पत्रकार तथा सञ्चारमाध्यमहरूले छाडा हुनेहरूप्रति नैतिक दबाब सिर्जना गर्छन् : प्रजिअ अधिकारी

पत्रकार तथा सञ्चारमाध्यमहरूले छाडा हुनेहरूप्रति नैतिक दबाब सिर्जना गर्छन् : प्रजिअ अधिकारी

अन्तरङ्ग न्युज

@antaranganews

२०८० माघ ९ गते मङ्गलबार ०८:४३

प्रहरी, प्रशासनमा ठूलो भनिने अमुक दलको पछि नलाग्दासम्म आफ्ना कुरा भन्न वा न्याय पाउने वातावरण नरहेको, प्रहरीका सूचना गोप्य रहने नगरेको, जिल्लाका कार्यालयहरू तथा स्थानीय निकाय पत्रकारितामैत्री नभएको, बजार अनुगमन मौसमी हुनेगरेको जस्ता सुझाव पत्रकारहरू दिइएको थियो ।

प्रजिअ अधिकारीले प्रजिअको रुपमा आफ्नो यो तेस्रो जिल्ला भएको जानकारी दिदै गृह मन्त्रालयमा छँदा केही समय सूचना अधिकारीको भूमिका समेत निभाएको स्मरण गर्दै पत्रकारहरूको ओजप्रति आफू परिचित रहेको उल्लेख गर्नुभयो ।

बेसीशहर– लमजुङका नवागन्तुक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले लोकतन्त्रमा पत्रकार तथा सञ्चारमाध्यमको ठूलो महत्व छ, उनीहरूले मानिसमा नैतिक दबाब सिर्जना गर्छन् भन्नुभएको छ । उहाँले आफ्नो कार्यकक्षमा आयोजित जिल्लामा कार्यरत पत्रकार तथा सञ्चारमाध्यमका प्रतिनिधिहरूसँगको भेटघाटका अवसरमा माघ ९ गते त्यस्तो बताउनु भएको हो ।
पत्रकारहरूसँग परिचयात्मक भेटघाटमा उहाँले प्रजिअको रुपमा आफ्नो यो तेस्रो जिल्ला भएको जानकारी दिदै गृह मन्त्रालयमा छँदा केही समय सूचना अधिकारीको भूमिका समेत निभाएको स्मरण गर्दै पत्रकारहरूको ओजप्रति आफू परिचित रहेको उल्लेख गर्नुभयो । उहाँले सुशासन स्थापनादेखि विकासका काममा साझेदारी गर्न ढिलासुस्तिमा नैतिक दबाब सिर्जना गर्न पत्रकार तथा सञ्चारमाध्यमको गहन भूमिका रहेको आफूले पाएको उल्लेख गर्दै म प्रशंसा खोज्दिन तर राम्रो गर्नका लागि सामुहिक सदप्रयासमा साथ सहयोगको अपेक्षा गर्दछु भन्नुभयो । उहाँले आफ्ना अनुभव सेयर गरेर जिल्लामा सुशासन र सुव्यवस्था कायम गर्नका लागि पत्रकारहरूको सल्लाह सुझाव राख्न अनुरोध गर्नु भएको थियो ।
पत्रकारका गुनासा सुनिसकेपछि उहाँले सार्वभौम आम नागरिकले सेवा सर्वसुलभ रुपमा पाउनु पर्छ भन्नेमा आफ्नो सदैवप्रयास रहने र बिना दबाब, प्रभाव काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । प्रजिअ अधिकारीले म्याग्दीमा एक अलपत्र पुलका बारेमा पत्रकारहरूले ठोकेदारलाई एक ठाउँमा उभ्याएर कतिसम्म काम सक्नु हुन्छ ? भनिदिनु भन्ने पछि नैतिक दबाब परी योजना निर्माण गर्न सहयोग स्मरण गर्नुभएको थियो ।
सो अवसरमा पत्रकारहरूले आफ्नो भोगाईहरू राख्ने क्रममा माननीय ठेकेदारहरूका कारण विकासका योजना अलपत्र परेको, प्रहरी, प्रशासनमा अझैपनि ठूला भनिने अमुक दलको पछि नलाग्दासम्म सर्वसाधारणले आफ्ना कुरा भन्न वा न्याय पाउने वातावरण नरहेको, त्यस्ता पीडितहरूले न्यायका लागि दिने उजुरीमा प्रहरीले फलानाको नाम हटा वा फलानाको राख भन्ने आदेश दिने गरेको र प्रहरीका सूचना गोप्य रहने नगरेको, जिल्लाका कार्यालयहरू तथा स्थानीय तह पत्रकारितामैत्री नभएको, बनेका योजनाको पनि गुणस्तरमा प्रश्न उठ्ने गरेको, महंगीले डाँडो काटेको तर बजार अनुगमन मौसमी हुने गरेको र पछिल्ला महिनामा बजार अनुगमन सुस्ताएको, विकासका अड्डाले समेत सञ्चारमाध्यमप्रति भेदभावपूर्ण व्यवहार गर्ने गरेको, ढिलोचाडो कार्यालय प्रमुखहरू राजनीतिक दबाब र प्रभावमा पर्ने गरेको, कार्यालय पाइन्ट लगाउने, कछाड लगाउने तथा पुरुष र महिला जाँदा कर्मचारीहरूबाट भेदभाव हुने गरेको, जिल्लामा सञ्चालन हुने यातायात यात्रुमैत्री हुने वातावारण बन्न नसकेको लगायतका विषय उठाएका थिए ।
सो अवसरमा पत्रकार महासंघका जिल्ला अध्यक्ष परमेश्वर अधिकारी, निवर्तमान केन्द्रीय सदस्य नवीनराज कुइँकेल, प्रदेशका सदस्य रामजी राना, संस्थापक जिल्ला अध्यक्ष नवराज पहाडी, रेडियो मस्र्याङ्दीका स्टेशन मैनेजर मीना गुरुङ, सञ्चारिक समूहकी जिल्ला अध्यक्ष बसन्ता भटट् लगायतले सुझाव राख्नु भएको थियो ।

प्रकाशित मिति २०८० माघ ९, मंगलवार २०:४३ गते
हजुरको प्रतिक्रिया