काठमाडौँ– राष्ट्रिय सभा सदस्यको १९ पदका लागि आज भएको निर्वाचन अन्तर्गत १८ पदमा सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । एक पदमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएको घोषणा माघ ११ गते गरिएको हो ।
कोशी प्रदेशको महिला क्लस्टरमा गठबन्धनका चम्पा कार्कीलाई हराउँदै एमालेकी रुक्मिणी कोइराला पाँच हजार ८६ मतभारका साथ निर्वाचित हुनु भएको छ । उहाँका प्रतिस्पर्धी कार्कीले चम्पा कार्कीले चार हजार ९९२ मतभार प्राप्त गर्नु भयो । यो प्रदेशमा पुरुषतर्फ कांग्रेसका कृष्ण सिटौला पाँच २९२ मतभारसहित निर्वाचित हुनु भएको छ । उहाँका प्रतिस्पर्धी उद्धव पौडेलले चार हजार ५६२ मतभर मात्र पाउनु भयो । कोशीमा महिलातर्फ गठबन्धनका मतदातामध्ये ३ प्रदेश सभा र १७ स्थानीय तहका मतदाताले फ्लोर क्रस गर्दा गठबन्धनकी कार्की पराजित हुनुभएको हो ।
मधेस प्रदेशको दुई पदमा भएको निर्वाचन अन्तर्गत अन्य क्लस्टरमा कांग्रेसका आनन्द ढुंगाना र महिलातर्फ जसपपाका पूजा चौधरी निर्वाचित हुनु भएको छ भने बागमती प्रदेशमा पनि गठबन्धनका चारै जना विजयी महिलातर्फ नेपाली कांग्रेसका विष्णुदेवी पुडासैनी, दलिततर्फ एकीकृत समाजवादीका घनश्याम रिजाल विश्वकर्मा,
अन्यतर्फ नेपाली कांग्रेसका उम्मेदवार जीतजंग बस्नेत र अल्पसंख्यक तथा अपांगतातर्फ माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी निर्वाचित हुनु भएको छ ।
यसैगरी, गण्डकी प्रदेशको ३ सिटको भएको निर्वाचनमा पनि सत्तारुढ गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । जसमा कांग्रेसबाट अन्यतर्फ किरणबाबु श्रेष्ठ, अपांगता÷अल्पसंख्यकतर्फ पदमबहादुर परियार र माओवादीबाट मनरुपा शर्मा निर्वाचित हुनु भएको छ ।
उता, लुम्बिनीको दुई पदमा भएको निर्वाचनमा महिलातर्फ कांग्रेसकी विष्णुकुमारी सापकोटा र अन्य कलस्टरमा नेकपा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी विजयी हुनु भएको छ ।
यसैगरी, कर्णालीमा तीन वटा सिटका लागि भएको निर्वाचनमा अन्यतर्फ नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया, महिलातर्फ नेकपा एकीकृत समाजवादीका सावित्री मल्ल र दलिततर्फ नेकपा माओवादी केन्द्रका विष्णु विक विकल्प विजयी हुनुभएको छ ।
त्यस्तै, सुदूरपश्चिम प्रदेशमा गठबन्धनका महिला तर्फ माओवादीकी रेनु चन्द, अपाङ्गतर्फ कांग्रेसका नारायणदत्त भट्ट र अन्यतर्फ कांग्रेसकै बलदेव बोहरा विजयी हुनु भएको छ ।
फेरिने भो दलीय हैसियत, राष्ट्रिय सभामा माओवादी पहिलो बन्ने :
यसैबीच, आगामी फागुन २१ पछि राष्ट्रिय सभामा दलीय हैसियत फेरिने भएको छ । सो दिन मनोनीत बाहेक १९ सांसदका लागि आज भएको निर्वाचनमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाको गठबन्धनले १८ सिट जितेको छ । कोशी प्रदेशमा गठबन्धनमा भोटक्रस हुँदा एक सांसद गुमाए पनि राष्ट्रियसभामा सत्तारुढ माओवादी केन्द्र पहिलो दलका रूपमा स्थापित हुन सफल भएको छ ।
