अन्तर्वार्ता :
काठमाडौँ– २०७४ सालको निर्वाचनमा अचानक उदाएकी थिइन् विवेकशील साझाकी रञ्जु दर्शना । उनले त्यो बेला भएको स्थानीय तहको चुनावमा जित्न नसके पनि चुनावमा उनले पाएको मतका कारण धेरैलाई आश्चर्यमा पारिन् ।
उनी काठमाडौँ महानगरपालिकाको निर्वाचनमा तेस्रो भइन् । धेरैले यसलाई वैकल्पिक शक्तिको उदयको रुपमा अर्थ्याए । तर उनले प्रतिनिधित्व गरेको पार्टी विवेकशील साझा बिस्तारै तितरबितर भयो । उनी भने अहिले त्यही पार्टीको विरासत थामेर बसेकी छन् । यिनै विषयमा केन्द्रित रहेर गरिएको कुराकानीको सम्पादित अंश :
के गर्दै हुनुहुन्छ ? अलि हराउनु भएको हो कि ?
दर्शना– धेरैले यही प्रश्न गर्नुहुन्छ । बिचमा अलिकति पढाइमा समय लगाएँ । ब्याचलर्स गरेँ, मास्टर्स गरेँ, अहिले पीएचडी गरेँ । अहिले आफू पनि पढ्छु, पढाउँछु पनि ।
राजनीतिक रूपमा हराउनु भयो भनेर निराश हुनेलाई केही भन्नु छ कि ?
दर्शना– म आफू हराएको होइन, अध्ययनका लागि चाहिँ बढी समय छुट्याएकी हुँ । म आफू केन्द्रित रहेँ । समाजका लागि कति कुरा बुझ्नै रहेछ । त्यो बुझ्ने प्रयास गरेँ । अहिले विवेकशील साझा पार्टीको महासचिव छु । अब पार्टीलाई नयाँ तरिकाले पुनर्जागरणमा लानुपर्छ भन्ने सोचेकी छु । हामीले पहिलेदेखि नै सामाजिक काम गरिरहेका हुन्थ्यौँ, चेतनामूलक अभियान चलाइरहेका हुन्थ्यौँ । अहिले पनि ती काम गर्नुपर्छ भन्नेमा सोचेकी छु ।
तपाईं भनेकै विवेकशील साझा र विवेकशील साझा भनेको नै तपाईं भन्ने मानिसहरूले बुझे । अनि तपाईं आफै ओझेलमा पर्दा निराश भएका हुन् कि ?
दर्शना– कुनै पार्टीमा एक जना मात्र मानिसका आधारमा चल्ने भन्ने चलन छ । तर हाम्रो पार्टीमा उज्ज्वल थापा, मिलन पाण्डे अझ समीक्षा बाँस्कोटा त अध्यक्ष नै हुन् । तर म अलि युवा भएर त्यसो भन्नुभएको होला । उहाँहरूले म प्रति जुन आशा गर्नुभएको छ, त्यसलाई निराशामा परिणत हुन दिन्नँ ।
तपाईंको सेल रोटी व्यवसाय चाहिँ के भयो ?
दर्शना– त्यो मेरो एउटा इमानदार प्रयास थियो, कुनै स्टन्टबाजी थिएन । मबाहेक अरू तीन जनाले पनि त्यसमा रोजगारी पाएका थिए । कोरोनाकालपछि त्यसलाई माथि उठाउन सकिएन । अहिले त्यो बन्द छ । तर त्यसलाई पुनः सञ्चालन गर्ने सोचाइ छ ।
तपाईंहरूको पार्टी एउटा सशक्त वैकल्पिक शक्तिका रूपमा उदाएको थियो । धेरैका मन मस्तिष्कमा थियो तर अहिले त्यो हराएर एउटा सम्झनामा मात्र गएजस्तो देखिन्छ नि ?
