काठमाडौं– निर्वाचन आयोगले आज माघ ११ गतेका लागि तोकेको राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान कार्य सुरु भएको छ । ऐले विहान ९ बजेबाट मदतान शुरु भएको हो ।
आउँदो फागुन २० गतेबाट रिक्त हुन लागेका २० पदमध्ये १९ पदमा मतदान सुरु भएको हो । रिक्त हुने एक पदमा राष्ट्रपतिबाट मनोनयन हुनेछ ।
अहिले ९ देखि सुरु भएको मतदान कार्यका लागि दिउँसो ३ बजेसम्म समय निर्वाधरण गरिएको आयोगले जनाएको छ ।
निर्वाचन आयोगका अनुसार यो निर्वाचनका लागि कुल दुई हजार ४७ मतदाता रहेका छन् । जसमध्ये कोसीमा कुल ३६७ मतदाता छन् । मधेसमा ३७४, वाग्मतीमा ३४७ मतदाता रहेका छन् । गण्डकीमा २३०, लुम्बिनीमा ३०५, कर्णालीमा १९६, सुदूरपश्चिममा २२८ मतदाता रहेका छन् ।
आयोगले निर्वाचनको परिणाम आजै साँझसम्म आउने जनाएको छ ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न माघ १० गते सम्बद्ध सबैमा आयोगले आग्रह गरेको छ ।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थासहितको सम्पूर्ण तयारीका साथ मतदान प्रक्रिया शुरु भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनु भयो । उहाँका अनुसार दिउँसो तीन बजे निर्वाचन सकिन्छ । एक डेढ घण्टा कागजपत्र, मुचुल्का लगायतको औपचारिकता पुरा गरिन्छ । राजनीति दल र उम्मेदवारका प्रतिनिधि बसेर केही छलफल गर्ने काम हुन्छ । त्यसपछि मतगणना सुरु हुन्छ । उहाँले भन्नुभयो, ‘साँझ ६– ७ बजेसम्ममा नजिता आइसक्ने आयोगको अपेक्षा छ ।’
निर्वाचनमा प्रदेशसभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रको व्यवस्था गरिएको छ ।
सबै प्रदेशका लागि दुई दुई वटा मतदान केन्द्र स्थापना गरिएको पौडेलको भनाइ छ । उहाँका अनुसार कोशी प्रदेशको विराटनगर, मधेस प्रदेशको जनकपुर, बागमती प्रदेशको हेटौंडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको दाङ, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा मतदान केन्द्र स्थापना गरिएको छ । उहाँले भन्नुभयो, ‘प्रदेशसभा सदस्यका लागि एउटा र पालिका प्रमुख उपप्रमुखका लागि एउटा गरी हरेक प्रदेशमा दुई दुई वटा मतदान केन्द्रको व्यवस्था गरिएको छ ।’
कानुनतः पदावधि सकिनु ३५ दिन अगावै निर्वाचन गर्नुपर्ने व्यवस्था छ ।
राष्ट्रियसभा सदस्यको पदका लागि मतदाता रहेका प्रदेश सभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुनेछ । निर्वाचनमा हालः कायम प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख÷उपप्रमुख गरी दुई हजार ४७ मतदाता गरी कूल मतभार ५७ हजार ५५९ हुनेछ । हाल कायमा प्रदेशसभा सदस्य ५४९ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी एक हजार ४९८ मतदाता रहेका छन् ।
यस निर्वाचनमा आठ दलका ५२ जना उम्मेदवार चुनावी मैदानमा छन् । सो प्रयोजनका लागि १२ दलले आयोगमा दर्ता गरेका थिए ।
प्रकाशित मिति २०८० माघ ११, बिहीबार ०९:३२ गते