बेसीशहर– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को संगठन विस्तारले लमजुङमा फेरि गति लिने भएको छ । केही सातादेखि सुस्ताएको रास्वपाको संगठन विस्तार क्रमलाई निरन्तरता दिने माघ १६ गते यहाँ सम्पन्न बैठकले निर्णय गरेसँगै त्यस्तो खुलासा भएको हो ।
रास्वपाका जिल्ला संयोजक धर्म केसी, सहसंयोजक अशोक सापकोटा, निर्वाचन क्षेत्र समितिका सदस्य प्रकाश थापा, मर्स्याङदी गाउँपालिकाका अध्यक्ष भद्रमोहन थापा तथा बेसीशहर नगरपालिकाको सबै वडाका अध्यक्षहरू सहित सहभागी बैठकले त्यस्तो निर्णय गरेको हो । बैठक बेसीशहर नगर समितिको आयोजनामा सोही समितिका अध्यक्ष कृष्ण राउतको अध्यक्षतामा सम्पन्न भएको नगर सचिव शर्मिेला अधिकारीले बताउनु भयो ।
उहाँका अनुसार पार्टी सदस्यता अब एक सय रुपैयामै बन्न सक्ने र त्यो पनि दिन नसक्नेलाई निःशुल्क सदस्य बन्न सक्ने निर्णय गरिएको छ । कार्यालयको व्यवस्थापन, पार्टी संगठनलाई जीवन्तता दिनका लागि बेसीशहर नगर सभापतिकै संयोजकत्वमा एक पाँच सदस्यीय समिति गठन गरिएको छ भने निकट भविष्यमै प्रशिक्षण लगायतका कार्यका साथै संगठन विस्तारको कार्यलाई गति दिने निर्णय गरिएको छ । व्यवस्थापन समितिको सदस्यमा होमबहादुर रावत, ध्रुव ढकाल, हरि अधिकारी र अवलदिन मिया रहनु भएको बेसीशहर नगर समितका उपाध्यक्ष हरिकृष्ण बुढाथोकीले जानकारी दिनु भएको छ ।
यस अघि सो दलको सदस्य बन्नका लागि एक हजार रुपैयाँ तिर्नु पर्ने र अनलाइन फार्म भर्नु पर्ने प्रावधानलाई ऐले सहज बनाइएको सो दलका जिल्ला संयोजक केसीले बताउनु भयो । उहाँका अनुसार यसअघि सदस्यता शुल्क आफ्नो व्यक्तिगत कामले जिल्लामा अनुपस्थित भएको स्थितिको अब अन्त्य भएको छ । उहाँले भन्नुभयो, ‘अब संगठन विस्तार क्रमले गति लिन्छ ।’
यो बीचमा जिल्लाका संयोजक र म आफै पनि पारिवारिक उल्झनमा अल्झिनु परेका कारणले संगठन विस्तार क्रम केही सुस्ताएको जस्तो भए पनि अब गति लिन्छ । रास्वपा प्रतिको आशालाई हामी विश्वासमा बदल्छौं सहसंयोजक अशोक सापकोटाले बताउनु भयो ।
वैठकले सदरमुकाम क्षेत्रमात्र नभई जिल्ला भित्रका सबै वडामा संगठन विस्तार गर्ने निर्णय गरेको उक्त बैठकमा सहभागी वरिष्ठ पत्रकार नवराज पहाडीले बताउनु भएको छ । उहाँका अनुसार रास्वपाको बैठकले सदस्यता पारदर्शी बनाउने निर्णय गरेको छ । उहाँले भन्नुभयो, ‘फागुनदेखि हरेक महिना बनेका सदस्यको नाम अर्को महिनाको १ गते सार्वजनिक गर्ने निर्णय भएको छ ।’
प्रकाशित मिति २०८० माघ १७, बुधबार ०९:०८ गते