घलेगाउँ(लमजुङ)– लमजुङमा सञ्चालन गरिएको राष्ट्रपति रनिङ शिल्डको उपाधि राइनास नगरपालिकाले हत्याएको छ । १५ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा राइनास नगरपालिका १३ स्वर्णसहित पुस २५ गते च्याम्पियन बनेको हो । राइनास नगरपालिका गतवर्ष पनि च्याम्पियन बनेको थियो ।
क्व्होलासोथार गाउँपालिका– ३ को स्मार्ट भिलेज सुखी गाउँ घलेगाउँको स्वर्गभूमि खेल मैदानमा सञ्चालन गरिएको जिल्लास्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा राइनास नगरपालिका च्याम्पियन बनेको हो ।
प्रतियोगितामा १३ स्वर्ण, ९ रजत र ७ कास्यसहित राइनास यसवर्ष च्याम्पियन बनेको हो । ११ स्वर्ण, ९ रजत र ४ कास्यसहित बेसीशहर नगरपालिकाले दोस्र्रो स्थान हासिल गरेको छ । यसैगरी, ६ स्वर्ण, ११ रजत र ८ कास्य पदकका साथ सुन्दरवजार नगरपालिका तेस्रो स्थान हासिल गर्न सफल भएको आयोजक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योगबहादुर गुरुङ (कालु)ले बताउनु भयो । उहाँका अनुसार प्रतियोगितामा मस्र्याङ्दी गाउँपालिका अनुशासित टिम घोषित भएको छ ।
विजयी टिम र विद्यार्थीलाई क्व्होलासोथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङ, निवर्तमान अध्यक्ष प्रेमबहादुर घले, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योगबहादुर गुरुङ (कालु) लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । जिल्लामा प्रथम हुने टिम र खेलाडीले गण्डकी प्रदेशले आयोजना गर्ने प्रदेशस्तरीय राष्ट्रपति खेलकुद प्रतियोगितामा भाग लिने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योगबहादुर गुरुङ (कालु) ले जानकारी दिनु भएको छ ।
मार्च पासमा ३७ अंक ल्याएर राइनास नगरपालिका पहिलो बनेको हो । ३४ अंक ल्याएर मध्यनेपाल नगरपालिका दोस्रो बन्यो भने ३३ अंकका साथ सुन्दरवजार नगरपालिका तेस्रो बनेको थियो ।
महिला भलिबलमा बेसीशहर नगरपालिका पहिलो, मस्र्याङ्दी गाउँपालिका दोस्रो र राइनास नगरपालिका तेस्रो भएका थिए । पुरुषतर्फको सोही खेलमा मध्यनेपाल नगरपालिका पहिलो, राइनास नगरपालिका दोस्रो र मस्र्याङ्दी गाउँपालिकाले तेस्रो स्थान हासिल गरका थिए ।
प्रतियोगितामा छात्राछात्र हाइजम्म, लङजम्प, त्रिपलजम्प, सर्टफुट, एक सय मिटर, दुई सय मिटर, चार सय मिटर, आठ सय मिटर, एक हजार पाँच सय मिटर, तीन हजार मिटर दौड, एक सय इन्टु चार रिले दौड लगायतका प्रतियोगिता सञ्चालन गरिएको थियो ।
सो प्रतियोगितामा जिल्लाका ४ नगरपालिका र ४ गाउँपालिकाका खेलाडी सहभागि रहेको आयोजक जिल्ला खेलकुद विकास समितिले जनाएको छ । प्रतियोगिता तीन दिनसम्म सञ्चालन भएको थियो ।
प्रकाशित मिति २०८० पुष २६, बिहीबार ०६:५५ गते