बेसीशहर– लमजुङका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीलाई कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान नेपालको जिल्ला शाखाले सम्मान पत्रका साथ विदाई गरेको छ । जिल्लाबाट गृह मन्त्रालयमा सरुवा भई जान लाग्नु भएका प्रजिअ अधिकारीलाई उहाँकै कार्यकक्षमा पुगेर जिल्ला समितिका पदाधिकारीहरूले पुस २९ गते विदाई गर्नु भएको हो ।
प्रतिष्ठानद्वारा समर्पण गरिएको सम्मान पत्र ग्रहण गर्दै प्रजिअ अधिकारीले कर्मचारीको जात धर्म हुँदैन भनिन्छ, आफूले कार्यसम्पादनका क्रममा त्यही मान्यता अनुसार काम गरेको उहाँले स्मरण गर्नु भयो । तर पनि लमजुङमा अधिकारीहरू धेरै छन् भन्ने सुन्दा गर्वको अनुभूति हुन्थ्यो भन्नुभयो । तर कार्यसम्पादन गर्दा त्यस्तो छनक मैले कतै प्रदर्शन गरिन । सबै जातजातिको धर्म, संस्कार, संस्कृतिलाई आफूले सम्मान गर्ने गरेको स्मरण गर्दै उहाँले ल्होसार लगायतका पर्वमा पनि उत्तिकै सदभावका साथ गएर भाग लिएको जानकारील दिनुभयो ।
पेशागत कारणले भेट भएर नजिक रहेर काम गर्दै गरिआएका वंश प्रतिष्ठानका केन्द्रीय सदस्य पहाडीजीसँग यो बारेमा १५ दिन जति अघि मात्र कुरा भएको पनि उहाँले स्मरण गर्नु भयो ।
म त पद र थर दुबैले अधिकारी भन्दै उहाँले मानिस निरपेक्ष हुँदो रहेनछ । पेशागत आदर्श जे जे भए तापनि कतै न कतै अधिकारी भने पछि छुने रहेछ । तर मैले कार्यसम्पादनका क्रममा त्यो देखाइन, देखाउन पनि नपरोस्, यसो भन्दै गर्दा पनि पहिचानका लागि यहाँहरूले संगठनिक रुपमा जे जस्तो प्रयास गर्नु भएको सराहनीय छ, निवृत्त जीवनमा यस्ता काम गर्न सहज हुन्छ, मेरो काका पनि यस संस्थामा हुनुहुन्छ, म पनि कतै न कतै जोडिने छु उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
प्रतिष्ठानका केन्द्रीय सदस्य नवराज पहाडीले वाचन गर्नु भएको सम्मान पत्र उहाँले दोसल्ला ओढाउनुका साथै जिल्ला सचिव गोविन्दप्रसाद अघिकारी सहितले हस्तान्तरण गर्नु भएको थियो भने अन्य सदस्यहरूले माला पहिराउनु भएको थियो । सो अवसरमा प्रतिष्ठानका जिल्ला सदस्य द्वय शिवकुमारी अधिकारी, प्रमोद अधिकारी, आजीवन सदस्य सुधा ढकाल अधिकारी लगायत सहभागी हुनुहुन्थ्यो ।
राजनीतिक दलका प्रमुखहरू र पत्रकारहरू बीच प्रगतिको फेहरिस्त सार्वजनिक :
प्रजिअ अधिकारीले त्यसअघि आजै दिउँसो आफ्नो कार्यकक्षमा राजानीतिक दलका प्रमुख तथा प्रतिनिधि र पत्रकारहरूको संयुक्त भेटघाट कार्यक्रम गरी आफूले पद सम्माल्दै गर्दा दुवै तर्फबाट प्राप्त अपेक्षाको सूचि, सबैको सहयोगबाट सम्पादन गर्न सकेका कार्यहरूको विवरण र सम्पन्न गर्न बाँकी कामको सूचि प्रस्तुत गर्नु भएको थियो ।
