बेसीशहर– संविधान सभाका सदस्य जमिन्द्रमान घलेले राष्ट्रिय पहिचान मेटिदै गरेको बेलामा स्थापित ठाडोभाका लोककला प्रतिष्ठान नेपालले सही दिशा ग्रहण गरेको बताउनु भएको छ । उहाँले प्रतिष्ठानको आठौं स्थापना दिवसका अवसरमा आयोजित तीन दिने ठाडोभाका पाँचौं तथा बाघचालको चौथो खुला प्रतियोगिताका विजेतालाई पुरस्कार प्रमाणपत्र वितरण गर्दै माघ २७ गते त्यस्तो बताउनु भएको हो ।
उहाँले मैलिक पहिचान बोकेको ठाडोभाका नयाँ पुस्तामा हस्तान्तरणको प्रयास भइरहेको छ, संस्था सञ्चालन गर्न सजिलो छैन । तर पनि यसका अध्यक्षको क्रियाशीलताले यो संस्था जिवन्त हुन सकेको छ, यसको स्थापनाकालदेखि म पनि सँगै जोडिएको छु उहाँले भन्नुभयो । उहाँले आफ्नै देशमा बसेर दुःख, संघर्ष गर्ने परिपाटी हराउँदै गएको छ । हामी युरोप अमेरिका जाने हैन, आफ्नै देशलाई ती देशजस्तो बनाउन लाग्नु पर्छ उहाँले उल्लेख गर्नुभयो । उहाँले ठाडोभाका जस्ता मौलिक सम्पदाको विकासमा स्थानीय सरकारले समेत ध्यानदिनु पर्नेमा जोड दिदै यो प्रतिष्ठानलाई बचाउने र अघि बढाउने दायित्व हाम्रो पनि हो, हामी सबै लागौं उहाँले भन्नुभयो ।
यस्ता कार्यक्रमले मौलिकता बचाउनुका साथै मरोरञ्जन दिने र नयाँ प्रतीभाको विकास गराउने पनि हुन्छ उहाँले भन्नुभयो । यसैगरी बाघचाल पनि हाम्रो पुरानो खेल हो, यो खेल पनि हराउँदै गएको छ, बाघचालको समेत प्रतियोगिता गरेर जुन सराहनीय काम भएको छ, यो अभियानमा सबै जुटौं भन्ने आह्वान गर्नु भयो ।
क्ब्होलासोंथार गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङले ठाडोभाका पृथक गीत हो, यो अन्य गीत जस्तो सजिलै गाउन सकिदैन, गायन मात्र हैन, नाच र बाध्यवादन समेत फरक छ र यसको आफ्नैपन छ, त्यसैले पनि यसको महत्व छ भन्नुभयो । हामीले बाहिर जिल्लामा गएर लमजुङको हुँ भन्ने बित्तिकै ठाडोभाकाको नाम जोडिन्छ, यस्तो पहिचान बोकेको गीत हो यो, त्यसैले पनि यसको महत्व छ र यसलाई मर्न दिन हुँदैन उहाँले भन्नुभयो । यसको संरक्षण, प्रवद्र्धन र विकासमा हामी सबै एक भएर लागौं भन्न चाहन्छु उहाँले उल्लेख गर्नुभयो । यस गीतको पहिचान जोगाउनका लागि यो संस्थालाई बचाउन र बलियो बनाउनु पर्छ भन्दै ठाडोभाका लमजुङको मात्र नभई नेपालकै पहिचान हो भन्नुभयो । त्यसैले यस गीतको प्रतियोगिताका साथमा प्रशिक्षण पनि जरुरी छ उहाँले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले आफ्नो भाषा, भेषभुषा, कला संस्कृति जोगाउने काम गर्व गर्न लायकको छ भन्नुभयो । आफ्नो माटो, पानी र धर्तीमा हुर्केको गीत, भेषभुषा, संंस्कृतिको जगेर्नामा लाग्नु भएकोमा सबै बधाईका पात्र हुनुहुन्छ उहाँले भन्नुभयो । उहाँले आफू पश्चिममा देउडा संस्कृतिमा हुर्केको स्मरण गर्नु हुँदै यो गीत पहिलो पटक सुन्ने मौका पाएँ, दोहोरी टाइपको हुने रहेछ खुशी लाग्यो भन्नुभयो । हामीलाई मौलिक लोक कला संस्कृतिले नै संसारमा चिनाउने काम गरेको छ, यसको थप गतिविधि हुँदै जाओस् र थप निखारता आओस् प्रजिअ अधिकारीले कामना गर्नुभयो ।All Posts
पाँच व्यक्तित्व सम्मानित :
उक्त अवसरमा प्रतिष्ठानद्वारा ७० वर्ष नाघेका अग्रज स्रष्टालाई सम्मान गर्ने घोषित नीति अनुसार पाँच जना सम्मानित हुनुभएको छ । सम्मानित हुनेमा ७१ वर्षदेखि ८४ वर्ष उमेरका हुनुहुन्छ । उहाँहरू सबै दूधपोखरी गाउँपालिका– ४ निवासी हुनुभएको प्रतिष्ठानका सहकोषाध्यक्ष भुन्टीमाया तामाङले बताउनु भयो । उहाँका अनुसार सम्मानित हुनुहुनेमा ८४ वर्षीया कौशीला घले, नरबहादुर गुरुङद्वय दाह्रेढुंगा र नामार्खु, वनमाया गुरूङ, कुमारी गुरुङ हुनुहुन्छ । उहाँले भन्नुभयो, ‘मैले गरेको सिफारिसका आधारमा उहाँहरू सम्मानित हुनुभएको हो ।