गत वर्षको सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा ३२ स्थानमा जितेर तेस्रो भएको माओवादी राष्ट्रियसभामा पहिलो स्थानमा पुगेको हो । १९ सिटको मत परिणामले राष्ट्रियसभाको पहिलो दल एमालेलाई तेस्रो स्थानमा खुम्चिन पुगेको हो ।
२०७२ मा संविधान जारी भएपछि निर्वाचित भएका राष्ट्रिय सभा सांसदहरूको पदावधि २, ४ र ६ वर्ष गरी गोला प्रथाबाट तय गरिएको थियो । गोलाप्रथाबाट दुई वर्षे कार्यकाल परेकाहरूको पदावधि २०७६ फागुन २१ मा सकिन लाग्दा माघ ९ मा १८ सिटका लागि राष्ट्रिय सभा निर्वाचन भएको थियो । उक्त निर्वाचनबाट तत्कालीन नेकपाले १६ सिट जितेको थियो । २०७४ सालमा ५९ सदस्यीय राष्ट्रिय सभामा सरकारले मनोनीत गर्ने तीन जनाबाहेक ४७ जना नेकपाका सांसद थिए ।
दुई वर्षअघि एमालेसँग राष्ट्रिय सभामा ३१ सांसद थिए । एमाले लगातार ६ वर्षदेखि राष्ट्रियसभाको पहिलो दलमा थियो । २०७४ माघ २४ मा भएको राष्ट्रिय सभा निर्वाचनबाट एमाले पहिलो दल बनेको थियो । त्यतिबेला एमाले २७ सिटमा विजयी भएर पहिलो दल बन्न सफल भएको थियो ।
२०७५ वैशाखमा एमाले र माओवादी मिलेर बनेको नेकपाको नाममा (राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनीत ३ जना) सहित ४१ सांसद थिए ।
राष्ट्रियसभामा माओवादीका हाल उपाध्यक्षसहित (एक मनोनीत) १६ सांसद रहेका छन् । आगामी फागुन २१ मा ३ जनाको पदावधि सकिने भए पनि निर्वाचनबाट ५ जना निर्वाचित हुँदा राष्ट्रियसभामा माओवादीका १८ सांसद पुग्ने सुनिश्चित भएको छ ।
२०७६ को निर्वाचनपछि राष्ट्रिय सभामा कांग्रेस १३ सांसदबाट ६ सांसदमा खुम्चिएको थियो । नेकपासँग गठबन्धन गरेर राजपा भने आफ्नो दुई सिट जोगाउन सफल भएको थियो । तत्कालीन समाजवादी पार्टीले आफ्नो दुई सिटमध्ये एक गुमाएको थियो । कांग्रेसले गुमाएको ७ र समाजवादीको १ गरी राष्ट्रिय सभामा ८ सिट तत्कालीन नेकपाले बढोत्तरी गरेको थियो ।
२०७८ मा आइपुग्दा नेकपा विभाजन भई एमाले र माओवादी अलग भए । त्यसबेला राष्ट्रिय सभामा अध्यक्षसहित एमालेका ३१ र उपाध्यक्षसहित माओवादीका १६ सांसद थिए ।
एमाले फुटेर माधव नेपालको नेतृत्वमा एकीकृत समाजवादी बन्यो । २०७८ भदौमा एमाले विभाजन हुँदा ३१ सांसदमध्ये सात सांसद माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा समाहित भए । माओवादी केन्द्रका दुई जना राष्ट्रियसभा सदस्य रामबहादुर थापा बादल र चन्द्रबहादुर खड्काले एमाले रोजे । माओवादीले निष्कासित गरेसँगै उनीहरूको सांसद पद पनि खारेज भएको थियो ।
यता हाल १० सांसदसहित तेस्रो स्थानमा रहेको कांग्रेसका ४ जनाको पदावधि सकिएर घर फर्किँदा पनि निर्वाचनबाट १० थपिँदा १६ जना पुगेका छ । यसअघि तेस्रो स्थानमा रहेको कांग्रेस अब दोस्रो स्थानमा पुग्ने छ । निर्वाचनमार्फत २ सिट जितेको एकीकृत समाजवादीको राष्ट्रिय सभामा उपस्थिति संख्या ८ नै कायम हुने भएको छ ।
