बेसीशहर– गण्डकी प्रदेश सभाका सदस्य भेषबहादुर पौडेलले हाम्रो पहिचान के हो ? त्यसको जगेर्नातर्फ लाग्नु आजको आवश्यकता हो भन्नुभएको छ । उहाँले ठाडोभाका लोककला प्रतिष्ठान नेपालको आठौं स्थापना दिवसमा यहाँ आयोजित कार्यक्रमको उदघाटन गर्दै माघ २५ गते त्यस्तो बताउनु भएको हो । उहाँले हामी कोही भारतीय जस्तो कोही चाइनिज जस्ता छौं, विदेशमा जाँदा र स्वदेशमै पनि हाम्रो पहिचान भनेको भाषा, भेषभुषा एवम् लोकसंस्कृतिनै हो, यसले हामी नेपालीको पहिचान बोकेको छ त्यसैले यसको संरक्षण र प्रवद्र्धनमा लाग्न जरुरी छ, जुन काम यो प्रतिष्ठानले गरिरहेको छ म सराहना गर्दछु भन्नुभयो ।
उहाँले भन्नुभयो, ‘लोकसंस्कृति र ठाडोभाका पूरकको रुपमा रहेका छन्, ठाडोभाका हाम्रो जिल्लाको मौलिक चिनारी समेत हो, यसको महत्व बुझेर नै आफूले आजका अन्य दुई कार्यक्रम छाडेर यसलाई समय दिएको हुँ ।’ यो अभियानमा लाग्ने सबै बधाईका पात्र भएको उल्लेख गर्दै आफू पनि प्रतिष्ठानको संस्थापक आजीवन सदस्य भएर अभियानमा जोडिएको उहाँले स्मरण गर्नुभयो । यो अभियानमा आफूसँगै रहेको, प्रतिष्ठानकोे उज्ज्वल भविष्य छ यसको उन्नतिका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उक्त अवसरमा ‘ठाडोभाका– टीकाकुमारी ढुंगाना स्मृति पुरस्कार’बाट कवि जगदिश्वर पोखरेललाई शास्त्रीय छन्दका साधक उपाधि सहित र ‘ठाडोभाका– ह.ने. सुवे. सन्तबहादुर गुरुङ स्मृति पुरस्कार’बाट ठाडोभाकाकी उदीयमान कलाकार बालकाशी गुरुङलाई सम्मान गरिएको थियो ।
सो सम्मान सांसद पौडेल, प्रतिष्ठानका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’, प्रतिष्ठानका सल्ल्लाहकार रमेशचन्द्र अधिकारी, प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीका साथै ती पुरस्कारका संरक्षक क्रमशः सीता ढुंगाना र निर्मला गुरुङले ती पुरस्कार समर्पण गर्नु भएको हो । ती पुरस्कारको राशि क्रमशः १० हजार पाँच रुपैयाँ र २२ हजार २२२ रुपैयाँ नगद र दुबैमा सम्मान पत्र र दोसल्ला रहेको प्रतिष्ठानका कोषाध्यक्ष सीता गुरुङले बताउनु भयो । उहाँका अनुसार त्यसअघि कवि जगदिश्वर पोखरेलका बारेमा कर्मदा सिर्जना मञ्च पाउँदीका उपाध्यक्ष लक्ष्मीप्रसाद मिश्र र बालकाशी गुरुङको जीवनीका बारेमा प्रतिष्ठानका आजीवन सदस्य सावित्री शाहीले प्रकाश पार्नु भएको थियो । 
