ठाडोभाका प्रतिष्ठानद्वारा दुई व्यक्तित्व पुरस्कारका लागि छनौट

ठाडोभाका प्रतिष्ठानद्वारा दुई व्यक्तित्व पुरस्कारका लागि छनौट

अन्तरङ्ग न्युज

@antaranganews

२०८० माघ २० गते शनिवार ०८:५५

ठाडोभाका– टीकाकुमारी राष्ट्रिय सम्मानको स्थापना प्रतिष्ठानका सल्लाहकार एवम् वरिष्ठ समाजसेवी स्व. नरेन्द्रराज ढुंगाना सुन्दरबजार– ७, लमजुङले आफ्नी ममतामयी आमाको स्मृतिमा स्थापना गरिदिनु भएको हो । त्यस्तै सुवे. सन्तबहादुर गुरुङको स्मृति गत वर्ष ठाडोभाकाको गोरखामा सञ्चालित कार्यक्रममा ज्यान गुमाउन पुग्नु भएका ठाडोभाकाका अभियन्ता उहाँको परिवारको सहयोगमा स्थापना गरिएको हो ।

कवि जगदीश्वर र लोकसंस्कृतिकर्मी बालकाशीलाई राष्ट्रिय सम्मान समर्पण गरिने

बेसीशहर– ठाडोभाका लोककला प्रतिष्ठान नेपाल लमजुङले स्थापना दिवसका अवसरमा वितरण गर्ने दुई पुरस्कारका लागि पुरस्कृत व्यक्तित्वको छनौट गरेको छ । ‘ठाडोभाका– टीकाकुमारी राष्ट्रिय सम्मान– २०८०’का लागि कवि जगदीश्वर पोखरेल र ‘ठाडोभाका– सुवे. सन्तबहादुर गुरुङ स्मृति राष्ट्रिय पुरस्कार’ रोधिं टेलिभिजन पोखराका सञ्चालिका एवम् प्रतिष्ठानका वरिष्ठ आजीवन सदस्य बालकाशी गुरुङलाई समर्पण गरिने भएको हो ।
सो पुरस्कार ठाडोभाका लोककला प्रतिष्ठान नेपाल, लमजुङको आठौं स्थापना दिवसको उदघाटका अवसरमा यही माघ २५ गते वितरण गर्ने तयारी गरिएको प्रतिष्ठानका कोषाध्यक्ष सीता गुरुङले बताउनु भयो । उहाँका अनुसार ती पुरस्कारका राशि क्रमशः १० हजार पाँच रुपैयाँ नगद, सम्मान पत्र र दोसल्ला तथा २२ हजार २२२ रुपैयाँ नगद, सम्मान पत्र र दोसल्ला रहेको छ ।
‘ठाडोभाका– टीकाकुमारी राष्ट्रिय सम्मान’ प्रतिष्ठानले विगतका चार वर्षदेखि वितरण गर्दै आएको छ । सो पुरस्कार राष्ट्रियस्तरमा लोककला संस्कृति, गीत, संगीत तथा लोक साहित्यमा विशेष योगदान गर्ने व्यक्तित्वलाई उक्त सम्मान समर्पण गर्ने प्रतिष्ठानको नीति रहेको प्रतिष्ठानका अध्यक्ष नवराव पहाडीले बताउनु भयो ।
जगदीश पोखरेल संक्षिप्तमा :
कवि पोखरेल आमा नानीमाया पोखरेल र बुबा स्व. दीनानाथ पोखरेलका सुपुत्रका रुपमा २०१० माघ ५ गते, सुन्दरबजार नगरपालिका– ७ पाउँदीबजार, लमजुङमा जन्म भएको हो ।
शास्त्रीय छन्द साधकका रुपमा परिचय बनाउन सफल हुनु भएका कवि पोखरेलका १८ कतिा संग्रहका कृतिहरू प्रकाशित छन् । तीमध्ये तीन कृति लोक साहित्यमा आधारित रहेका छन् । ती कृतिका साथ अन्य १५ कृतिको एकसाथ गत मंसिरमा विमेचन गरिएको हो । यसअघि उहाँका तीन कृति २०६९ सालमा एकसाथ विमोचन गरिएका थिए । उहाँ अनुपम सिर्जना प्रतिष्ठान नेपाल कलङ्की काठमाडौको उपाध्यक्ष, कर्मदा सिर्जना मञ्च नेपाल पाउँदीबजार लमजुङको अध्यक्ष, मर्स्याङ्दी वाङ्मय प्रतिष्ठाको आजीवन सदस्य तथा दिव्यश्वरीनागरिक समाज, लोकन्थली, भक्तपुरको सल्लाहकार हुनुुहुन्छ । उहाँको रुचि पत्रपत्रिका तथा कविता पढ्ने र लेख्ने रहेको छ भने सामाजिक सेवामा पनि कवि पोखरेलको उत्तिकै रुचि रहेको छ ।
यसअघि कवि पोखरेल सूचक सम्मान– २०७३ काठमाढौं, फ्यूचरस्टार आ.मा.वि. लमजुङको रजत जयन्ती कविता प्रतियोगितामा द्वितीय पुरस्कार। गोकर्णेश्वर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले गरेको प्रथम देशव्यापी राष्ट्रिय कविता प्रतियोगितामा प्रथम पुरस्कार बाट सम्मानित हुनुहुन्छ ।
भारतको दिल्ली, गुजरात, कलकत्ता, चेन्नाई, बैङ्लोर, सिलीगुढी, दार्जेलिङ, काशी, वृन्दावन, हरि–द्वार, देहरादुन, गुप्तकाशी, उत्तरकाशी आदि, चीनको गोन्जाउ, युनाइटेड अरब इमिरेटको दुबई, कतारको दोहा, अमेरिकाको न्यूयोर्क, क्यालिफोर्नियाको भ्रमण अनुभव सँगाल्नु भएको छ ।