करिब तीन पेज लामो त्यो प्रगति विवरण सुनाउनु अघि उहाँले कर्मचारीको सरुवा सहज प्रकृया हो, पदस्थापन हुँदा सात जना भएका थियौं ऐले तीनजना मात्र यो पदमा बाँकी हुनुहुन्छ भन्दै जे सहयोग मिल्यो त्यो सम्झना योग्य र प्रेरणादायी रहेको उहाँले सुनाउनु भएको थियो ।
उहाँले आफूले पद बहाल गर्न आउँदा राजनीतिक दलहरूका तर्फबाट १० वटा सुझाव र पत्रकारहरूले १३ वटा सुझाव दिएको विवरण पेश गर्नु भएको थियो । त्यस्तै, सम्पन्न गर्न सकेका कार्यमा सेवाप्रवाह र सुशासनका सम्बन्धमा कुनै कमी भएको भए नैतिक जिम्मेवारी आफूले लिने र राम्रो भएको भए त्यो डेक्समै बस्ने साथीहरूको जसको कुरा हो, मैले त केही उत्प्रेरित मात्र गरेको हुनसक्छ भन्नुभयो । बजार व्यवस्थापनका कार्यमा आफ्नो कार्यकालमा १३ पटक बजार अनुगमन गरेको, तीन लाख पाँच हजार नौसय राजस्व संकलन गरेको, ३२ हजार सात सय ७० रुपैयाँ बराबरका म्याद नाघेर अखाद्य भएका सामग्री बरामद गरी जष्ट गरेको उल्लेख गर्नु भयो ।
यसैगरी, न्याय सम्पादनतर्फ १३ मुद्दा परेकोमा ११ को फर्स्योट गरी एक लाख ६४ हजार एक सय रुपैयाँ जरीवाना गरी राजस्व संकलन गरेको जानकारी दिनुभयो । जुवा खालबाट ८६ हजार ६३५ रुपैयाँ बरामद गरेको, एक लाख ५० हजार जरिवाना समेत दुवै राजस्वमा जम्मा गरेको प्रजिअ अधिकारीले जानकारी दिनुभयो ।
कुनै पनि धर्म संस्कारमा प्रभाव नपर्ने गरी खदाको प्रयोगमा नियन्त्रण अर्थात सरकारी पैसाबाट खरिद नगर्ने कार्य गर्न सकेको उल्लेख गर्दै विपद व्यवस्थापनको हकमा पालिकाहरूसँग छ पटक बैठक बसेको, सात पालिका र सिनो हाइड्रोको सहलगानीमा विपद उद्दारका लागि रबर बोट खरिद गरेको जानकारी दिनुभयो ।
सम्पादन गर्न बाँकी काममा मध्यपहाडी लोकमार्गको भोर्लेटार खण्डको विवाद, नदी÷खानीजन्य पदार्थको उत्खनन् तथा प्रयोग तथा विद्युत आयोजनालाई नियमानुसार १० प्रतिशत पानी अनिवार्य छाड्न जिल्लाका सबै हाइड्रो कम्पनीहरूलाई प्रतिवद्धता व्यक्त गर्न लगाई मध्यमर्स्याङ्दीलाई विशेष खालको पत्र लेखेर पनि कार्यान्वयन हुन नसकेको उल्लेख गर्नुभयो ।
सो अवसरमा राजनीतिक दलहरूमा एमालेका जिल्ला अध्यक्ष कृष्णप्रसाद अघिकारी, माओवादी केन्द्रका जिल्ला सचिव सुनिल सुनार, रास्वपाका बेसीशहर नगर सभापति कृष्ण राउत सहभागी हुनुहुन्थ्यो । त्यस्तै, पत्रकार महासंघका जिल्ला अध्यक्ष परमेश्वर अधिकारी, संस्थापक अध्यक्ष नवराज पहाडी, निवर्तमान जिल्ला अध्यक्ष आश गुरुङ, पूर्वअध्यक्ष कृष्ण केसी, उपाध्यक्ष अनुज अधिकारी, मर्स्याङ्दी रेडियोका स्टेशन मैनेजर मीना गुरुङ, महासंघका पूर्व जिल्ला सचिव सन्देश पौडेललागयतका पत्रकारहरूको सहभागिता थियो ।
प्रकाशित मिति २०८० पुष २९, आईतवार १९:०३ गते