल भानु युनाइटेडबीच साँढे २ बजे खेल हुने आयोजक त्रिवेणी युवा क्लवका सचिव प्रविन वाग्लेले बताउनुभयो ।
यो प्रतियोगितामा विजयी हुने टीमलाई ८ लाख रुपैयाँ, त्रिवेणी कप, जनही स्वर्णपदक र प्रमाणपत्र प्रदान गरिने भएको छ । उपविजेताले ४ लाख रुपैयाँ, जनही रजतपदक र प्रमाणपत्र पाउनेछन् । सेमीफाइनल पराजित २ टीमलाई १–१ लाख रुपैयाँ मेडल र र प्रमाणपत्र प्रदान गरिने भएको छ । सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई नगद २०– २० हजार रुपैयाँ र प्रमाणपत्र दिइने आयोजक त्रिवेणी युवा क्लवले जनाएको छ । प्रतियोगितामा काठमाडौं, काभ्रे, चितवन, नवलपरासी, तनहुँ, कास्की तथा लमजुङका विभिन्न २१ टिमले भाग लिइरहेका छन् ।
लमजुङमा हरेक वर्ष पुसको दोस्रो सातामा आयोजना फुटबलको कुम्भ मेला लाग्ने गरेको छ । सो प्रतियोगिताको समापन पुस २१ गते हुने कार्यक्रम रहेको छ । यो प्रतियोगितालाई गण्डकी प्रदेशकै प्रतिष्ठित फुटबल प्रतियोगिता मानिन्छ ।

सो प्रतियोतिगाको गण्डकी प्रदेशका सांसद एवम् आयोजक क्लबका पूर्वअध्यक्ष भेषबहादुर पौडेलले उदघाटन गर्नु भएको हो ।
स्मरणीय छ, खेतका गह्रामा बोका र कुखुराको भाले पुरस्कारबाट सुरु भएको यो फुटबल प्रतियोगिता पछिल्लो तीन दशकदेखि निरन्तर जारी रहेको छ । आयोजक त्रिवेणी युवा क्लव बेसीशहरले यस बर्ष पुरस्कार राशीमा भारी बृद्धि गरेको छ । पोखराको सहारा युथ क्लवले आयोजना गर्ने आहा रारा गोल्डकपको पहिलो पुरस्कार १० लाख छ । त्रिवेणी युवा क्लवको यो फुटबल प्रतियोगितामा प्रथम पुरस्कारको राशी ८ लाख छ । यो राशी गण्डकी प्रदेशमै दोस्रो ठूलो धनराशीको पुरस्कार हो ।

प्रकाशित मिति २०८० पुष १४, शनिबार ०९:२४ गते
हजुरको प्रतिक्रिया