‘ठाडोभाका– टीकाकुमारी ढुंगाना स्मृति पुरस्कार’बाट सम्मानित हुने कवि जगदिश्वर पोखरेल पाँचौं व्यक्तित्व हुनुहुन्छ भने ‘ठाडोभाका– ह.ने. सुवे. सन्तबहादुर गुरुङ स्मृति पुरस्कार’बाट सम्मानित हुने बालकाशी गुरुङ पहिलो व्यक्तित्व भएको प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले बताउनु भयो । उहाँका अनुसार ‘ठाडोभाका– टीकाकुमारी ढुंगाना स्मृति पुरस्कार’ नेपाली लोक संगीत तथा लोकसाहित्यमा विशेष योगदान गर्नु हुने व्यक्तित्वलाई समर्पण गर्ने गरिन्छ । ‘ठाडोभाका– ह.ने. सुवे. सन्तबहादुर गुरुङ स्मृति पुरस्कार’ ४० वर्षभन्दा कम उमेरका ठाडोभाकाका अभियानकर्मीलाई समर्पण गरिन्छ । उहाँले भन्नुभयो, ‘टीकाकुमार प्रतिष्ठानका सल्लाहकार, वरिष्ठ समाजसेवी स्व. नरेन्द्रराज ढुंगानाले स्थापना गर्नु भएको हो भने ‘ठाडोभाका– ह.ने. सुवे. सन्तबहादुर गुरुङ स्मृति पुरस्कार’ प्रतिष्ठानको पहलमा उहाँका परिवारजन, इष्टमित्र, नातेदारको सहयोगमा स्थापना गरिएको हो ।
पुरस्कारको अक्षयकोषमा रकम थप :
उक्त अवसरमा ‘ठाडोभाका– ह.ने. सुवे. सन्तबहादुर गुरुङ स्मृति पुरस्कार’को अक्षयकोषमा आज उहाँकी बुहारी निर्मला गुरुङले आफ्ना नातेदारबाट उपलब्ध ३० हजार रुपैयाँ प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीलाई हस्तान्तरण गर्नु भयो ।
आजीवन सदस्य बन्ने घोषणा :
सो अवसरमा नेपाली काँग्रेसका जिल्ला सचिव विमल श्रेष्ठले उक्त कार्यक्रमका साथै प्रतिष्ठानले गरेका कार्यक्रमको प्रशंसा गर्दै आफू पनि प्रतिष्ठानको आजीवन सदस्य बन्ने घोषणा गर्नु भयो । उहाँले आउदा दिनमा प्रतिष्ठानका कार्यक्रम थप प्रभावकारी होउन् भन्ने कामना गर्नु भएको थियो ।
यसैगरी, शुभकामना मन्तव्य व्यक्त गर्नेहरूमा बेसीशहर नगरपालिका– ८ का वडाध्यक्ष एवम् प्रतिष्ठानका आजीवन सदस्य पवित्रा थापा रानाले शुभकामना मन्तव्य सहित आफ्नो सांगीतिक प्रस्तुति राख्नु भएको थियो ।
संस्थागत विकासमा योगदान गर्ने व्यक्तित्वहरू सम्मानित :
उक्त अवसरमा आयोजक प्रतिष्ठानले संस्थागत विकासमा सहयोग गर्नु हुने व्यक्तित्वलाई सम्मान गरेको छ । सम्मानित हुनेहरूमा प्रतिष्ठानका सल्लाहकार एवम् पूर्वप्रजिअ रमेशचन्द्र अधिकारी, ठाडोभाकाको तेस्रो पुरस्कार प्रायोजन गर्नु हुने प्रतिष्ठानका उपाध्यक्ष शोभा थापा, कार्यकारी सदस्य सीमादेवी ढकाल ‘सुधा’ हुनुहुन्छ ।
उक्त अवसरमा सम्मानित हुने व्यक्तित्व कवि जगदिश्वर पोखरेलले मन्तव्य सहित कविता, ठाडोभाकाका उदीयमान कलाकार बालकाशी गुरुङले मन्तव्य सहित ठाडोभाका प्रस्तुत गर्नु भएको थियो ।
प्रतिष्ठानका सल्लाहकार रमेशचन्द्र अधिकारी, निवर्तमान वरिष्ठ उपाध्यक्ष मातृका खनाल, निर्मला गुरुङ सहितले शुभकामना व्यक्त गर्नु भएको थियो । सो अवसरमा प्रतिष्ठानको विगतका कार्यक्रम जस्तै ठाडोभाकाबाट प्रतिष्ठानका उपमहासचिव एवम् वरिष्ठ आजीवन सदस्य आश विक र कार्यकारी सदस्य एवम् वरिष्ठ आजीवन सदस्य राधा भण्डारीले स्वागत गर्नु भएको थियो ।
