दशौं प्याब्सन कप– २०८० को उपाधि युनिभर्सललाई

दशौं प्याब्सन कप– २०८० को उपाधि युनिभर्सललाई

अन्तरङ्ग न्युज

@antaranganews

२०८० पुस २४ गते मङ्गलबार ०८:२३

यस वर्ष सञ्चालित ५४ विधा मध्ये आजका लागि नृत्य प्रतियोगिता बाँकी राखेर सञ्चालन गरिएको थियो । नृत्य प्रतियोगितामा भूपू सैनिक आमावि बेसीशहर पहिलो भयो भने युनिभर्सल दोस्रो बन्यो । त्यस्तै, अर्थ्ली प्याराडाईज आमाविले तेस्रो स्थान हासिल गरेको छ । ती सबै विद्यामा विजयी हुने ४०८ विद्यार्थीलाई आज पुरस्कृत गरिएको प्याब्सनका जिल्ला सदस्य एवम् हिमचुली आमाविका प्रिन्सिपल रामचन्द्र भण्डारीले बताउनु भयो ।

छ पटक जित हासिल गरेको युनिभर्सल तेस्रोमा चित्त बुझाउँदै

बेसीशहर– ३३ औं प्याब्सन डेका अवसरमा आयोजना गरिएको १० औं प्याब्सन कपको उपाधि यहाँको युनिभर्सल एकेडेमीले चुमेको छ । १५३ अंकका साथ युनिभर्सल एकेडेमी पहिलो भएको पुस २४ गते आयोजित विशेष समारोहमा घोषणा गरिएको हो । युनिभर्सल एकेडेमीले यो कप दोस्रो पटक जितेको हो ।
यसैगरी, भूपू सैनिक आमावि बेसीशहर दोेस्रो भएको छ । उसले १३८ अंक पाएको हो । त्यस्तै, हिमचुली आमावि खुदी १२० अंकका साथ तेस्रो भएको छ । यस प्रकार पहिलो, दोस्रो र तेस्रो हुने विद्यालयलाई क्रमशः ३०, २० र १० हजार नगद सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ । सो प्रतियोगितामा प्याब्सनमा आवद्ध २० विद्यालयले भाग लिएका थिए । चालु शैक्षिक सत्रमा वर्षभर ५४ विधामा प्रतिस्पर्धा गराइएको थियो ।
प्रतियोगितामा पहिलो हुने विद्यालयलाई प्रति विधा पहिलोलाई पाँच अंक, दोस्रो हुनेलाई चार अंक तेस्रो हुनेलाई तीन अंक र सहभागिताका लागि एक अंक दिने गरिएको छ । ती सबै विद्यामा विजयी हुने ४०८ विद्यार्थीलाई आज पुरस्कृत गरिएको प्याब्सनका जिल्ला सदस्य एवम् हिमचुली आमाविका प्रिन्सिपल रामचन्द्र भण्डारीले बताउनु भयो । उहाँका अनुसार यो दशौं शृंखला हो ।
यस वर्ष सञ्चालित ५४ विधा मध्ये आजका लागि नृत्य प्रतियोगिता बाँकी राखेर सञ्चालन गरिएको थियो । नृत्य प्रतियोगितामा भूपू सैनिक आमावि बेसीशहर पहिलो भयो भने युनिभर्सल दोस्रो बन्यो । त्यस्तै, अर्थ्ली प्याराडाईज आमाविले तेस्रो स्थान हासिल गरेको जानकारीमा आएको छ ।
आजका दिनसम्म सम्पन्न भएका १० शृंखलामा हिमचुली आमाविले छ पटक उपाधि हत्याउन सफल भएको छ । त्यस्तै, युनिभर्सल एकेडेमीले यो वर्ष समेत दुई पटक तथा भूपू आमावि बेसीशहर र भोटेओडार एक÷एक पटक विजयी भएका छन् ।