ठाडोभाका– टीकाकुमारी राष्ट्रिय सम्मानको स्थापना :
उक्त पुरस्कार प्रतिष्ठानका सल्लाहकार एवम् वरिष्ठ समाजसेवी स्व. नरेन्द्रराज ढुंगाना, सुन्दरबजार, लमजुङले आफ्नी ममतामयी आमाको स्मृतिमा स्थापना गर्नु भएको हो । पुरस्कारको स्थायित्वका लागि ढुंगानाले एक लाख एक हजार पाँच सय पाँच रुपैयाँको अक्षयकोष स्थापना गरिदिनु भएको छ । सोही कोषको व्याज रकमबाट उक्त पुरस्कार वितरण गर्ने गरिएको प्रतिष्ठानका कोषाध्यक्ष सीता गुरुङले जानकारी दिनु भएको छ ।
ठाडोभाका– टीकाकुमारी राष्ट्रिय सम्मानबाट यसअघि ठाडोभाका गायिका एवम् सम्राज्ञी नन्दमाया दुरा– २०७६, ईन्द्रणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेल– २०७७, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष अमर विरही गुरुङ– २०७८, दोहोरीका बादशाह राजु परियार– २०७९ सम्मानित भइसकेको अध्यक्ष पहाडीले जानकारी दिनुभयो ।
यसैगरी, ‘ठाडोभाका– सुवे. सन्तबहादुर गुरुङ स्मृति राष्ट्रिय पुरस्कार’ यो वर्ष रोधिं टेलिभिजन, पोखराका सञ्चालिका बालकाशी गुरुङलाई समर्पण गरिने भएको छ । बालकाशी गुरुङ लोकसंस्कृतिको अभियानकर्मी हुनुका साथै ठाडोभाकाप्रति विशेष लगाब रहेको छ ।

उहाँले रोधिं टेलिभिजनबाट ठाडोभाकाको प्रचारप्रसारमा सहयोग गर्नुका साथै ३ वर्ष अघि लमजुङमा लाग्ने करापुटारको शिवरात्री मेलामा ठाडोभाकाको छायांकन गर्नुका अतिरिक्त लमजुङको नौथरमा आयोजित ठाडोभाकाको पहिलो प्रशिक्षणमा समेत भाग लिएर गायन र नृत्यमा समेत दखल राख्न प्रयासरत हुनुहुन्छ । लमजुङे चेली समेत रहनु भएकी उहाँकै कारणले पोखरामा हालै तीन दिने प्रशिक्षण सञ्चालन गर्न समेत प्रतिष्ठानले अवसरमा पाएको हुँदा यस वर्षबाट वितरण गर्ने उक्त पुरस्कारबाट उहाँलाई सम्मान गरिने अध्यक्ष पहाडीले बताउनुभयो ।
‘ठाडोभाका– सुवे. सन्तबहादुर गुरुङ स्मृति राष्ट्रिय पुरस्कार’को स्थापना :
ठाडोभाकाको गायन, बाध्यवादन तथा नृत्यमा लाग्ने नयाँ पुस्ताको प्रोत्साहनका लागि सो पुरस्कार स्थापना गरिएको प्रतिष्ठानका अध्यक्ष पहाडीले बताउनु भयो । उहाँका अनुसार उक्त पुरस्कार गत वर्ष ठाडोभाकाको गोरखामा सञ्चालित कार्यक्रममा ज्यान गुमाउन पुग्नु भएका ठाडोभाकाका अभियन्ता सुवे. सन्तबहादुर गुरुङको स्मृतिमा स्थापना गरेको हो । उहाँले भन्नुभयो, ‘उक्त पुरस्कार प्रतिष्ठानको स्थापना दिवसमा हरेक वर्ष ४० वर्ष कम उमेरका ठाडोभाकाका अभियन्ता एक जनालाई प्रदान गरिने छ ।’

प्रकाशित मिति २०८० माघ २०, शनिबार ०८:५५ गते
हजुरको प्रतिक्रिया