खत्रीठाँटी(लमजुङ)– सुन्दरबजार नगरपालिका– ६ को खत्रीठाँटीमा बस दुर्घटना पछि धेरै यात्रुहरू गम्भीर घाइते भए । दुर्घटनापछि भएका विरामीलाई उपचारका लागि कसैलाई एम्बुलेन्स त कति विरामीलाई बसमा हालेर नमूना सामुदायिक अस्पताल पुर्याइयो ।
एम्बुलेन्सको हर्न बजेको र गाडीभरि विरामी तथा आफन्तको चिच्याबट सुनेर नजिकैबाट आत्तिदै आएका मान्छेहरू क्षण भरमै अस्पताल भर धुरिए । अस्पतालमा अस्पतालको सबै जनशक्तिद्वारा पुलिसको सहयोगमा विरामीलाई अवस्था हेरी इमर्जेन्सी र साधारण वार्डमा राखेर उपचारको प्रक्रिया थालियो । केही विरामीहरू ईन्तु न चिन्तु थिए । विरामीका आफन्तहरू रुँदै– कराउँदै र चिच्याउदै अस्पताल परिसरमा जम्मा भएका थिए । अस्पतालको दृश्य निकै हृदयविदारक र तनावपूर्ण देखिन्थ्यो ।
अस्पताल भित्र उपचारका लागि ठाउँ नभएपछि कति विरामीलाई अस्पतालको हाता बाहिरै सुताएर उपचार थालिएको थियो । यो दृश्य माघ १७ गते दिउँसोको हो ।
माथिको उल्लेखित दृश्य सुन्दरबजारको खत्रीठाँटी र नमूना सामुदायिक अस्पतादमा भएको हो ।
यी रहफहरू पढ्दै गर्दा तपाईं झुक्किनु भएको त छैन नि ! ? नआत्तिनुहोस् !
माथिको दृश्य एच. डि .सि.एस नमूना सामुदायिक अस्पतालको आयोजनामा खहरे स्थित विद्या ज्योति मा.वि.का विद्यार्थीहरूको सहयोगमा दुर्घटना पश्चात् आपत्कालीन अवस्थाको कसरी समाधान गर्ने ? भन्ने बारेमा गरिएको प्रयोगात्मकको पूर्वाभ्यास हो । साथमा सो कृत्रिम घट्नाको फोटो फिचर : 
– शोभा ठकुरीको सहयोगमा ।
प्रकाशित मिति २०८० माघ १७, बुधबार २३:०८ गते