दर्शना– पहिला त तपाईंले मलाई पार्टीको महासचिवको रूपमा बोलाउनु भयो । यसबाट नै पार्टी त छ भन्ने बुझ्नुप¥यो । उतारचढावले पार्टी गाह्रो अवस्थामा पुगेकै हो । यति गाह्रोका बिचमा पनि केही गर्नुपर्छ भनेर अघिल्लो वर्ष महाधिवेशन गरेका हौँ ।
पार्टी किन यसरी सुस्ताएको ?
दर्शना– यसमा दुई तीनवटा पक्ष छन् । दश वर्षदेखि निरन्तर लाग्ने साथीहरू अलि थकित हुनुभएको पनि हो । खुट्टा तान्नेले अहिले कति धक्का पनि लागेको हो । अहिले नयाँ र ब्याचलर पढ्दै गर्ने साथीहरू पार्टीमा आउनुभएको छ । अब डिजिटल संगठनमार्फत उहाँहरूलाई जोड्नुपर्छ ।
हाम्रो पार्टीमा र अरू पार्टीमा पनि पहिला युवाहरू धेरे थिए । अहिले त्यस्तो छैन । यो जीवनचक्रको स्वाभाविक नियम हो । म पनि त २१ वर्षको उमेरमा यो पार्टीमा आएकी हुँ । अहिले त त्यो परिवर्तन भयो, जिम्मेवारी थपियो । तर पुरै सुस्ताएका छैनौँ । सक्ने जति काम गरिरहेकै छौँ । विभिन्न खबरदारी कार्यक्रम पनि गरिरहेका छौँ । अब यी काम बढाउनुपर्ने छ ।
यो पार्टी चाहिँ रवीन्द्र मिश्रले बिगारेको भन्ने आरोप तपाईंहरुको पार्टी भित्रैबाट लगाउन थालेका छन् भन्छन् । के यो सत्य हो ?
दर्शना– हामीले भन्नेभन्दा पनि आम नागरिकले यसो भनेको सुनेका छौँ । उहाँ पार्टीमा आउनु भयो, पछि जानुभयो । यदि सिद्धान्त नै मिल्दैनथ्यो भने पहिला नै आफ्नो बाटो लाग्नुभएको भए हुन्थ्यो भन्ने कुरा हो । उहाँले यस कुरामा चाँडै निर्णय गरिदिनु भएको भए हामी त्यस्तो तनावमा पुग्नु पर्दैनथ्यो ।
प्रवेश गर्दा त सबै कुरामा सहमति जनाएकै हो । तर बाहिरिँदा चाहिँ फरक मत भएको हो ?
दर्शना– धेरै नै फरक भयो । हामीले त त्यो प्रकरणमा पार्टीबाट कारबाही नै भोग्यौँ । स्वतन्त्ररुपमा चुनाव पनि लड्यौँ ।
राजनीतिमा थकाई हुँदैन भनिन्छ । तर तपाईंको पार्टीमा दश वर्षमै थाक्ने कस्ता कार्यकर्ता प्रवेश गरेछन् ?
दर्शना– यसलाई निश्चल हृदय भएका कार्यकर्ता प्रवेश गरेछन् भन्ने मलाई लाग्छ । उहाँहरूको पहिला कुनै दल र राजनीतिक संगठनसँग आबद्धता थिएन । राजनीतिबाट कस्तो परिणाम प्राप्त हुन्छ भन्ने कुरा उहाँहरूलाई थाहा छैन । धेरै थोरै केही उपलब्धि हुन्छ भन्ने मात्र उहाँहरूलाई थाहा छ । कसैले पनि हामी पोजिसनमा पुगेनौँ भनेर थकान लिनुभयो जस्तो लागेन । तर दश वर्षपछि पनि यो विषयमा बहस गर्नुपर्ने दुर्भाग्यपूर्ण अवस्था हो । हामीले बहस गर्नुपर्ने नयाँ प्रविधि र त्यो दुनियाँको बारे हो नि । हुनुपर्ने नयाँ विषयको बहस थियो, भयो पुरानो कुरामा भनेर पार्टी पङ्क्तिमा थकानको महसुस भएको जस्तो लाग्छ ।
यो पार्टी स्थापना हुँदा यसबेला सिंहदरबारमा तपाईंहरू देखिनुहुन्छ भन्ने अनुमान थियो । तर त्यो त विपरीत भयो ? तर अहिले त नयाँ आएको पार्टी रास्वपा देखियो, यसले पनि तपाईंहरू विस्थापित जस्तै हुनुभएको हो कि ?
