काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यहाँको तीनकुने स्थित रियल गोर्खा बचत तथा ऋण सहकारी संस्था(साकोस)बाट ठगीमा परेका पीडितलाई सम्पर्कमा आउन अनुरोध गरेको छ । सहकारीका केही व्यक्ति पक्राउ परेकाले उनीहरूविरुद्ध मुद्दा अघि बढाउनु पर्ने हुँदा ठगीमा परेकालाई समयमै सम्पर्कमा आएर जाहेरी दिन सार्वजनिक अनुरोध गरिएको हो ।
काठमाडौंको तीनकुने केन्द्रीय कार्यालय भई जोरपाटी र भक्तपुरका विभिन्न क्षेत्रमा उक्त सरकारीले सेवा दिएको र सोही क्रममा सञ्चालक समितिका सदस्यले निक्षेपकर्तालाई आकर्षक ब्याजदर दिन्छु भनी प्रलोभन देखाएर निक्षेपकर्ताको ठूलो रकम हिनामिना गरेको पाइएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले बताउनु भयो । उहाँका अनुसार प्रारम्भिक अनुसन्धानमा १२ करोड ३५ लाख बचत रकम अपचलन तथा हिनामिना गरेको पाइएको छ । उहाँले भन्नुभयो, ‘सहकारी ठगीमा सञ्चालकलाई मुद्दा चलाउनुपर्ने हुन्छ, सबै पीडित आएमा बिगो कायम तथा जेल सजायका लागि प्रतिवेदन तयार पारी जिल्ला सरकारी वकिलमार्फत मुद्दा चलाउन सकिने भएकाले जतिसक्दो छिटो सम्पर्कमा आएर जाहेरी दिन आग्रह गरेका छौँ ।’
सहकारीको रकम हिनामिना गरी फरार रहेका अध्यक्ष हर्कबहादुर कठायत र सदस्य विनोदकुमार ओझालाई पक्राउ गरी अनुसन्धान थालिएकाले बचतकर्तालाई सम्पर्कमा आएर जाहेरी दिन ब्युरोले आग्रह गरेको हो ।
समय पुगेपछि उक्त संस्थामा बचतकर्ताले जम्मा गरेको रकमको साँवा, ब्याज फिर्ता नदिएको तथा लामो समयदेखि ध्यानाकर्षण गराउँदासमेत नियमानुसार पाउनुपर्ने निक्षेप तथा सोको ब्याज रकम उपलब्ध गराउन आवश्यक पहल नगरी संस्था नै बन्द गरेर फरार भएपछि पीडितले प्रहरीमा जाहेरी दिन पुगेका हुन् ।
कठायत र ओझाले सर्वसाधारणलाई सहकारी मुद्दती, निक्षेप, आवधिक बचत, सेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाई मासिक–त्रैमासिक–वार्षिक रूपमा ब्याज पाउने र निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण साँवा, ब्याज फिर्ता पाउने विश्वासका पारी रकम संकलन गरेका फेला परेको अनुसन्धानकर्ताहरूको भनाइ छ ।
प्रकाशित मिति २०८० पुष २६, बिहीबार ०६:२४ गते