बेसीशहर– मर्स्याङदी बहुमुखी क्याम्पसको सञ्चालक समितिद्वारा क्याम्पस प्रमुख हरिबाबु थापालाई बर्खास्त गरेको निर्णय कार्यान्वन नगर्न उच्च अदालत पोखराबाट आदेश जारी भएको छ । यहाँ स्थित कालिका बचत तथा ऋण सहकारी संस्था लि.(साकोस)को बहुचर्चित ठगी काण्डमा संलग्न रहेको भन्दै पुस २६ गते त्यस्तो आदेश जारी भएको हो ।
उच्च अदालतका न्यायाधीश मिलनकुमार राईको एकल इजलासले सो आदेश दिएको हो । क्याम्पस प्रमुख हरिबाबु थापाको पक्षमा अधिवक्ता रोहितराज बास्तोला र क्याम्पसका पक्षमा अधिवक्ता उमेर गिरीले बहस पैरवी गर्नु भएको थियो ।
आदेशमा थापालाई प्रमुखबाट हटाउनुको लिखित कारण माग गर्नुका साथै सो निर्णयको सक्कलै प्रति अदालतबाट माग गरिएको छ । मर्स्याङदी बहुमुखी क्याम्पसको सञ्चालक समिति सहितका विपक्षीहरूलाई उच्च अदालतले बाटोका म्याद बाहेक १५ दिन भित्र लिखित कारण पेश गर्न आदेश दिएको छ । सो मुद्दाको अर्को सुनुवाई आउँदो माघ ४ गते हुने उच्च अदालतको आदेशमा उल्लेख छ ।
निवेदक थापाले मर्स्याङदी बहुमुखी क्याम्पसको सञ्चालक समितिका अतिरिक्त सो समितिका अध्यक्ष कृष्ण अधिकारी र क्याम्पस प्रमुख शालिग्राम अधिकारीलाई विपक्षी बनाएको बुझिएको छ ।
स्मरणीय छ, मर्स्याङदी बहुमुखी क्याम्पसको सञ्चालक समितिले प्रमुख थापालाई अदालतले दोषि करार गर्नु अघि कुनै कारवाही गर्नु नै पर्ने भएमा ‘निलम्बन’सम्म गर्नु पर्नेमा ‘बर्खास्त’को निर्णय गरेको थियो ।
प्रकाशित मिति २०८० पुष २६, बिहीबार १७:५५ गते