रुसी सेनामा भर्ती भएका लमजुङका एक युवाले ज्यान गुमाए

रुसी सेनामा भर्ती भएका लमजुङका एक युवाले ज्यान गुमाए

अन्तरङ्ग न्युज

@antaranganews

२०८० माघ ३ गते बुधबार ०८:५८

गुरुङ दूधपोखरी गाउँपालिका– १ का वडासदस्य उनी वाईसीएल अध्यक्ष समेत बनेको बताइ्रन्छ ।
साजन यसअघि पनि रोजगारीका लागि मलेसिया गएका थिए ।

३२ वर्षीय साजन गुरुङको रुस– युक्रेन युद्धमा मृत्यु भएको खुल्न आएको हो ।

लमजुङ– रुसी सेनामा भर्ती भएका लमजुङका एक युवकले ज्यान गुमाएको खुलासा भएको छ । लमजुङको दूधपोखरी गाउँपालिका– १ घामर चोकका ३२ वर्षीय साजन गुरुङको रुस– युक्रेन युद्धमा मृत्यु भएको खुल्न आएको हो ।
रोजगारीका लागि गत भदौमा रुस गएका उनी रुसी सेनामा भर्ना भएका र उनको मृत्यु भएको खबर छ दिन अघि परिवारलाई प्राप्त भएको दूधपोखरी गाउँपालिकाका अध्यक्ष धनप्रसाद गुरुङले बताउनु भयो । उहाँका अनुसार गुरुङसँगै रुसी सेनामा पुगेका साथीहरुले उनका भाइ कुमार गुरुङलाई मृत्युको खबर घरमा पठाएका थिए । उहाँले भन्नुभयो, ‘जर्मनीमा रहेका भाइ कुमारले दाइको मृत्युको खबर काठमाडौँमा रहेका भाइबहिनीलाई भनेपछि मात्रै लमजुङस्थित मृतक गुरुङको घरमा खवर आएको हो ।’
गत असोज १ गते मकाउ जानका लागि भनेर घरबाट हिँडेको साजनका बुवा श्रीमान गुरूङले बताउनु भयो । उहाँका अनुसार कसरी त्यहाँ पुग्यो भन्ने हामीलाई नै थाहा छैन, त्यस्तो देश जान्छु भनेको भए हामी पठाउन्नथ्यौं । उहाँले भन्नुभयो, ‘साजनले रूस पुगेर तालिम लिँदै गर्दाको फोटा फेसबुकमा राखेपछि रूसी फौजमा भर्ना भएको थाहा पाएका थिए ।’ साजनले श्रीमती सीता र छोरासँग कुरा गरिरहन्थ्यो, तर पुस १६ गतेदेखि कुनै पनि माध्यमबाट साजनसँग सम्पर्क हुन सकेको थिएन ।
‘रूसी फौजमा भर्ना भई युक्रेनविरूद्ध युद्ध लड्ने क्रममा उनको मृत्यु भएको भनेर उसका साथीहरूले कान्छो छोरा कुमारलाई भनेका रहेछन्, आफ्नो आँखाले लास नदेखि पत्याउन सक्दैनौं ।’ साजनका बुबा श्रीमानले बताउनुभयो ।
गुरुङ दूधपोखरी गाउँपालिका– १ का वडासदस्य उनी वाईसीएल अध्यक्ष समेत बनेको बताइ्रन्छ ।
साजन यसअघि पनि रोजगारीका लागि मलेसिया गएका थिए ।
परराष्ट्र मन्त्रालयले भने साजनको मृत्युबारे केही जानकारी गराएको छैन । रूस–युक्रेनको युद्धमा परी मृत्यु हुने नेपाली कति छन् भन्नेबारे परराष्ट्र मन्त्रालयले केही जानकारी दिएको छैन । तर चार नेपाली युक्रेनी सेनाको कब्जामा रहेकोबारे भने पुस ४ गते प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूको नाम सार्वजनिक गरेको थियो ।
मृतक गुरुङको घरमा हजुरआमा, बुबा, आमा, श्रीमती र चार बर्षका एक सन्तान छन् ।

प्रकाशित मिति २०८० माघ ३, बुधबार ०८:५८ गते
हजुरको प्रतिक्रिया