योग गुरु एवम् साहित्यकार मनसाग्नीलाई ‘नरकान्त राष्ट्रिय योग पुरस्कार’ सम्मान

योग गुरु एवम् साहित्यकार मनसाग्नीलाई ‘नरकान्त राष्ट्रिय योग पुरस्कार’ सम्मान

अन्तरङ्ग न्युज

@antaranganews

२०८० पुस २३ गते सोमबार ०५:३२

प्रमुख अतिथि डा. शर्माले योगलाई नेपाल सरकारले महत्वका साथ विद्यालय र विश्वविद्यालयहरूमा पढाउनु पर्नेमा जोड दिनुभयो ।

उक्त पुरस्कारको राशि नगद ५० हजार, सम्मान पत्र र दोसल्ला रहेको छ ।

काठमाडौं– योग गुरु एवम् प्राकृतिक स्वास्थ्यका ज्ञाता तथा साहित्यकार डाक्टर हरिप्रसाद पोखरेल (मानसाग्नी) लाई ‘नरकान्त राष्ट्रिय योग पुरस्कार’द्वारा सम्मान गरिएको छ । उक्त पुरस्कार काठमाडौंमा आयोजित एक कार्यक्रममा मनसाग्नीलाई पुस २२ गते प्रदान गरिएको हो ।
शिक्षाविद प्रा.डा.सुरेशराज शर्माले डा. पोखरेललाई प्रदान गर्नुभएको हो । उक्त पुरस्कारको राशि नगद ५० हजार, सम्मान पत्र र दोसल्ला रहेको छ ।
प्रमुख अतिथि डा. शर्माले योग शिक्षामा डा. पोखरेलले अतुलनीय योगदान गरेका कारण संस्थाले अत्यन्तै योग्य व्यक्तिलाई छनोट गरेको बताउनु भयो । उहाँले योगलाई नेपाल सरकारले महत्वका साथ विद्यालय र विश्वविद्यालयहरूमा पढाउनु पर्ने माग गर्नु भयो । उहाँले डा. पोखरेलकै पहलमा नेपालमा योग शिक्षा सुरु भएको डा. शर्माले उल्लेख गर्नुभयो ।
पुरस्कृति व्यक्तित्व डा. पोखरेलले नागरिकलाई नैतिक, सदाचार, सफल अनि असल बनाउनका लागि पनि सरकारले योग शिक्षालाई जोड दिनु पर्ने बताउनुभयो । उहाँले प्राचीन युगमा नेपालबाटै योगको थालनी भएका कारण योग विद्यालाई नेपालले आफ्नो गौरव ठान्नु पर्नेमा जोड दिनुभयो ।
साहित्य र साधनामा मानसाग्नीका नामबाट प्रख्यात उहाँका साहित्य, योग र आचरण लगायत विविध विधाका ३९ वटा पुस्तक प्रकाशित छन् ।
कार्यक्रमको समेत अध्यक्षता गर्नु भएका सेवाश्रमका अध्यक्ष कृष्ण ओलियाले डा. पोखरेलकै प्रेरणबाट आफू जेष्ठ नागरिकको सेवामा लागेको बताउनु भयो । उहाँले डा. मनसाग्नीकै उत्प्रेरणा एवम् सहयोगले सेवाश्रमले जेष्ठ नागरिक र योगका बारेमा लामो समयदेखि काम गर्दै आएको जानकारी दिनुभयो ।
अध्यक्ष ओलिायाले उक्त पुरस्कारका लागि नरकान्त अधिकारीका छोरा रमाकान्त अधिकारी, शारदाकान्त अधिकारी, छोरी बेत्रा अधिकारी केसी दशलाख पच्चीस हजार रुपैयाँको अक्षयकोष सर्वोदय सेवाश्रममा राखिदिनु भएको जानकारी दिनुभयो । लमजुङे धर्ती पुत्र, आदर्श पुरुषका पर्याय एवम् पूर्वप्रशासक नरकान्त अधिकारीका नाममा स्थापित उक्त पुरस्कार पहिलो पटक डा. पोखरेललाई प्रदान गरिएको हो । सर्वोदय सेवाश्रम लमजुङको पहलामा उहाँका परिवारजनबाट स्थापना गरेको हो । ओलियाका अनुसार कोषमा जम्मा भएको रकमको वार्षिक रुपमा प्राप्त हुने ब्याजबाट पुरस्कार प्रदान गरिने छ ।
दुरद्रष्टा श्रीकान्त स्मृति प्रतिष्ठानका अध्यक्ष गायत्री अधिकारीले स्वागत मन्तब्य व्यक्त गर्नु भएको कार्यक्रममा नरकान्त स्मृति ग्रन्थ प्रकाशन समितिका संपादन संयोजक काशीराज आचार्यले स्व. नरकान्त अधिकारी व्यक्तित्व परिचय दिनु भएको थियो ।
यसैगरी, डा. क्षितिज बराकोटीले नरकान्त राष्ट्रिय योग पुरस्कार २०८० प्राप्त व्यक्तित्व डा हरिप्रसाद पोखरेलको परिचय दिनु भएको थियो । उक्त कार्यक्रममा शिरिषनाथ योगि, राष्ट्र गुरु योगि नरहरिनाथका उत्तराधिकारी बिशिष्ठ अतिथि हुनुहुन्थ्यो । पुरस्कार सञ्चालक सदस्य रहनु भएका विश्व हिन्दू महासंघका अध्यक्ष डा. रामचन्द्र अधिकारीले धन्यवाद मन्तव्य व्यक्त गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन साहित्यकार मणि लोहनीले गर्नु भएको थियो ।
उक्त अवसरकमा नरकान्तका जेष्ठ सुपुत्र रमाकान्त अधिकारी, कान्छा सुपुत्र शारदाकान्त अधिकारी तथा कान्छी सुपुत्री बेत्रा अधिकारी केसी हाल अमेरिकाको समेत सहभागिता थियो । त्यस्तै, चन्द्रकान्त अधिकारी, डा. पुर्णकान्त अधिकारी, डा. तिर्थ खनिया, डा. अर्जुनबहादुर थापा, नरेन्द्र प्रसाईं, इन्दिरा प्रसाईं, साहित्यकार ठाकुर बेलबासे लगायतका विशिष्ठ व्यक्तित्वहरूको सहभागिता थियो ।

प्रकाशित मिति २०८० पुष २३, सोमबार १७:३२ गते
हजुरको प्रतिक्रिया