ललितपुर– यहाँको मंगलबजारस्थित नकिबहालमा जर्मन महिला मृत अवस्थामा फेला परेकी छन् । ५७ वर्षीया जर्मन नागरिक एडिइलएचइडी माघ १४ गते मृत फेला परेकी हुन् । उनको शव प्रहरीले पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आजै पठाएको छ ।
जर्मन नागरिक एडि इल एचइडीको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाएको ललितपुरका एसएसपी शेखर खनालले बताउनु भयो । उहाँका अनुसार मृतक महिलाको टाउकोमा चोट देखिएपछि ‘शंकास्पद’ मृत्यु भएको आशंकामा प्रहरीले तालिम प्राप्त कुकुरको सहयोग लिएर अनुसन्धान गरेको छ । ‘अनुसन्धानमा प्रयोग गरिएको कुकुरले पनि कुनै संकेत गर्न सकेको छैन ।’ अनुसन्धानमा खटिएका एक अधिकृतले भने । उनी दुई वर्षदेखि सो अपार्टमेन्टको दोस्रो तलामा बस्दै आएको खुलेको छ ।
राजभाइ बज्राचार्यको ग्रिनतारा हेरिटेज होम एण्ड अपार्टमेन्टको दोस्रो तलामा मृत भेटिएकी जर्मन नागरिक मिर्गौलाको बिरामी थिइन् । नागबहालस्थित ग्रीन तारा हेरिटेज होम एन्ड अपार्टमेन्टमा उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले बताउनु भयो । उहाँका अनुसार, उनी बस्ने कोठा (फ्ल्याट)को ढोकाको चुकुल लगाइएको थिएन, किचेनको धारा खुल्लै थियो, कोठाभित्र पानी जमेको थियो । उनकोमा सफाइकर्मी गएर कोठाभित्र उनको शव देखेपछि प्रहरीलाई खबर गरिएको थियो ।
पछिल्लोपटक उनी नेपाल आएको करिब १२ दिन भएको प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ । रिसोर्टबाट दुई दिनअघि मात्र उनी अपार्टमेन्टमा आएको खुलेको प्रहरीले जानकारी गराएको छ । उनले काभ्रेको नमोबुद्धमा ग्रीन तारा होमस्टे रिसोर्ट पनि चलाएको खुलेको छ ।
टाउकामा चोट देखिएपछि अनुसन्धानका निम्ति प्रहरीले ‘फरेन्सिक’ टोलीलाई समेत घटनास्थलमा बोलाएको छ । घटनास्थल ‘सिल’ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
घटनास्थलमा पुगेको फरेन्सिक विज्ञले पनि टाउकोमा देखिएको चोट ‘लडेर हुन सक्ने’ राय दिएका छन् । पोष्टमार्टम रिपोर्ट आएपछि घटनाबारे थप अनुसन्धान गरिने एसएसपी खनालले जानकारी दिए । उनले भने–‘पोष्टमार्टम रिपोर्टको आधारमा थप अनुसन्धान अघि बढाउँछौं ।’
प्रकाशित मिति २०८० माघ १५, सोमबार १७:२४ गते