चितवन– चितवनमा कोरोना फोला परेको छ । पछिल्लो १० महिनापछि कोरोना सङ्क्रमण पहिलो पटक देखिएको भरतपुर अस्पतालले माघ २ गते जनाएको छ ।
सो अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले त्यस्तो जानकारी दिनुभएको हो । उहाँका अनुसार हिजो र आज दुईदिनसम्म गरिएका छुट्टाछुट्टै परीक्षणमा २९ वर्षे र ६६ वर्षे पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । उहाँले भन्नुभयो, ‘अस्पतालमा निमोनियाका कारण उपचारका लागि आएका वृद्धको कोरोना परीक्षणका क्रममा सङ्क्रमण पुष्टि भएको हो, त्यसपछि उनलाई अस्पतालमै राखी उपचार सुरु गरिएको छ ।’
अर्का २९ वर्षे पुरुषलाई होम आइसोलेसनमा रहेका छन् ।
जिल्लामा १० महिनापछि पुनः कोरोनाको सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले बताउनु भयो । उहाँका अनुसार कोरोना सङ्क्रमण देखिएपछि स्वास्थ्य कार्यालय चितवनले सबैलाई सतर्कता अपनाउनका लागि अनुरोध गरेको छ । उहाँले भन्नुभयो, ‘जिल्लामा यसअघि गत चैतमा कोरोना सङ्क्रमण देखिएको थियो ।’
अस्पतालले कोरोना सङ्क्रमणबाट बच्न सामाजिक दुरी कायम गर्ने, माक्सको प्रयोग गर्ने, साबुन पानीले हात धुन सुझाव दिएको छ ।
यसैबीच, पर्साको वीरगञ्ज भन्सारनाकामा तीनजना संक्रमित फेला परेका छन् । दुई भारतीय र एकजना नेपालीमा कोरोना पोजेटिभ पुष्टि माघ १ गते भएको हो ।
भारतको विभिन्न स्थानमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जानुका साथै केही दिनअघि वीरगञ्जस्थित सीमानाकामा नयाँ सङ्क्रमित भेटिएपछि स्वास्थ्य सतर्कता बढाइएको वीरगञ्ज महानगरपालिकाका स्वास्थ्य शाखा संयोजक अनिल यादवले बताउनु भयो । उहाँका अनुसार सीमानाकामा स्वास्थ्य सहायताकक्ष स्थापना गरी भारतबाट आउनेहरूको निरीक्षण र निगरानी गन थालिएको छ । भारतबाट रेल, बस र निजी सवारी साधनमा आउने यात्रुलाई स्वास्थ्य सहायताकक्षमा एन्टिजेन विधिबाट कोरोना परीक्षण गरी भित्रिन दिने गरिएको छ । महानगरले सञ्चालन गरेको हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीले भारतबाट यात्रा गरेर आउनेलाई सुरुमा स्क्रिनिङ गरी ज्वरो वा खोकीको लक्षण देखिएकाको एन्टिजेन परीक्षण गर्ने गरेको स्वास्थ्य शाखा संयोजक यादवले जानकारी दिनुभयो ।
संयोजक यादवले भन्नुभयो, ‘गत पुस १ गतेदेखि सञ्चालित उक्त हेल्थ डेस्कमा हालसम्म पाँच हजार दुई सय पाँचजनाको स्क्रिनिङ गरिएकोमध्ये दुई सयमा एन्टिजेन परीक्षण गर्दा गत दुई भारतीय र एकजना नेपालीमा कोरोना पोजेटिभ पुष्टि भएको हो ।’
वीरगञ्जस्थित सीमानाकामा स्थापना गरिएको होल्डिङ सेन्टर तयारी अवस्थामा राखिएको छ । कोभिड– १९ को पहिलो लहर फैलिएपछि सरकारको विसं २०७८ वैशाख ५ गते मन्त्रिपरिषद्को निर्णयअनुसार कोरोना रोकथाम तथा नियन्त्रणकोे उद्देश्यका साथ यहाँस्थित सीमानाकामा होल्डिङ सेन्टर निर्माण गरिएको थियो ।
होल्डिङ सेन्टर तयारी अवस्थामा राखिएको त्यसलाई नेपाली सेनाले सुरक्षा दिएर राखेको यादवको भनाइ छ ।
भारतबाट आएकालाई क्वारेन्टिनमा राख्नका लागि पर्सामा करिब २८ करोड रुपैयाँको लागतमा कूल ६० भवन निर्माण गरिएका यादवको भनाइ छ । उहाँका अनुसार उक्त भवनमा १३ भान्सा घर र २२ शौचालय छन् ।
उक्त क्वारेन्टिनमा एक हजार शैया छन् । जसमध्ये नौ सयमा सामान्य लक्षण भएका विरामीलाई राखिने छ भने एक सय शैयामा जटिल अवस्थाका बिरामीलाई राखिने तयारी छ ।
यसैगरी, अन्य तीन वटा एसीसहितका भवन अनुगमन गर्न आउने सरकारी प्रतिनिधिका लागि निर्माण गरिएको संयोजक यादवले उल्लेख गर्नुभयो ।
प्रकाशित मिति २०८० माघ २, मंगलवार २२:४६ गते