बेसीशहर– लमजुङ जिल्लामा सञ्चालन हुँदै आएको जिल्लाको सर्वाधिक पुरस्कार राशिकको त्रिवेणी फुटबल कप ३१ औं शृंखलामा आइपुग्दा गण्डकी प्रदेशकै दोस्रो ठूलो धनराशी फुटबल खेल बन्न पुगेको छ । जसको पहिलो पुरस्कार राशि आठ लाख रुपैयाँ, स्वर्णपदक र प्रमाणपत्र रहेको छ ।
उक्त त्रिवेणी कप नकआउट फुटबल प्रतियोगिताको उपाधी यो वर्ष लालीगुराँस युवा क्लब भुजुङले जितेको छ । सधैंझैं यहाँस्थित सहजी त्रिवेणी रंगशालामा सञ्चालन गरिएको ३१ औं त्रिवेणी कप नकआउट फुटबलको फाइनल खेलमा बेसीशहर युथ सोसाईटीलाई १–० गोल अन्तरले पराजित गर्दै लालीगुराँस युवा क्लब भुजुङले उपाधि जित्न सफल भएको हो । त्यो पनि प्रतिस्पर्धि टिमको आत्मघाति गोलका कारण । यसअघि भुजुङले ०६१ मा त्रिवेणीकप उपाधी जितेको थियो, १९ वर्षपछि पुनः उपाधि जित्न सफल भएको हो ।
लालीगुराँसले खेल अवधिभर आफ्नो दवाव कायम राख्न सफल भएपनि पहिलो हाफ बराबरी रह्यो । निकै प्रतिस्पर्धात्मक तथा रोमाञ्चक रहेको खेलको दास्रो हाफको १५ मिनेटमा बेसीशहर युथ सोसाईटीका जर्सी नम्बर २५ का बिदेशी खेलाडी एन्ड्रियास नियाले आफ्नै पोस्टमा आत्मघाति गोल गर्दा लालीगुराँस युवा क्लब उपाधीको दावेदार बन्न पुग्यो ।
१९ वर्षपछि त्रिवेणी कपको पुनः च्याम्पियन बनेको भुजुङले नगद ८ लाख र ट्रफि उचाल्यो । त्रिवेणी कपकै दुई पटक उपाधी जितिसकेको बेसीसहर युथ सोसाईटीले उपविजेतामा चित्त बुझाउँदै ४ लाख रुपैयाँ, रजतपदक र प्रमाणपत्र प्राप्त गरेको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, प्रदेशसभा सदस्य भेषबहादुर पौडेल, बेसीशहर नगरपालिकाका मेयर गुमानसिँह अर्याल, त्रिवेणी क्लबका अध्यक्ष राजकुमार घिमिरेलगायतले विजेताहरूलाई संयुक्त रुपमा पुरस्कार वितरण गर्नु भयो ।
सेमीफाइनलमा पराजित लाङ्दीदेवी युवा क्लब नाल्मा र अविशेक चर्ज रजहर नवलपुरले नगद १÷१ लाख पुरस्कार पाएका छन् । प्रतियोगितामा सुन्दरबजार युवा क्लबका खेलाडी आरोन थापा सर्वाधिक गोलकर्ता घोषित भए भने बेसीशहर युथ सोसाइटीका लक्षु थापा सर्वोकृष्ट खेलाडी घोषित भए । उनीहरूले नगद २०÷२० हजार पाएका छन् ।
प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी, महेन्द्र पुलिस क्लबसहित देशका विभिन्न जिल्लाका २१ टिमले भाग लिएको आयोजक क्लबका अध्यक्ष राजकुमार घिमिरेले बताउनु भएको छ । उहाँका अनुसार जिल्लामा फुटबल खेलको विकास र प्रवर्धन गरी व्यावसायीकरण गर्ने र उच्चस्तरीय फुटबल प्रतियोगिता सञ्चालन गर्न, नयाँ खेलाडीलाई प्रोत्साहन, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको हो । उहाँले भन्नुभयो, ‘जिल्लाकै प्रतिष्ठित त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिता प्रारम्भिक वर्षहरूमा खेतका गराहरू भाडामा लिएर खसी र तीन हजार रुपैयाँको प्रथम पुरस्कार राखेर आयोजना गरिएको प्रतियोगिता ३१ वर्षको अवधिमा प्रथम पुरस्कार आठ लाख पुगेको छ ।’
उक्त ३१औँ त्रिवेणी कप फुटबल प्रतियोगिता १२ पुसबाट सुरु भएको थियो ।
प्रकाशित मिति २०८० पुष २४, मंगलवार ०६:१३ गते