दर्शना– उहाँहरू हामी कमजोर भएकै कारणले आउनुभएको हो । हामी वैकल्पिक राजनीतिको बाटो समाउने गरी आएको हौँ । तर अहिले अरू आएर त्यो बाटो समाएका छन् । यसमा चाहिँ खुसी लाग्छ । विचारको चाहिँ हाम्रो जित हो । तर साथीभाइलाई यो कुरा भने भने मलाई गाली नै गर्नुहुन्छ ।
परम्परागत धारको राजनीति चल्दैन भन्ने तपाईंहरूको मूल उद्देश्य चाहिँ अर्कैले लग्यो भन्ने महसुस गर्नुभएको हो ? राष्ट्रिय स्वतन्त्र पार्टीको उदयका कारण नै तपाईंहरूको पार्टी कमजोर भएको हो ?
दर्शना– हाम्रो विचार अर्काले लग्यो भन्ने पक्षमा म छैन । त्यो विचार लिएर नै हाम्रो पूर्णविराम लाग्छ भन्ने होइन । यो राजनीतिमा स्वाभाविक यात्रा हो, कहिले को अगाडि हुन्छ कहिले को पछाडि हुन्छ । निरन्तर लागि रहँदा अगाडि र पछाडि सँगसँगै आउन सकिन्छ । तर रास्वपाको आगमनले हाली मुहाली गरेर बसेको पार्टी थर्कमान चाहिँ भएका हुन् । हामीले पनि आफूलाई परिवर्तन गर्नुपर्छ । पढे लेखेका युवा र बौद्धिक समुदायलाई पार्टीमा अकर्षित गर्न जरुरी छ भन्ने चेतनाको विकास गराएको छ ।
तपाईंहरूको रास्वपालाई हेर्ने दृष्टिकोण चाहिँ के हो ? कतिले यसलाई खहरे खोला हो, सामाजिक सञ्जालले बनाइदिएको पार्टी पनि भन्छन् ?
दर्शना– राजनीतिक पार्टी चल्ने अलि कठिन प्रक्रिया रहेछ । यो कर्पोरेट हाउस जस्तो होइन रहेछ । हाम्रो विवेकशील पार्टी के हो भन्ने कुरा सामूहिक रूपमा नै केही कुरा बाहिर ल्याउँछौँ । पार्टी र संगठनलाई बलियो बनाउँदै लगेमा अलि सजिलो हुन्छ । हाम्रो समाज अवसरवादी पनि हो । पार्टीभित्र कस्ता अवसरवादी व्यक्तिहरूको प्रवेश भइरहेको छ भन्ने चिन्ने मेकानिजम् छ कि छैन भन्ने कुरा हो । नागरिकको आशा र भरोसामाथि अन्याय नहोस् जस्तो लाग्छ ।
हरेक हिसाबमा विवेकशील साझा र रास्वपा उस्तै हुन् ? कतै एकीकरण पो हुन्छ कि ?
दर्शना– धेरै साथीहरूले यस्तो पनि कुरा गर्नुभएको छ । तर यो मैले भनेर हुने कुरा होइन । यसका क्रमिक प्रक्रिया पनि हुन्छन् । कुनै पनि कार्यक्रम र त्यसका उद्देश्य मिल्यो भने मिलेर सहकार्य गर्न पानी बाराबार गर्न हुँदो रहेनछ भन्ने हो । तर यहाँ टाउकोको मूल्य तोक्ने र तोकिने पनि मिल्दा रहेछन् नि ! हामीलाई मिल्दैनौँ भन्ने अनि मिलेर आफ्नो फाइदाका लागि काम गर्दा रहेछन् । तर वैकल्पिक राजनीति गर्न आएकोले जनताको फाइदाका कुरा के हो त्यो नै हेर्नुपर्छ । दुवै मिल्दा जनतालाई फाइदा हुने रहेछ भने दुस्मन जस्तो पानी बाराबार गर्नुपर्ने अवस्था छैन ।
पार्टी एकीकरण नभए पनि आधारभूत कुरामा मिलेर चुनावमा जान सकिने भो नि ?
