सरकारले जिबी राई र उनका साथीहरूलाई किन नसमातेको ? : रवि लामिछाने

सरकारले जिबी राई र उनका साथीहरूलाई किन नसमातेको ? : रवि लामिछाने

अन्तरङ्ग न्युज

@antaranganews

२०८० माघ ८ गते सोमबार ०९:१९

रविले भन्नुभयो, ‘कुनै पनि निकायले मेरो बैंक खाता हेरे हुन्छ । सम्पत्ति सुद्धीकरण, प्रहरीले हेर्न मिल्छ । यो रकम आएको भए म जुनसुकै सजाय भोग्न तयार छु ।’

आफ्नो निजी खातामा एक करोड ८० लाख आएको गलत रहेको दाबी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ग्यालेक्सी सहकारीबाट एक करोड ८० लाख रुपैयाँ आफ्नो खातामा हालेको भन्ने समाचारको खण्डन गर्नु भएको छ । पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो निजी खातामा एक करोड ८० लाख जम्मा भएको भन्ने गलत रहेको उहाँले माघ ८ गते दाबी गर्नु भएको हो ।
‘ग्यालेक्सी छाड्दा लामिछानेको निजी खातामा १ करोड ८० लाख जम्मा’ शीर्षकमा कान्तिपुर दैनिकले समाचार लेखेको बारे प्रष्ट पार्न पत्रकार सम्मेलन गर्नु भएको हो । उहाँले ग्यालेक्सी छोड्दा आफ्नो खातामा एक करोड ८० लाख रुपैयाँ सहकारीकै पैसा हो भन्ने प्रमाणित गर्न खोजेर समाचार प्रकाशन गरेको भन्दै उहाँले आफूलाई ग्लोबल आईएमई बैंकले खातामा पैसा नआएको पत्र पठाएको जानकारी दिनु भयो । सभापति रविले पत्रकार सम्मेलन गरेर बैंकलाई नसोधी आफ्नोविरुद्धमा समाचार लेखिएको र आफ्नो निजी खातामा एक करोड ८० लाख आएको गलत रहेको दाबी गर्नुभयो ।
उहाँले तुरून्तै सार्वजनिक भएर बचतकर्ताको रकम फिर्ता गर्न जिबी राईलाई आग्रह समेत गर्नु भएको छ । रविले पत्रकारहरू मार्फत भन्नुभयो, ‘जिबी राईजी तपाईं जहाँ, संसारको जुन कुनामा हुनुहन्छ, मकै पोलेर भारी बोकेर जम्मा गरेका छन्, तिनको बचत जस्ताको तस्तै ब्याजसहित फिर्ता गरिदिनुहोस्, सरकारसँग सहकार्य गर्नुहोस्, सार्वजनिक हुनुहोस् ।’
सभापति रविले सरकारले जिबी राई र उनका साथीहरूलाई किन नसमातेको ? भन्दै प्रश्न समेत उठाउनु भयो ।
उहाँले भन्नुभयो, ‘यो जिम्मेवारी सरकारको हो । हामी सरकारमा पनि छैनौं हामीसँग त्यो क्षमता पनि छैन,’ उनले भने । सहकारी पीडितहरूलाई आफूले भेटेर लडाइँमा उनीहरू हारे पनि आफू नहार्ने भन्दै ढाडस दिएको समेत उहाँले स्मरण गर्नु भयो ।
सभापति रविले आफ्नो खातामा एक करोड ८० लाख रुपैयाँ जम्मा नै नभएको समेत उल्लेख गर्नुभयो । उहाँले कान्तिपुर दैनिकको मुख्य समाचार देखाउँदै रविले भन्नुभयो, ‘एक करोड ८० लाख जम्मा भयो भनेर पत्रिकामा छ । व्याख्या त कति हुन्छ हुन्छ तर यो न्याय भयो त ?’
समाचारका लागि भन्दै सधैंजसो राति १० बजेतिर फोन आउने गरेको उहाँको भनाइ छ । आफूसँग स्लिप भएको भन्दै मिडियाले प्रतिक्रिया लिन रातिराति फोन गर्दा टर्चर हुने गरेको सुनाउनु भयो ।
सभापति रविले ‘हामीले एक–अर्काविरूद्ध लड्ने होइन, बेथितिविरूद्ध लड्ने हो । तपाईंहरूले कत्तिले अपेक्षा गरेजस्तो अघिल्लो प्रेस मिटजस्तो हुनेजस्तो हुने हो कि, हेडलाइन पाइने भयो, गजब टिआरपी हुने भयो भनेर आउनुभयो होला, यसपटक तपाईंहरूलाई घाटा हुने भयो, अघिल्लो पटकको प्रेसमिटमा मैले आवेशवश पर्सनल अट्याक पनि गरेको छु । त्यसका लागि म क्षमा चाहन्छु । त्यस्तो मेरो उद्देश्य पनि होइन । त्यसरी आज प्रस्तुत हुँदिन, भविष्यमा पनि त्यसरी प्रस्तुत हुने मैले विचार गरेको छैन,’ उहाँको प्रष्टोक्ति थियो ।
मलाई जबरजस्त सहकारी ठग बनाउन खोजियो रविले निरन्तर आफूमाथि प्रहार गर्दै जबरजस्त सहकारी ठग बनाउन खोजिएको बताउँदै भन्नुभयो, ‘कुनै पनि निकायले मेरो बैंक खाता हेरे हुन्छ । सम्पत्ति सुद्धीकरण, प्रहरीले हेर्न मिल्छ । यो रकम आएको भए म जुनसुकै सजाय भोग्न तयार छु ।’

प्रकाशित मिति २०८० माघ ८, सोमबार २१:१९ गते
हजुरको प्रतिक्रिया