भालुवाङ(दाङ)– यहाँ भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । १७ जना घाइते भएको प्रहरीले पुस २८ गते विहान जनाएको छ ।
दुर्घटनामा एक महिला र ११ पुरुष गरी १२ जनाको मृत्यु भएको घटनास्थलमा रहेका राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताउनु भयो । उहाँका अनुसार धेरैजसोको बसले च्यापिएर मृत्यु भएको छ । गए राति नेपालगञ्जबाट काठमाडौंतर्फ आइरहेको भे १ ख ३९१२ नम्बरको बस राप्ती गाउँपालिका– १ स्थित राप्ती पुलबाट खसेर दुर्घटना भएको प्रत्यक्षदर्शीको भनाइ छ । उनीहरूका अनुसार बस पुलको रेलिङ भाँच्दै दायाँतर्फ राप्ती नदीमा खसेको छ ।
मृतक मध्ये चारजनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्वल सिंहले बताउनु भयो । उहाँका अनुसार आठ जनाको सनाखत भएको छ । उहाँका अनुसार राति करिब १० बजे खसेको थियो । उहाँले भन्नुभयो, ’पाँच जनाको घटनास्थलमै मृत्यु भएको हो । अन्य २०–२२ जनाभन्दा बढी घाइतेहरूको उद्धार गरी अस्पताल पठाएका छौं, तीमध्ये ५– ७ जना जति बोल्न नसक्ने अवस्थामा हुनुहुन्थ्यो ।’
दुर्घटनामा घाइते हुनेहरूको उपचारका लागि लमही र राप्ती विज्ञान स्वास्थ्य प्रतिष्ठान घोराहीमा पठाइएको छ ।
उक्त बसमा कतिजना यात्रु थिए भन्ने खुल्न बाँकी छ । १२ वटै शव पोष्टमार्टमका लागि लमही अस्पतालमा पठाइएको छ । मृतकहरूको सनाखत हुन बाँकी छ ।
प्रहरी, सशस्त्र प्रहरी र स्थानीय लगायतको टोलीले उद्धारको काम जारी रहेको छ ।
राप्ती नदीको सो पुलले दाङ र अर्घाखाँची जिल्लालाई जोड्ने काम गरेको छ ।
प्रकाशित मिति २०८० पुष २८, शनिबार ०६:३७ गते