काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सम्मान गर्न कन्जुस्याइँ गर्नु नहुने बताउनु भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा ३०२औँ पृथ्वीजयन्तीका अवसरमा आयोजना गरेको जलपान कार्यक्रममा पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले पुस २७ गते त्यस्तो बताउनु भएको हो ।
पृथ्वीनारायण शाहलाई राजावादीले आफ्नो मात्रै हुन् भन्ने सोच्नु नहुने र गणतन्त्रवादीले हाम्रो होइन भन्ने सोच्नु नहुने उहाँको भनाइ छ । राष्ट्रनिर्मातालाई सबैको साझा बनाउने काममा लाग्नुपर्ने उहाँको धारणा छ । उहाँले भन्नुभयो, ‘देशलाई एक ढिक्का बनाइ नेपाल भनेर गौरव गर्न सक्ने राष्ट्रनिर्माताप्रतिको सम्मान सबैले गर्नुपर्छ ।’
उहाँले थप भन्नुभयो, ‘त्यति बेलाको बाइसे, चौबिसे राज्यहरूको अवस्था र त्यो इतिहासको चुनौतीलाई कुशलतापूर्वक सम्पन्न गरी देशलाई एक ढिक्का बनाइ नेपाल भनेर गौरव गर्न सक्ने राष्ट्रनिर्माताप्रतिको अघात सम्मान यसमा मलाई लाग्छ कसैले पनि कन्जुस्याइँ गर्नु हुँदैन । राजावादीले हाम्रो मात्रै पेवा हो भन्न पनि भएन, गणतन्त्रवादीले हाम्रो होइन भन्नुभएन । सबैको साझा बनाउने काममा लाग्नुपर्छ । राष्ट्र निर्मातालाई राजनीति भन्दा माथि राख्नुपर्छ ।’
राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीमा एकता दिवस मनाउनु राम्रो काम : ओली
सो अवसरमा, नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीमा एकता दिवस मनाउनु राम्रो काम भएको बताउनु भएको छ । उहाँले पुथ्वी जयन्तीलाई एकता दिवसका रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टीले कार्यक्रम गर्नु राम्रो भएको बताउनुभयो । नेपालको भौगोलिक एकीकरणको नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्तीमा कार्यक्रम गरेकामा राप्रपालाई धन्यवाद दिदै भन्नुभयो, ‘एकता दिवस भनेर राष्ट्रिय प्रजातन्त्र पार्टीले जुन कार्यक्रम गरेको छ, त्यसका लागि उहाँहरुलाई धन्यवाद छ । यो राम्रो काम गर्नुभएको छ ।’
राप्रपाको चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका शीर्ष नेताहरूको समेत सहभागिता थियो ।
राप्रपाद्वारा सडक संघर्षको उदघोष र आन्दोलनको मार्गचित्र सार्वजनिक :
यसैबीच, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले फागुनदेखि आफ्नो दलले गर्ने भनिएको सडक आन्दोलनबारे जानकारी दिनु भएको छ । उहाँले ३०२ औँ पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा राप्रपाले आयोजना गरेको चियापान कार्यक्रमको समाप्तिपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै आन्दोलनको मार्गचित्र सार्वजनिक गर्नु भएको हो ।
अध्यक्ष लिङ्देनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, संवैधानिक राजसंस्था, प्रदेशको खारेजी लगायतका माग राखेर सडक संघर्षमा जाने सुनाउनु भयो । देशमा बढिरहेको भ्रष्टाचार तथा अहिलेको व्यवस्थामा भएका खराबीविरुद्ध आन्दोलन गर्ने उहाँको भनाइ छ ।
अध्यक्ष लिङ्देनले अहिलेदेखिनै आन्दोलनको तयारी गरेको बताउँदै फागुनदेखि देखिनेगरी आन्दोलन गर्ने उल्लेख गरे । उनले भने, ‘माघ महिनाभरि तयारी गर्छौँ, फागुनदेखि राजधानी केन्द्रित आन्दोलन गर्छौँँ । देखिनेगरी ठूला–ठूला प्रर्दशनहरु आयोजना गर्छौँ । आन्दोलन विल्कुल शान्तिपूर्ण अहिंसात्मक रुपले जनदबाब सिर्जना गर्ने ढंगले हुनेछ । सरकारले दमन ग¥यो भने त्यो भड्किन सक्छ, अहिले हामी त्यसको अनुमान गर्न सक्दैनौँ । हाम्रो तर्फबाट शान्तिपूर्ण हुनेछ ।’
उहाँका अनुसार सो आन्दोलन नाममात्रको आन्दोलन नभई व्यापक किसिमको आन्दोलन हुने छ र त्यसले देशमा केही परिवर्तन नै ल्याउने छ ।
उहाँले भन्नुभयो, ‘देश अहिले जुन अवस्थामा छ त्यसमा पर्खने छुट हामीलाई छैन । देश निरन्तर रुपमा ओरालो लागिरहेको छ । त्यसलाई उठाउन कुनै प्रयत्न भइहरेको छैन । अर्को चुनाव ८४ भनिरहेका छन्, तर हामी त्यसलाई पर्खने अवस्थामा छैनौँ ।’
प्रकाशित मिति २०८० पुष २८, शनिबार ०८:३३ गते