बुढ्यौली उमेरमा ठाडोभाकाको क्रेज : प्रतियोगितामा ७० वर्ष नाघेका बयोबृद्धहरू तीन टिमका टोली नेता

बुढ्यौली उमेरमा ठाडोभाकाको क्रेज : प्रतियोगितामा ७० वर्ष नाघेका बयोबृद्धहरू तीन टिमका टोली नेता

अन्तरङ्ग न्युज

@antaranganews

२०८० माघ २६ गते शुक्रबार ११:४८

लोपोन्मुख ठाडोभाकाको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित ठाडोभाकाको पाँचौं शृंखलाको यो प्रतियोगिता ठाडोभाका लोककला प्रतिष्ठान नेपाल, लमजुङले आफ्नो आठौं स्थापना दिवसका अवसरमा सञ्चालन गरेको हो ।

उहाँहरू सबै दूधपोखरी गाउँपालिका निवासी

बेसीशहर– बुढ्यौली उमेरमा ठाडोभाकाको क्रेज देखिएको छ । यहाँ सञ्चालन गरिएको ठाडोभाका पाँचौ खुला प्रतियोगितामा ७० वर्ष नाघेका बयोबृद्धहरू तीन टिमका टोली नेता सहभागी हुनुभएसँगै त्यस्तो पुष्टि भएको हो । सो प्रतियोगिता ठाडोभाका लोककला प्रतिष्ठान नेपालले आयोजना गरेको हो । हिजो उदघाटन गरिएको सो प्रतियोगिता माघ २६ गतेबाट थालिएको हो ।
जम्मा १४ टिमले भाग लिएको सो प्रतियोगिताको तीन टिममा ७० वर्ष नाघेका बयोबृद्धले भाग लिनु भएको छ । उहाँहरू सबै दूधपोखरी गाउँपालिका– ४ का हुनुहुन्छ भएको आयोजक संस्थाका सहकोषाध्यक्ष भुन्टीमाया तामाङले बताउनु भयो । उहाँका अनुसार प्रतियोगितामा भाग लिन आउनेहरूमा ७४ वर्षीय नरबहादुर गुरुङ, ७३ वर्षीया कुमारी गुरुङ, ७१ वर्षीया देउमाया गुरुङ हुनुहुन्छ । उहाँले भन्नुभयो, ‘७४ वर्षीया धनमाया गुरुङ सहयोगीको रुपमा गीत छोप्न आउनु भएको छ ।’
प्रतिष्ठानले ७० वर्ष माथिका अग्रज गायक थायिकालाई सम्मान गर्ने नीति लिएको छ । सो अनुसार भोलि समापन कार्यक्रममा उहाँहरू चारै जनालाई सम्मानको तयारी रहेको प्रतिष्ठानका अध्यक्ष पहाडीले जानकारी दिनु भएको छ ।
प्रतियोगितामा भाग लिनका लागि गोरखा र कास्कीबाट पनि सहभागी टिम २÷२ वटा आउनु भएको छ । तीमध्ये दुवै जिल्लाको एक एक टिम सेमीफाइनलमा पुुगेको निर्णायक समितिका सदस्य एवम् आयोजक ठाडोभाका लोककला प्रतिष्ठान नेपालका उपाध्यक्ष सीता दुराले बताउनु भएको छ । उहाँका अनुसार सेमीफाइनलमा पुग्ने टिममा धनबहादुर गुरुङको टिम बाह्रपाक गाउँपालिका– २, सुलीकोटको टिम रहेको छ भने कास्कीको टिम रोधिं टेलिभिजन पोखराको हो । उक्त टिमको नेतृत्व सो टेलिभिजनका कार्यक्रम प्रस्तोता टस गुरुङले गरिरहनु भएको छ ।
अन्य टिममा सुन्दरबजार नगरपालिकाकाको दुरा सेवा समाज सुन्दरबजार इकाईको टिम भएको निर्णायक समितिका सहयोगी सदस्य सावित्री शाहीले बताउनु भयो । उहाँका अनुसार सो टिमको नेतृत्व सुवे. आशबहादुर दुरा र राजबहादुर दुराले गरिरहनु भएको छ । उहाँहरूको सहयोगीमा क्रमशः एकमाया दुरा र लिला दुरा हुनुहुन्छ । यसैगरी, गोर्खाको टिमको महिला जोडीमा सन्तमाया तामाङ र मीना गुरुङ हुनुहुन्छ ।
मीना गुरुङ आयोजक प्रतिष्ठानद्वारा सञ्चालित प्रशिक्षणको विशुद्ध उत्पादन भएको जानकारीमा आएको छ ।
लोपोन्मुख ठाडोभाकाको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित ठाडोभाकाको पाँचौं शृंखलाको यो प्रतियोगिता ठाडोभाका लोककला प्रतिष्ठान नेपाल, लमजुङले आफ्नो आठौं स्थापना दिवसका अवसरमा सञ्चालन गरेको हो ।
सो प्रतियोगितामा पहिलो हुने टिमलाई ४० हजार, दोस्रो हुने टिमलाई २५ हजार रुपैयाँ, तेस्रो पुरस्कार १५ हजार रुपैयाँ र सान्त्वना १० हजार रुपैयाँ रहेको छ । प्रतियोगितामा सहभागी हुन आएका टिमलाई गीत गाएपछि तीन हजार रुपैयाँका दरले बाटो खर्च दिने गरिएको प्रतिष्ठानका कोषाध्यक्ष सीता गुरुङले बताउनु भयो ।
उक्त प्रतियोगिता भोलि साँझ पाँच बजे संविधानसभाका सदस्य एवम् आयोजक प्रतिष्ठानका सल्लाहकार जमिन्द्रमान घलेको प्रमुख आतिथ्यतामा हुने भएको छ । फाइनल प्रतियोगिता ३ बजे सञ्चालन कार्यक्रम रहेको प्रतिष्ठानका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’ले बताउनु भयो ।

प्रकाशित मिति २०८० माघ २६, शुक्रबार २३:४८ गते
हजुरको प्रतिक्रिया