उक्त अवसरमा प्याब्सनमा आवद्ध विद्यालयका १/१ जना शिक्षकलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा भूपू सैनिक आमावि बेसीशहर– चुलीमाया, विद्याविकास आमावि– रामचन्द्र देवकोटा, रानीपानी ग्रिनभ्याली एकेडेमी भोर्लेटार– रमा कुँवर, अर्थ्ली प्याराडाई– रेखा सेढाई, हिमाली आमावि– सरिता गुरुङ, बुद्धमेमोरियल आमावि– मनमाया रावत, मनकामना आमावि रचना ढकाल हुनुहुन्छ ।
त्यस्तै, ग्लोबल भिजन आमावि– उषा घले, बालज्योति आमावि– भावना सापकोटा, इन्साइट भिजन एकेडेमी– शर्मिला धिताल, वेसल्याण्ड आमावि मनिषा गुरुङ, न्यूइरा आमावि– वलीसरा रानामगर, चन्द्रसूर्य आमावि– सासबहादुर गुरुङ, भूपूसैनिक आमावि भोटेओडार– अलिना गुरुङ, भूपू लोटस मण्टेश्वरी स्कूल– मनिषा भुजेल, राइनास एन ग्लोबल आमावि– मनिषसिंह अधिकारी, ल्याण्डस्टार आमावि– पूर्णिमा तामाङ, हिमचुली आमावि– अर्जुनकुमार भण्डारी, न्यूमेरिगोल्ड आमावि रोहिणीराज पन्त र युनिभर्सल एकेडेमी– निलप्रसाद गुरुङ सम्मानित हुनु भएको छ ।
उक्त प्याब्सन डेको एक भव्य समारोहका बीच प्रतिनिधि सभा सदस्य पृथ्वीसुब्बा गुरुङले उदघाटन गर्नु भएको हो । उहाँले शिक्षा ऐनलाई संशोधन गरी समय सापेक्ष बनाउनु पर्नेमा जोड दिनु भयो । उहाँले पञ्चायतकालमा ल्याइएको शिक्षा पद्दति ऐलेको लोकतान्त्रिक गणतन्त्र तथा समयको माग र विश्वबजारमा बिक्ने सीपमूलक हुन नसकेको हुँदा समय सापेक्ष बनाउनु पर्ने उल्लेख गर्नु भयो । अंग्रेजी विषय जरुरी छ भन्दै उहाँले विश्वसनीय र भरपर्दो शिक्षा नीति हुन आवश्यक छ भन्नुभयो । उहाँले प्याब्सनले शिक्षाका क्षेत्रमा गरेको योगदान प्रशंसा योग्य रहेको उल्लेख गर्नुभयो ।
सो अवसरमा संविधानसभा सदस्य जमिन्द्रमान घलेले प्याब्सनले गर्ने गरेका हरेक गतिविधि सम्मान लायकका भएको बताउँदै अंग्रेजी बढाउने कार्यमा होस् या खेलकुद, गायन, नृत्य तथा अन्य विविध विषयका प्रतीभाको सम्मान गर्ने कार्य सबै सराहनीय छ भन्नुभयो । उहाँले जनस्तरबाट आउने केही गुनासाका सम्बोधन गर्न सकेमा थप उपलब्धि हुने बताउँदै प्याब्सनका गतिविधि सबै क्षेत्रको शैक्षिकस्तर उठाउन प्रेरणा बनोस् भन्नुभयो ।
प्याब्सनका जिल्ला अध्यक्ष मेनबहादुर घलेको अध्यक्षतामा भएको सो कार्यक्रममा बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्याल, मर्स्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख वीरबहादुर गुरुङ, विभिन्न पार्टीका प्रतिनिधिहरू लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।
प्याब्सनका उपाध्यक्ष ईश्वर पौडेलले स्वागत तथा सञ्चालन प्याब्सनका जिल्ला सचिव विमल अधिकारीले गर्नु भएको थियो ।

प्रकाशित मिति २०८० पुष २४, मंगलवार २०:२३ गते
हजुरको प्रतिक्रिया