लोकसंस्कृतिका अभियानकर्ताहरूका लागि चिन्ता र चुनौतिको विषय :
सो अवसरमा आफ्नो मन्तव्यमा प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले सहयोगीहरू सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । उहाँले प्रतिष्ठानले नेपालको मौलिकता चिनाउने काम गरेको बताउँदै विदेशी संस्कृतिको नक्कल गर्दा ठूलो हुन्छु भन्ने गलत सोचका कारणले गर्दा ठाडोभाकाजस्ता मौलिक लोक संस्कृति संकटमा परेको उल्लेख गर्नु भयो । उहाँले राम्रो कुरा जोसुकैका पनि सिक्न सकिन्छ, हुन्छ तर त्यसो गर्दै गर्दा आफ्नो पहिचान गुमाउनु कति बुद्धिमानी होला ? भन्ने प्रश्न गर्दै हामीले आफ्नोपनमा गर्व गर्ने जीवनशैली अपनाउन आवश्यक छ । तर राज्यका सञ्चालकहरूको दृष्टिकोण समेत आजका दिनसम्म सकारात्मक हुन सकेको छैन उहाँले भन्नुभयो ।
अध्यक्ष पहाडीले यो कार्यक्रममा भएको उपस्थितिले पनि स्थानीय तहका प्रमुखहरू तथा प्रशासन एवम् विकासका कार्यालयका प्रमुखहरू लोकसंस्कृति प्रति के कति सचेत वा चिन्तित छन् ? भन्ने प्रश्न उब्जाएको छ र यो लोकसंस्कृतिका अभियानकर्ताहरूका लागि चिन्ता र चुनौतिको विषय बनेको छ भन्नुभयो । उहाँले प्रतिष्ठानले स्थापनाकालदेखि नै आफूहरूले स्थानीय सरकारको कम्तिमा एक प्रतिशत बजेट लोककला संस्कृति एवम् साहित्यको उत्थानका लागि छुट्याउने नीतिगत व्यवस्था हुनु पर्ने माग गरिरहेको र त्यो आज फेरि दोहोर्याउन चाहन्छु भन्नुभयो ।
उहाँले आजको व्यस्त जमानामा कार्यव्यस्तता कस्को छैन ? हुँदैन ? तर महत्व केलाई दिने ? भन्ने मुल प्रश्न हो र त्यो आ– आफ्नो चिन्तन र कार्यशैलीमा निर्भर गर्दछ अध्यक्ष पहाडीले उल्लेख गर्नुभयो ।
सो अवसरमा प्रतिष्ठानले विगतको चार वर्षदेखि छात्रवृत्ती प्रदान गर्दै आएको संस्कृत सदन मावि दुराडाँडाकी सजिना भुजेल र शिशुविद्याश्रम माविका रोशन कुमालले पनि आ–आफ्नो सांगीतिक प्रस्तुति राखेका थिए ।
उपाध्यक्ष सीता दुराले स्वागत मन्तव्य सहित प्रतिष्ठानका वार्षिक कार्य प्रगति प्रस्तुत गर्नु भएको कार्यक्रमको सञ्चालन महासचिव अकल विरही गुरुङले गर्नु भएको थियो ।
सो अवसरमा सञ्चालन हुने ठाडोभाका प्रतियोगितामा १४ टिमले भाग लिएको बताउँदै टाइसिट सार्वजनिक गरेको छ । त्यस्तै, बाघचाल प्रतियोगिताका लागि भोलि विहान १० बजेसम्मका लागि समय थप गरिएको आयोजकको भनाइ छ ।
प्रकाशित मिति २०८० माघ २५, बिहीबार २३:२७ गते