दर्शना– यसमा नकारात्मक कुरा मैले केही देखेको छैन । तर मैले मात्र निर्णय गर्ने कुरा होइन यो ।
तर तपाईंहरूको पार्टी त यति कमजोर रहेछ एउटा व्यक्तिले यता उति गर्ने बित्तिकै धराशायी भयो त ?
दर्शना– हामीले अध्यक्ष भनेको संस्था पनि हो है भनेर बेला बेलामा बुझाई राखेका पनि हुन्छौँ । हामीले त्यो बेला राम्रो कुरा मात्र अगाडि सार्यौँ र बाहिर देखायौँ । तर नराम्रो कुरा भित्रै राख्यौँ । त्यसैले उहाँ एक जना मात्र पार्टीबाट बाहिर जानेले केही भएन भन्ने पनि होइन । तर तहसनहसै भयो भन्ने पनि होइन ।
विवेकशील साझालाई पहिलेको ठाउँमा ल्याउन फेरि पुनर्जागरण अभियान चलाउने भन्नुभयो ? अब त्यस्तो के कार्यक्रम ल्याउँदै हुनुहुन्छ ?
दर्शना– पहिलाका कार्यक्रमलाई निरन्तरता दिने तयारीमा छौँ । जाजरकोट भूकम्प गएको ठाउँमा हामी पुगेका थियौँ । त्यहाँ सानो भए पनि विद्यालय पुनर्निर्माणमा सहयोग गर्यौंं । अहिले त्यो सामाजिक सेवाको हिसाबमा यसलाई एउटा प्रोजेक्टका कुरा अगाडि बढायौँ । यस्ता कामलाई हामी निरन्तरता दिन्छौँ । त्यसपछि पुराना पार्टीका साथीहरूलाई जोड्ने प्रयासमा हुनेछौँ ।
हामीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख भनेका छौँ । अर्को सांसदहरू नै मन्त्री हुने व्यवस्था हुनुहुँदैन भनेका छौँ । सांसद सांसदको रूपमा रहनुप¥यो । मन्त्री विज्ञताका हिसाबले बनाउनुपर्छ । प्रदेशको विषयमा जनता माझ निराशा छ । यो निराशालाई हटाइदिन पर्छ भन्ने हाम्रो धारणा हो ।
प्रदेश, धर्म निरपेक्षता र गणतन्त्र खारेजीको कुरा आएको छ । त्यो विषयमा तपाईंको पार्टीको कुरा चाहिँ के हो ?
दर्शना– हामीले संविधानवाद मान्छौँ भनेका छौँ । हाम्रो यही कुरा चित्त नबुझेर तत्कालीन पार्टी अध्यक्ष रवीन्द्र मिश्र हामीलाई कारबाही गरेर राप्रपामा जानुभएको हो ।
अहिले संसद् कसरी चलेको जस्तो लाग्छ ?
दर्शना– संसद् भनेको जनताका कुरा छलफल गर्ने थलो हो । त्यसमा सरकारको ध्यानाकर्षण गराउने मात्र होइन, भयो कि भएन ? भनेर जाँच्ने थलोको रूपमा विकास हुनुपर्छ । तर संसद् प्रभाकारी ढङ्गले चलेको छैन ।
राजतन्त्र फर्किन्छ भनेर फागुनदेखि आन्दोलन गर्ने भनेर घोषणा भएको छ । फर्केला राजतन्त्र ?
दर्शना– लोकतन्त्र भएर नै पूर्वराजाले यस्तो भनेर कुरा गर्न पाउनु भएको छ । अहिले अर्थतन्त्र कमजोर हुँदै गएको छ । यसलाई बलियो बनाएपछि मात्र हामीलाई कुन तन्त्र ठीक भनेर बहस गर्ने बेला आउँछ ।
प्रकाशित मिति २०८० माघ १५, सोमबार १८:०३ गते