पोखरा । गण्डकीको रैथाने भाकाका रुपमा रहेको ठाडोभाकाको तीन दिने निःशुल्क प्रशिक्षण यहाँ सुरु भएको छ । तमु समाज नेपालको नयाँ बजार स्थित भवनको रोघिं हलमा सो प्रतियोगिता माघ ५ गते सुरु भएको हो ।
गण्डकी प्रदेशका सामाजिक विकास, स्वास्थ्य तथा जनसंख्या मन्त्री सुशीला सिंखडाले सो प्रशिक्षणको उदघाटन गर्नु भएको हो । उहाँले ठाडोभाका जस्ता रैथानेका भाकाहरूको संरक्षण एवम् प्रवद्र्धनका लागि राज्यले सहयोग गर्नु पर्ने बताउनु भयो । उहाँले यस्ता भाकाको संरक्षण र प्रवद्र्धनका लागि संघीय लोकतान्त्रिक गणतन्त्रले अवसर दिएको हो भन्नु भयो । उहाँले कार्यक्रमका विशेष अतिथि रहनु भएकी वरिष्ठ लोकगायिका हरिदेवी कोइरालालाई देखाउँदै उहाँ रैथानेका भाको पर्याय भएको र उहाँसँग धेरै सिक्ने मौका मिलेको छ भन्नुभयो । उहाँले लमजुङ मेरो माइती घर हो भनेर ठाडोभाका लगायतका रैथाने भाकाको झनै गौरव बढाएको उल्लेख गर्नुभयो । ठाडोभाकाका लागि आयोजक प्रतिष्ठानले गरेको योगदान प्रशंसनीय छ र यो ने पर्याप्त छैन, थप काम गर्नु पर्छ उहाँले भन्नुभयो ।
गीत संगीतले मानिसलाई नताव मुक्त गर्न मद्दत गर्ने भएको हुँदा पनि यसको महत्व रहेको उल्लेख गर्दै मन्त्री सिंखडाले प्रशिक्षणका सहभागिहरू प्रोत्सहित गर्दै हाल ठाडोभाकाका पर्यायका रुपमा रहेका बुद्धिमान दुरा धम्पु तथा सीता दुरालाई उछिन्न सक्ने क्षमताको विकास गर्नु आग्रह गर्नु भयो ।
आयोजक ठाडोभाका लोककला प्रतिष्ठानको सल्लाहकार समेत रहनु भएकी संगीत तथा नाट्य प्रतिष्ठान नेपालका संस्थपक प्राज्ञ, वरिष्ठ लोकगायिका हरिदेवी कोइरालाले पछिल्ला वर्षमा ठाडोभाकाले राष्ट्रियस्तरमा मात्र नभई अन्तराष्ट्रियस्तरमा समेत पहिचान दिन सफल रहेको छ । यसको आफ्नै शैली छ, त्यसलाई जीवन्त राख्नका लागि प्रयास भइरहेको छ । नेपालको पर्यटनको सम्भावनालाई समेत ठाडोभाका जस्ता रैथाने भाकाले भूमिका खेल्न सक्छन्, यो हाम्रो संस्कृति हो । संस्कृति र पर्यटन एकअर्काका पूरक हुन् त्यसैले ठाडाभाकाको महत्व छ उहाँको जोड थियो ।
सो अवसरमा गण्डकी प्रज्ञाप्रतिष्ठानका कुलपती सूर्यबहादुर बिखर्चीले ठाडोभाकाको गण्डकी प्रदेशस्तरीय प्रशिक्षण आयोजना भएको थाहा पाउँदा गर्वका अनुभव भएको बताउनु भयो । उहाँले लोकसंगीतले मानिसलाई राष्ट्रिय अ्रन्तराष्ट्रिस्तरमा चिनाउने काम गर्छ भने देशको पहिचानका लागि समेत योगदान गर्दछ भन्नुभयो ।
आयोजक प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले संस्थागत चिनारी दिदै ठाडोभाका शिरोमणि भेडीखर्के साइलाको निधनसँगै यो भाका मर्छ भन्ने धेरैले ठानेका थिए तर प्रतिष्ठानको सतप्रयासले अब यो भाका मर्दैन भन्ने सनिश्चित भएको छ भन्नुभयो । त्यसको प्रमाणका रुपमा यो कार्यक्रम पनि एक हो भने प्रतिष्ठानल स्थापना दिवसमा रहेक वर्ष सञ्चालन गर्ने ठाडोभाका प्रतियोगितामा एक पटक २७ वर्षीया सावित्री शाही पहिलो भएको र गत वर्षको प्रतियोगितामा २३ वर्षका भाइ नवीन बराल दोस्रो भएबाट यो भाका नयाँ पुस्तामा हस्तान्तरण हुँदैछ भन्ने उदाहरण हो पहाडीले उल्लेख गर्नुभयो । उहाँले यो वर्षदेखि ४० वर्षभन्दा कम उमेरका ठाडोभाकाका गायक गायिकाहरू जो कम्तिमा पाँच वर्ष प्रतिष्ठानको अभियानमा जोडिएका छन्– को प्रोत्साहनका लागि २२ हजार २२२ रुपैयाँ नगद, सम्मान पत्र र दोसल्ला रहेको ‘ठाडोभाका– सुवे. सन्तरबहादुर गुरुङ स्मृति पुरस्कार’बाट सम्मान गर्ने निर्णय भएको छ यस पुरस्कारले पनि यो गीतमा नयाँ पुस्तालाई आकर्षण गर्ने विश्वास गरिएको पहाडीले विश्वास व्यक्त गर्नुभयो ।
उहाँले गण्डकी प्रदेशका सामाजिक सिकास मन्त्री सिंखडालाई प्रतिष्ठानका संरक्षक बुद्धिमान दुरा ‘घम्पु’लाई प्रतिष्ठानकोतर्फबाट दिइएको ‘ठाडोभाका महानायक’को उपाधि राज्यकातर्फबाट समेत दिइनु पर्ने माग पत्र प्रतिष्ठानको तर्फबाट हस्तान्तरण गर्नु भएको थियो ।
उक्त प्रशिक्षणमा लमजुङका अतिरिक्त तनहूँ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी लगायतका जिल्लाका ३२ जनाले भाग लिएको प्रशिक्षणको सहकार्य गरिरहेको रोधिं टेलिभिजनका व्यवस्थपक भोज गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार ठाडोभाका लोककला प्रतिष्ठान नेपालका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा ‘घम्पु’, उपाध्यक्ष एवम् लोकगायिका सीता दुरा, कार्यकारी सदस्य एवम् लोकगायक ८२ वर्षीय अमरध्वज गुरुङ लगायतले प्रशिक्षण दिइरहनु भएको छ ।
आयोजक प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीको अध्यक्षतामा भएको प्रशिक्षणमा रोधिं टेलिभिजनका सञ्चालक लोकगायिका बालकाशी गुरुङले स्वागत तथा सोही टेलिभिजनका कार्यक्रम प्रस्तोता टस गुरुङले सञ्चालन गर्नु भएको थियो ।
प्रकाशित मिति २०८० माघ ५, शुक्रबार २०:१५ गते