आगामी फागुन २१ मा एक सांसदको पदावधि सकिन लाग्दा जसपाले निर्वाचनबाट सो स्थान सुरक्षित गरेको छ । राष्ट्रियसभामा पाँचौँ दलको हैसियतमा रहेको जसपाका तीन सांसद हुनुहुन्छ ।
कोशी प्रदेशको महिलातर्फ अनपेक्षित जित हात पारेको एमालेले आगामी फागुन २१ पछि १० जनामा सीमित हुनेछ । राष्ट्रियसभामा अध्यक्षसहित एमालेका सांसदको संख्या १८ छ । राष्ट्रपतिबाट मनोनीत वामदेव गौतमले एमालेभन्दा बाहिर देखिनु भएको छ । तत्कालीन केपी ओली नेतृत्वको सरकारकै पालामा राष्ट्रिय सभा सदस्यमा राष्ट्रपतिबाट मनोनीत गौतम पार्टी विभाजनपछि स्वतन्त्रकै हैसियतमा रहनु भएको छ ।
फागुन २१ पछि एमाले नेतृत्वले गौतमलाई पार्टीभित्रै फर्काएको खण्डमा भने राष्ट्रिय सभामा एमालेको उपस्थिति संख्या ११ रहने छ । तर, गौतम एकीकृत समाजवादीमा प्रवेश गरे राष्ट्रिय सभामा एमाले एकीकृत समाजवादीभन्दा जम्मा एक सिटले अगाडि हुने छ ।
कांग्रेसका नेता सिटौला हारको ह्याट्रिक मार सहन गर्नु परेन :
काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला हारको ह्याट्रिक मारबाट जोगिनु भएको छ । सिटौलाले राप्रपाका उम्मेदवार उद्धव पौडेललाई पराजित गर्दै राष्ट्रियसभाको यात्रा सुनिश्चित गर्नु भएको हो ।
काँग्रेस नेता सिटौला २०७४ र २०७९ को प्रतिनिधि सभा निर्वाचनमा लगातार पराजित भए पनि आज निर्वाचनमा विजयी भएसँगै अब उहाँलाई राष्ट्रियसभा अध्यक्षको प्रमुख दाबेदारको रूपमा समेत हेरिएको छ ।
२०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा लिङ्देनले उम्मेदवारी नै दिनु भएन । तर, सिटौला झापा– ३ मा माओवादी नेता पूर्णसिंह राजवंशीसँग पराजित हुनु भएको थियो ।
२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा राप्रपाका राजेन्द्र लिङ्देन सिटौलासँग पराजित हुनु भएको थियो । सिटौलाले १४ हजार ३५५ मत ल्याएर सांसद निर्वाचित हुँदा लिङ्देनको स्थान दोस्रो थियो । सिटौला २०७४ सालको निर्वाचनमा राप्रपाका तत्कालीन महामन्त्री राजेन्द्र लिङ्देनसँग पराजित बनेका थिए । तत्कालीन नेकपा गठबन्धनसँग तालमेल गरेर लिङ्देनले आफ्नो पक्षमा निर्वाचन पर्दा सिटौलाले भने हारको स्वाद चाखेका थिए ।
२०७४ मा झापा– ३ मा लिङ्देनका लागि वाम गठबन्धनको साथ लिएर राप्रपाले झापा ५ मा केपी ओलीलाई सघाएको थियो । त्यतिबेला लिङ्देन ४४ हजार ६१४ मतका साथ विजयी हुँदा सिटौलाले ३१ हजार १७१ मत पाए । पाँच वर्षपछि झापा ३ मा फेरि सिटौला र लिङ्देन चुनावी प्रतिस्पर्धामा हुँदा सिटौला फेरि पराजित बनेका थिए । लिङ्देन ४० हजार ६६२ मतका साथ विजयी हुँदा सिटौलाले सत्ता कांग्रेस–माओवादीसहितको गठबन्धन हुँदा पनि ३७ हजार ३८६ मत पाएर पराजय भोगेका थिए । दोस्रो पटक लिङ्देनले जित्दा पनि एमालेले उनलाई सहयोग गरेको थियो ।
प्रकाशित मिति २०८० माघ ११, बिहीबार २०:०१ गते