ठाडोभाकाको खुला प्रतियोगितामा सुन्दरबजार पहिलो बाह्रपाक दोस्रो :
प्रतिष्ठानको स्थापना दिवसका अवसरमा आयोजना गरिएको ठाडोभाकाको पांँचौं शृंखलामा लमजुङको दुरा सेवा समाज सुन्दरबजारको ए टिम पहिलो भयो भने गोरखाको बाह्रपाक गाउँपालिका– २, सुलिकोटको टिम दोस्रा भयो । त्यसैगरी, रोधि टेलिभिजन पोखराको टिम तेस्रो भयो भने दुरा सेवा समाज सुन्दरबजारको बि टिमले सान्त्वना स्थान हासिल ग¥यो । ती टोलीको नेतृत्व क्रमशः सुवे. आशबहादुर दुरा र एकमाया दुरा, धनबहादुर गुरुङ र सन्तमाया तामाङ, टसबहादुर गुरुङ र मीना गुरुङ तथा राजबहादुर दुरा र लीला दुराले गर्नु भएको निर्णायक समितिका सदस्य एवम् प्रतिष्ठानका उपाध्यक्ष सीता दुराले बताउनु भयो । उहाँका अनुसार प्रतियोगितामा पहिलो हुने टिमलाई ४० हजार रुपैयाँ र प्रमाणपत्र, दोस्रो हुने टिमलाई २५ हजार र प्रमाणपत्र, तेस्रो हुने टिमलाई १५ हजार रुपैयाँ र प्रमाणपत्र तथा सान्त्वना स्थान हासिल गर्ने टिमलाई १० हजार रुपैयाँ र प्रमाणपत्र वितरण गरिएको छ ।
ठाडोभाकाको प्रतियोगितामा एक टिममा ३÷३ जना महिला र पुरुषले भाग लिने सर्त रहेको हुन्छ । उक्त प्रतियोतिमा लमजुङका अतिरिक्त कास्की र गोरखाका समेत जम्मा १४ टिमले भाग लिएको प्रतिष्ठानका उपाध्यक्ष शोभा थापाले बताउनु भयो । उहाँका अनुसार उक्त प्रतियोगितामा पहिलो हुने टिमलाई अर्को वर्षदेखि भाग लिन नदिने प्रतिष्ठानको नीति रहेको छ ।
ठाडोभाकाको निर्णायक समितिको संयोजकको भूमिकामा प्रतिष्ठानका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’ हुनुहुन्थ्यो । नतिजा घोषणा गर्ने बेलामा निर्णायक हुनुभनेको मलामी घटाउने काम हो तर पनि आफूहरूले प्रतियोगीहरूलाई सकेसम्म न्याय गर्ने प्रयत्न गरेको उल्लेख गर्नुभएको थियो । निर्णायक समितिमा जुरीको भूमिकामा सल्लाहकार रमेशचन्द्र अधिकारी रहनु भएको थियो ।
बाघचालमा सुन्दरबजारका राजु पहिलो :
सोही अवसरमा सञ्चालन गरिएको बाघचालको खुल्ला प्रतियोगितामा सुन्दरबजार नगरपालिका– ६ खत्रीठाँटीका राजु न्यौपाने पहिलो हुनुभएको छ । यसैगरी, बेसीशहर नगरपालिका– ८ भीमसेन स्थान टोल निवासी रेशमलाल श्रेष्ठ दोस्रो हुनुभयो भने दोर्दी गाउँपालिका– ६ छोटेखोलाका मीनबहादुर गुरुङले तेस्रो स्थान हासिल गर्नु भएको निर्णायक समितिका संयोजक विराट न्यौपानेले बताउनु भयो ।
सो प्रतियोगितामा राइनास नगरपालिका– २ का सुनिल घिमिरे र बेसीशहर नगरपालिका– ७ को बैंकचोकका दिवाकर बरालले सान्त्वना स्थान हासिल गर्नु भएको प्रतिष्ठानका कार्यकारी सदस्य कृष्ण केसी(खत्रीठाँटी)ले बताउनु भएको छ । ‘उनीहरूलाई क्रमशः १० हजार सात हजार, चार हजार र २५ सयका दरले दुई जनालाई सान्त्वना पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो । एक जनाको एक टिम हुने उक्त प्रतियोगितामा १६ जनाले भाग लिएको कार्यकारी सदस्य रमाराज खनियाले जानकारी दिनुभयो ।
आयोजक प्रतिष्ठानका अध्यक्ष पहाडीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव अकल विरही गुरुङले गर्नु भएको थियो ।
प्रकाशित मिति २०८० माघ २७, शनिबार २२:५५ गते